Comments Add Comment

म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता

उद्धारमा जान हेलिकप्टर मगाइयो

पुल बगाएको रघुगंगा खोला ।

२६ असार, पोखरा। लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् ।

जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए ।

रघुगंगा गाउँपालिका- ६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’ उनले भने ।

उद्धार टोली पुर्‍याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको छ । ‘पहिरोमा बेपत्ताहरुको खोजी र उद्धारमा समस्या भएकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर आउँदैछ,’ उनले भने, ‘हेलिकप्टरमार्फत र पैदल पनि उद्धार टोली पुगेपछि घटनाको यथार्थ आउला ।’

रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment