Comments Add Comment

लकडाउनमा ललितकला : अनलाइन प्रदर्शनीदेखि भर्चुअल बहससम्म

२७ असार, काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरी एक महिनाभन्दा लामो समय खाली भएको इतिहास थिएन । तर, गत चैतयता बन्दाबन्दीको कारण लगातार चार महिनादेखि कला प्रदर्शनी रोकिएको छ । अझै कति समय ग्यालरी सुनसान रहने हो, टुंगो छैन ।

अहिले सिद्धार्थ आर्ट ग्यालरी, तारागाउँ म्युजियम, पार्क आर्ट ग्यालरी, क्लासिक आर्ट, मिथिला येन आर्ट, एम क्युब लगायत सबै ग्यालरी सुनसान छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका निम्ति गरिएको बन्दाबन्दीले ललितकलालाई सीधा असर गरेको छ ।

कलाकारहरुको पूर्वनिर्धारित कार्यक्रम रद्द भएका छन् । चित्र, मूर्ति र इन्स्टलेसन आर्टको बिक्री–वितरणमा पूर्णबिराम लागेको छ । नियमित भइरहने कार्यशालाहरू अनिश्चित बन्न पुगेका छन् ।

तर, घरमै थुनिनुपर्ने यो अवस्थालाई कलाकारहरुले सिर्जनाका लागि विशेष माहोल बनाएका छन् । गतसाता अनलाइनखबरले सम्पर्क गरेका अधिकांश कलाकारले सामान्य बेलाभन्दा कोरोनाकालमा बढी चित्र बनाएको अनुभव सुनाए । जस्तो, एरिना ताम्राकार र आशा डंगोलले बन्दाबन्दी पछिको प्रत्येक दिन नयाँ चित्र बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरे । लगातार ८० दिन नयाँ चित्र बनाउँदा विशेष अनुभव मिलेको एरिना बताउँछिन् ।

उनका अनुसार, कोरोनाको कहरमा गरिएको सिर्जना त्यसअघिको सामान्य अवस्थाकोभन्दा फरक छ । ‘विश्वलाई व्याधीले आक्रान्त पारिरहेको बेलाका अधिकांश चित्रमा यसैको प्रतिबिम्ब पाइन्छ’, एरिना भन्छिन्, ‘म नै पहिला महिला र शक्तिलाई केन्द्रमा राखेर चित्र बनाउँथें, अहिले विश्वभरका मानिसलाई परेको संकटलाई बिम्ब बनाएँ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपति रहिसकेकी रागिनी उपाध्याय लकडाउनमा वाह्य व्यस्तता नहुँदा कलाकारहरुलाई सृजनामा एकाग्र हुने विशेष समय मिलेको अनुभव सुनाउँछिन् । देश–विदेशको सेमिनार, कार्यशाला, प्रशिक्षण, उदघाटन आदिमा व्यस्त रहने उनी आफैं पनि अहिले सिर्जनामा दैनिक पाँच घन्टा समय दिइरहेकी छन् ।

‘घर बाहिर निस्कन र साथीसंगी बोलाउन नमिल्ने भएपछि सबैखाले सामूहिक गतिविधि रोकियो’, उनी भन्छिन्, ‘अनि चिन्तन गर्न, सेरोफेरो नियाल्न र सृजनामा तल्लिन हुन पाइयो ।’

रागिनीले सुरुमा ‘कोरोना आँसु’ र त्यसपछि ‘गड एन्ड गडेसेस अफ अर्थ’ शीर्षकमा कूची चलाइन् । उनले ‘कोरोना आँसु’ शीर्षकको क्यानभासमा विभिन्न जनावरलाई पनि उतारिन् ।

त्यहीबीचमा संसद अधिवेशन सुरु भयो, जहाँ सांसदहरुले मास्क लगाएका थिए । ‘त्यो देख्दा मलाई चित्रका जनावरहरूलाई पनि सांसद बनाइदिउँ कि जस्तो लाग्यो’, उनी हाँस्छिन् ।

ललितकला प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति केके कर्माचार्य पनि बन्दाबन्दीमा प्रशासनिक कामको बोझ हल्का भएर चित्रकलामा मग्न हुन पाए । यसबीचका चित्रहरुमध्ये केहीलाई उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । आफूलाई विशेष सन्तुष्टि मिलेको सिर्जना चाहिँ सार्वजनिक गरिहालुँ भन्ने लागेको उनले बताए ।

कलाकार रविन्द्र श्रेष्ठले बन्दाबन्दीलाई विदेशी कलाकारसँग संयुक्त चित्र बनाउने काममा समेत प्रयोग गरे । ‘थिम’मा चित्र बनाउन रुचाउने उनी प्रयोगको लागि बन्दाबन्दीको समय गजब भएको बताउँछन् ।

उनले चैत ११ यताका चित्रहरु गत शनिबार पाटनमा आयोजित सृजनात्मक विरोध कार्यक्रममा प्रस्तुत पनि गरे । रागिनी उपाध्याय जस्तै रविन्द्र पनि कोरोना कालका चित्रहरुमा विश्वभरका मानवले झेलेको मनोविज्ञान प्रतिविम्बित भएको बताउँछन् ।

चित्रकारहरुले बन्दाबन्दीको समयलाई कतिसम्म उपयोग भनेर देखाउने एउटा उदाहरण सामाजिक सञ्जालमा चलेको ‘आर्ट च्यालेन्ज’ हो । ‘साथीहरूले फेसबुकमा हरेक दिन केही न केही विषयमा चित्र बनाउने च्यालेन्ज गरे’, कलाकार एवं कार्टुनिस्ट रविन्द्र मानन्धर भन्छन्, ‘यसले बन्दाबन्दीमा लोसे भएर बस्न दिएन ।’

रविन्द्र आफूले बनाएका पेन्टिङ र व्यंग्यचित्र सामाजिक सञ्जालमा राख्छन् । त्यहाँ कला पारखीहरुबाट आउने प्रतिक्रियाले उनलाई नयाँ सृजनाको लागि उत्प्रेरित गर्छ । बन्दाबन्दीले यो प्रकृयालाई सघाएको उनको अनुभव छ ।

रविन्द्रका सिनियर, समकालीन र जुनियर काटुर्निस्टहरुको सिर्जना पनि बन्दाबन्दीमा भाइरल भइरहेका छन् । कोरोनाकालका यी कार्टुनहरुले आम मानिसका बानीव्यहोरादेखि मुलुकको राजनीतिक नेतृत्व तहको अकर्मण्यता, अक्षमतासम्मलाई व्यंग्य गरिरहेका छन् ।

बन्दाबन्दीमा घरभित्रै थुनिएर चित्र बनाउने मात्र होइन, अनलाइन प्रदर्शनीहरु समेत भए । ‘ई–आर्टस् ग्यालरी नेपाल’ले चैत तेस्रो साता नै कोरोना महामारी र लकडाउनको विषयमा तीन साता अनलाइन प्रदर्शनी गर्यो ।

ग्यालरीका सह–संस्थापक आशा डंगोल यसबाट नेपाली चित्रकलालाई विश्वभरका कला पारखीसामु पुर्याउन र ‘डिजिटल अभिलेख’ राख्न मद्दत पुगेको बताउँछिन् ।

त्यस्तै, बन्दाबन्दीको समयमा नयाँ चित्र सिर्जना र ‘भर्चुअल’ बहसमा  व्यस्त रहेका पूजा गुरुङ, सुधीर कर्ण, विभूषण बस्नेत, मधुमाला मण्डल लगायत तरुण पुस्ताका चित्रकारहरु यसकै बलमा आउँदो मंसिरमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने तालमेल मिलाउँदैछन् । उनीहरु ‘काठमाडौं ट्रिएना’ नामक संस्थामा आवद्ध छन् ।

कोरोना भाइरसविरुद्धको बन्दाबन्दीको समयलाई नेपाली ललितकला क्षेत्रले विशेष रुपमा उपयोग गरेको अर्को उदाहरण ‘भर्चुअल साउन्ड’ शीर्षकमा जेठ पहिलो साता भएको प्रदर्शनी हो । अन्तर्राष्ट्रिय जलरंग समाज, नेपालका अध्यक्ष एनबी गुरुङका अनुसार उक्त प्रदर्शनीमा देशभरबाट छानिएका ६२ वटा पेन्टिङ राखिएका थिए ।

जलरंग समाजले यही २०–३० जुलाईमा युट्युबमार्फत अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागेको जानकारी गुरुङले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सडक हो कि खोला ?

Advertisment