Comments Add Comment

समालोचनाका लौह व्यक्तित्व कृष्णचन्द्र सिंह प्रधान

‘म, जसलाई लेखक भन्छन्, एउटा साहित्यकार हुँ र यही रूपमा समाजमा चिनिन्छु । साँच्ची भनूँ भने म लेखक भएर जन्मेको थिइनँ । त्यस्तै लेखक बन्न जन्मेको पनि थिइनँ । नियतिले यस्तै बनाइदियो, म बनिदिएको सम्म हुँ । अब त यसलाई व्यक्तिको अगोचर अहंद्वारा निर्मित व्यक्तित्वको प्रस्फुटन भनेर चित्त बुझाइरहेछु । सुरुमा विवशताभित्रको रोजाइसित सम्बन्धित थिएँ र त्यसको सम्भाव्यता सहज थियो होला र अनुकूल पनि । मैले यसलाई आफ्नो अस्तित्वको खोजीमा त्यसतिरको झिनो, मलिन र मधुरो चेतनाद्वारा विकल्पमा अंगिकार गरेको बाटो भन्ने गरेको छु ।’

यो भनाइ लौह समालोचकको छवि र चिनारी सहितका निबन्धकार कृष्णचन्द्र सिंह प्रधान (१९८२ साउन–२०६७ असार)को हो । उनले ‘प्रतिकूलताको सृष्टि म ः मै मेरो सर्जक’ निवन्धमा यो विचार व्यक्त गरेका हुन् ।

शुरुमा त उनी कवि थिए । कविताको पुस्तक पनि प्रकाशित भएको हो । तर समालोचक व्यक्तित्वले कवि व्यक्तित्वलाई छपक्कै छोपिदियो । निवन्ध लेखनको उचाइ टड्कारो भए पनि समालोचनाले नै छोपिरह्यो । तर उत्तराद्र्धको कालखण्डमा समालोचना अलि कम गरेर शक्तिशाली निवन्धहरुको सिर्जनाले उनलाई अग्ला निबन्धकार बनाइदियो ।

कृष्णचन्द्र सिंह प्रधान कन्या स्कूलका शिक्षक थिए । त्यसै स्कूलको साहित्यिक मुखपत्रको सम्पादक पनि । उनले साझेदारीमा पत्रिका पसल पनि शुरु गरे र पछि त्यसबाट हात झिके । आर्थिक लाभको हिसाबले त्यो व्यवसायबाट हात झिक्नु उनको सबैभन्दा ठूलो ‘गलत निर्णय’ सावित भयो । बांगेमुढामा शुरु भएको त्यो सन्देश गृह नेपालकै सबैभन्दा ठूलो, चलायमान र नाफावान व्यवसाय भयो । उनले हात झिके । तर उनको खास गुनासो थिएन र गुनासोको अर्थ पनि थिएन ।

शिक्षणपछि उनी एकेडेमीमा पुगे र एकेडेमीबाट निबृत्त भएपछि आजिवन जस्तै साझा प्रकाशनको महाप्रबन्धक बने । मैले चिन्दा उनी साझा प्रकाशनको महाप्रबन्धक थिए । उनको खरो व्यक्तित्व थियो र साझा प्रकाशनको प्रशासन उनको महाप्रवन्धकीय अदवमा थियो । त्यो अदव उनी साझाबाट मुक्त भएपछि कहिल्यै देख्न पाइएन र पछि त साझा नै अस्तित्वको अन्तिम लडाइँमा रहेको अवस्थामा पुग्यो ।

कृष्णचन्द्र सिंह प्रधानले पनि चाँदनी शाहका रचनामाथि सकारात्मक समालोचना लेखे । त्यो ग्रन्थमा धेरै समालोचकहरुका समालोचना छन्, तर बदनाम डा. तारानाथ शर्मा भए

मैले चिन्दा कृष्णचन्द्र सिंह प्रधान साझा प्रकाशनको शक्तिशाली महाप्रवन्धक थिए । साझा प्रकाशनका अध्यक्ष थिए, क्षेत्र प्रताप अधिकारी । त्यसअघि थिए कमल दीक्षित । कमल दीक्षित साझा प्रकाशनबाट प्रकाशित पुस्तकहरुको प्रकाशकीय आफ्नो नाममा लेख्ने गर्थे । उनको नामको छाप नै बनाएर पुस्तकमा छाप्ने प्रचलन चलाएका थिए । उनले लेखेका ती सबै सम्पादकीयहरुको पछि कमल दीक्षितले पुस्तक नै निकाले ।

कमल दीक्षित साझा प्रकाशनको सेवाबाट अलग भएपछि प्रकाशकीय लेख्ने कामको जिम्मेवारी कृष्णचन्द्र सिंह प्रधानमा आयो । साझा प्रकाशनबाट प्रकाशित हुने त्यतिबेलाका प्रायः सबैजसो किताबमा उनले नै प्रकाशकीय लेखे । तर यो पनि एउटा झ्याउलो नै थियो महाप्रबन्धक जस्तो व्यस्त ब्यक्तिलाई । जस्तै भए पनि प्रकाशकीय लेख्नका लागि अलिकति भए पनि पढ्नैपर्यो ।

पछि प्रकाशन विभागसँग सम्बद्ध उपन्यासकार शंकर कोइरालालाई उनले लेख्न लगाउँथे । यो बेग्लै कुरा हो, शंकर कोईरालाले पनि सम्वन्धित लेखकलाई नै ‘किताबमा के छ, यसो टिपोट गरेर दिनुस् न’ भन्थे र त्यसैलाई मिलाएर औपचारिक प्रकाशकीय बनाउथे ।

समालोचक व्यक्तित्व भएकाले उनलाई समालोचना लेख्नका लागि आग्रहहरु आइरहन्थ्यो । पुस्तकको विमोचन र विचार गोष्ठीमा समालोचकीय धारणाका लागि आमन्त्रित हुन्थे । पुस्तकको भूमिकाको लागि लेखकहरुको लाम नै लाग्थ्यो । यी सबले आफ्नो लेखनमा बाधा पुगेको, स्वतस्फूर्त लेखन गर्न नपाएको उनको गुनासो हुन्थ्यो ।

म २०१५ सालमा जन्मिएको हुँ । म जन्मेको साल उनले ‘कवि ब्यथित र काव्य साधना’ कृतिका लागि मदन पुरस्कार पाएका थिए । उनको त्यो कृतिले मदन पुरस्कार पाए पनि समालोचनाको कीर्तिमानी पुस्तक भने ‘नेपाली उपन्यास र उपन्यासकार’ भयो । २०३७ सालमा यो पुस्तकले साझा पुरस्कार पाएको थियो ।

हुन त आफैं महाप्रवन्धक भएको संस्थाले प्रकाशित पुस्तकमा साझा पुरस्कार पाएको भन्दै गाइँगुइँ आलोचना पनि भएको हो । तर सञ्चालक समितिले गठन गरेको चयन समितिले निर्णय गर्ने हुनाले र कृष्णचन्द्र सिंह प्रधानको गर्विलो व्यक्तित्वको कारण ठूलो आलोचना भएन ।

साझा प्रकाशनको स्वर्णकाल कृष्णचन्द्र सिंह प्रधानको पालामै थियो । जनक शिक्षा सामाग्री केन्द्रको सबै पुस्तक बिक्रीको सर्वाधिकार साझाले पाएको हुँदा साझा प्रकाशनको आर्थिक मेरुदण्ड दरो बनाउँथ्यो जनक शिक्षा सामाग्री केन्द्रको पाठ्यपुस्तक बिक्रीको कमिसनले । २–३ महिनाको कमाइले साझालाई वर्षभरि थेग्दथ्यो । आर्थिक संकट नभएकाले त्यस बखत भएका पुस्तक बिक्री वितरणका क्रममा हुने अनियमितता पनि सतहमा देखा परेन । निश्चित संख्यामा साहित्यिक पुस्तक प्रकाशन गरेर, हरेक २ वर्षमा साधारण सभा गरेर साझा प्रकाशन आरामले चलिरहेको थियो, कृष्णचन्द्र सिंह प्रधानको महाप्रवन्धकत्वले चलाइरहेको थियो ।

नरेन्द्रराज प्रसाईंले ‘चाँदनी शाह : आफ्नै रचना आफ्नै परिवेश’ कृति सम्पादन गरे । चाँदनी शाहका तत् समयसम्म उपलब्ध रचनाहरुको संकलन तथा ती रचनामाथि नेपालका समालोचकहरुको समालोचकीय रचनाहरुको ग्रन्थ थियो त्यो । कृष्णचन्द्र सिंह प्रधानले पनि चाँदनी शाहका रचनामाथि सकारात्मक समालोचना लेखे । त्यो ग्रन्थमा धेरै समालोचकहरुका समालोचना छन्, तर बदनाम डा. तारानाथ शर्मा भए । तर कृष्णचन्द्र सिंह प्रधानलाई कसैले औंलो ठड्याउने हिम्मत गरेन । जसरी महाकवि देवकोटाले चन्द्र शम्शेरको स्तुति बहुभाषामा कविता लेखेर प्रकाशित गरे पनि चाकडीवाजमा गनिएनन्, कृष्णचन्द्र सिंह प्रधान पनि चाकडीबाजमा गनिएनन् । यो उनको व्यक्तित्वको कमाल थियो ।

कृष्णचन्द्र सिंह प्रधानमा सरलता थियो । हम्मेसी बोल्न र संगत गर्न हिच्किचाउनु पर्ने भए पनि, सहज ढंगले ब्यवहार गर्न अप्ठेरो थिएन । २०४१ सालमा मैले प्रस्ताव गरेर म आफैं संस्थापक सदस्य भएको मकवानपुर साहित्य परिषदले आयोजना गरेको ‘बृहत् साहित्य सम्मेलनमा काठमाडौंबाट जाने साहित्यिक टोलीका नेता थिए कवि तुलसी दिवस । उनले मेरो कानमा खुसुक्क भनेका थिए, ‘गोविन्द, उर्वसी त काठमाडौंमा खानु पर्छ है !’

त्यतिबेला वीरगञ्ज चिनी कारखानाले उत्पादन गरेको ‘उर्वसी’ नामक मदिरा बजारमा चलेको थियो । मैले केही बोतल काठमाडौं लिएर गएको थिएँ । म त्यतिबेला कुलेश्वरको घनश्याम कँडेलको छिँडीमा डेरा गरी बस्थें । मैले तुलसी दिवसले भनेको पुर्याउने भएँ । निम्तालुहरुमा तुलसी दिवस त भै नै हाले । अरुचाहिँ हेम हमाल, नगेन्द्रराज शर्मा, मोहनराज शर्मा, घनश्याम कँडेलसहित कृष्णचन्द्र सिंह प्रधान पनि थिए । उनी पिउँदै गएपछि कोठै थर्कने गरी हाँस्थे । उनी त्यसरी मेरो डेरामा समेत आतिथ्यताको लागि आएपछि उनीप्रति सम्मानभाव बढेको थियो ।

उनको ताहाचलको आफ्नै निवासमा भव्य रात्री भोजकासाथ औपचारिक कार्यक्रम आयोजना गरी मनाइएको थियो । नेपालका साहित्यिक क्षेत्रका सबैजसो प्रमुख व्यक्तित्वहरु सो कार्यक्रममा सामेल थिए । त्यो कार्यक्रम भइरहँदा उनले भनेको एउटा कुरा मेरो मनमा झुलुक–झुलुक आइरहेको थियो । उनको वंशमै धेरै बाँच्ने उनी थिए । त्यसैले उनलाई मृत्यु भयले यदाकदा झस्काउने गर्छ भन्दथे । तर उनको स्वास्थ्य ठिकठाकै देखिन्थ्यो ।

साझा प्रकाशनबाट निवृत्त भएपछि केदारमान ब्यथित, कृष्णभक्त श्रेष्ठ लगायतले अगुवाइ गरेको साहित्यकार संसदको समूहमा कृष्णचन्द्र सिंह प्रधान पनि संलग्न भए । २०४६ सालको जनआन्दोलन सफल भएपछि माधव घिमिरेको उप–कुलपतित्वमा रहेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका नयराज पन्त बाहेक सबैले राजीनामा गरिसकेपछि अन्तरिम सरकारलाई नयाँ प्रज्ञा परिषद गठनका लागि दबाव परेको थियो र साहित्यकार संसदले पनि त्यसमा दबाव दिने भूमिका निभाएको थियो । अन्ततः ईश्वर बरालको उप–कुलपतित्वमा नयाँ प्राज्ञ परिषद गठन भयो । कृष्णचन्द्र सिंह प्रधान पनि सदस्यका रुपमा नियुक्त भए । उनको यही कार्यकालमा गद्यप्रधान ‘समकालीन साहित्य’ प्रकाशन प्रारम्भ भयो । उनी प्रधान सम्पादक थिए । तर यो पत्रिकाको पर्दापछिका डिजाइनर भने साहित्यकार अविनाश श्रेष्ठ थिए, जसले कार्यकारी सम्पादकको रुपमा काम गरेर साहित्यिक पत्रिका प्रकाशनको इतिहासमा यौटा गर्विलो ऐतिहासिक कालखण्डको निर्माण गरे ।

कृष्णचन्द्र सिंह प्रधान साहित्यिक गतिविधिमा वक्ताको रुपमा, समालोचकको रुपमा रुचाइने व्यक्तित्व भए पनि साहित्यिक संघ संगठनमा उनको संलग्नता उतिसारो थिएन । कविताराम श्रेष्ठले स्थापना गरेको अस्वीकार साहित्य गुठीको भने उनी अध्यक्ष थिए । उनी त्यस गुठीको स्थापनाकालदेखि नै संलग्न थिए ।

सन् २००८ को अस्वीकृत साहित्य पुरस्कार अमेरिकाका कवि वसन्त श्रेष्ठलाई दिने निर्णय भयो । यो प्रकृयामा मैले कवितारामलाई सक्दो सहयोग गर्ने अवसर पाएको थिएँ । उनीसँग म निरन्तर सम्पर्कमा थिएँ । उनले त्यस वर्षको पुरस्कार वितरण समारोह अमेरिकामै आयोजना गर्न चाहे र मेरो सहयोगको अपेक्षा गरे । मैले सहर्ष मानें । उनले सो समारोहमा कृष्णचन्द्र सिंह प्रधानलाई अमेरिका ल्याएर घुमाउन चाहे, त्यसमा पनि मैले सहयोग गर्ने भएँ । अस्वीकृत साहित्य पुरस्कार गुठीको अध्यक्षका रुपमा उनले गरेको योगदानका लागि उनी कृष्णचन्द्र सिंह प्रधानलाई अमेरिका घुमाएर कृतज्ञता ज्ञापन गर्न चाहन्थे ।

म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वाशिंटन डिसि, मेरिल्याण्ड र भर्जिनियाको डिसी मेट्रो च्याप्टरको अध्यक्ष थिएँ त्यतिवेला । कृष्णचन्द्र सिंह प्रधानलाई डिसी मेट्रो च्याप्टरले अभिनन्दन गर्ने निर्णय गर्यौं । तर नेपालदेखि अमेरिकासम्म उनलाई आउन एकजना तरुण पुस्ताका साहित्यकारको साथ भए सजिलो होला भनेर गोवद्र्धन पूजालाई पनि उनीसँगै सम्मान गर्ने निर्णय गर्यौं । अनि दुवै जनालाई अमेरिकामा अभिनन्दन र सम्मान ग्रहण गर्न निम्तो पठायौं । यो मेरोलागि पनि गौरवको विषय थियो ।

तर आवश्यक कागजात अर्थात् कृष्णचन्द्र सिंह प्रधानको व्यक्तित्व चिनाउने अभिलेखको अभावमा उनले भिसा पाएनन् । उनले नपाए पछि गोवद्र्धनले पनि पाउने कुरै थिएन । यो भिसा अस्वीकारले कृष्णचन्द्र सिंह दुःखी मात्र भएनन्, आक्रोशित पनि भए र त्यो आक्रोश एक लेख मार्फत सार्वजनिक पनि गरे । कृष्णचन्द्र सिंह प्रधानको अनुपस्थितिमा अमेरिकामा अस्वीकृत साहित्य पुरस्कार समर्पण समारोह सम्पन्न भयो । तर उनलाई गरिने भनेको अभिनन्दन र गोवद्र्धनलाई गरिने सम्मान भने थाती नै रह्यो ।

पछि डिसी मेट्रो च्याप्टरको निर्णयअनुसार काठमाडौंमै एक समारोह आयोजना गरेर त्यो अभिनन्दन र सम्मान अर्पण गरिने भयो । म काठमाडौं पुगें र मित्र श्रीओम श्रेष्ठ रोदन तथा अनेसास नेपाल च्याप्टरको सहयोगमा कार्यक्रम आयोजनाको तयारी भयो । तर कार्यक्रम हुने दिन अघोषित रुपमा काठमाडौं बन्द भयो । आंशिक सवारी साधन चलेका थिए । कार्यक्रम पूर्वनिर्धारित अनुसार नै आयोजना गर्ने कि स्थगित गर्ने हामी अलमलमा पर्यौं । अन्तमा कार्यक्रम आयोजना गर्ने नै भयौं । चोभारदेखि जगदीश घिमिरे आए । हात्तीगौंडाबाट वियोगी बुढाथोकी आए । त्यस कार्यक्रमका प्रमुख अतिथि कमल दीक्षित थिए । सानो तर स्तरीय कार्यक्रम भयो । कार्यक्रमपछिको सानो जलपानमा अनौपचारिक भलाकुसारीहरु भए ।

हामीले ३–४ जनासहित कृष्णचन्द्रलाई सायंकालीन खानपानको व्यवस्था गरेका थियौं । कोपुण्डोलमा कार्यक्रम आयोजना गरिएको थियो । पुल्चोकमा रहेको यौटा रेष्टुँरामा बसेर खानपान गर्यौं । अनि २ वटा मोटर साइकलमा उनलाई घर पुर्याउन ताहाचलतिर लाग्यौं । तर विष्णुमतीको पुलको मुख ताहाचलको मोडमा बन्दकर्ताहरुको यौटा उग्र जमात बसेका रहेछन् । हामीलाई तिनले घेरिहाले । उनीहरु आक्रमणको मुडमा देखिए । श्रीओमजीले भने, ‘तपाईंहरु कृष्णचन्द्र सिं प्रधानलाई चिन्नुहुन्छ ? उहाँ तपाईंहरुकै ठाउँको विद्वान । उहाँको सम्मान गरेर घर पुर्याउन आएको हामी !’

श्रीओमजीको कुरा सुनेपछि दुई–चार जना अगाडि आएर कृष्णचन्द्रलाई अभिवादन गरे । आक्रमणका लागि तयार उनीहरु स्वागत मुद्रामा प्रस्तुत भए । त्यसपछि त तिनीहरुले ३–४ वटा मोटरसाइकल ल्याएर हामीलाई स्कर्टिंङ गर्दै उनको निवाससम्म पुर्याए । विचित्रको रमाइलो घटना भएको थियो त्यस दिन ।

कृष्णचन्द्र सिंह प्रधानले ‘नफर्कने ती दिनहरु’ तथा ‘जिन्दगीका टिपोटहरु’ दुई भागमा आत्मकथा लेखे, तर अनौपचारिक रुपमा । परम्परागत आत्मकथा भन्दा पूरै भिन्न खालको । यी दुई कृतिमार्फत उनको जीवन भोगाइ, उनका दृष्टिकोणहरु र जीवन दर्शन बुझ्न सकिन्छ । त्यसो त उनका निबन्धहरुमा पनि आत्मकथ्यहरुले ठाउँ पाइरहेका हुन्छन् । संस्कृत शब्दहरुले सिंगारिएका उनका गद्य लेखन र अभिभाषणहरुमा उनको अलग्गै भाषिक र शैलीगत निजत्वलाई अनुभूत गर्न सक्दछन् पाठकहरुले ।

उनीसँग नजिकको सम्बन्ध भएर पनि म उनको समालोचनात्मक लेखहरुमा कहिल्यै अटाइनँ । ‘नेपाली उपन्यास र उपन्यासकार’ जस्तो वृहत् कृतिमा उनले मेरो नामसम्म उल्लेख गरेका छैनन् जब कि उत्खनन उपन्यासको भूमिका उनले नै लेखेका थिए, पाखण्ड पर्व उपन्यासको गाताको पछिल्लो पानामा पनि उनैले लेखेका हुन् । तर मैले कहिल्यै गुनासो गरिनँ ।

एकदिन मैले उनले लेखेका भूमिकाहरुको पुस्तक तयार गरौं भनेर प्रस्ताव गरें । उनले स्वीकृति दिए । तर म अमेरिका हिँडिहालें । उनलाई यो प्रस्ताव मन परेकाले उनले यसलाई अघि बढाउन डा. गोविन्दराज भट्टराईको सहयोग लिए । डा. भट्टराइको सम्पादनमा ‘आरम्भअघिका शब्दहरु’ २०६४ सालमा रत्न पुस्तक भण्डारबाट प्रकाशित भयो । तर दुःखद संयोग मान्नुपर्छ, त्यसमा मेरो उत्खनन उपन्यासको भूमिकाचाहिँ छुटेछ ।

पछि भेट्दा ‘खै कसरी छुटेछ, मैले फाइलमा त राखेजस्तो लाग्छ’ भनेका थिए र अर्को संस्करणमा थप्नुपर्छ भनेका थिए । तर यी सबले मेरो उनीप्रतिको सम्मानमा कहिल्यै अन्तर आएन । न मलाई कुनै गुनासो नै भयो । उनको समग्र व्यक्तित्व नै त्यस्तै थियो ।

उनी श्रीमतीलाई मायापूर्वक ‘कय’ भनेर सम्वोधन गर्थे । उनको श्रीमतीको मृत्युपछि उनको जीवनको एउटा पाटो नै खुस्किएको झैं भएको थियो । तर निवन्ध लेखन र अध्ययनमा उनको निरन्तरता थियो । अलिक थकित जस्ता भने देखिन्थे ।

उनको देहावसान पनि अचम्मसँगै भएको थियो । उनलाई छातीमा पीडा भएपछि ट्याक्सी मगाइएको थियो । उनी आफैंले लुगा लगाएर अस्पताल गएका थिए । तर त्यो यात्रा जीवनको अन्तिम अनन्त यात्रा सावित भयो, उनी साबुत घर फर्केनन् ।

(बृन्दावन, भारत)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment