
२८ असार, वीरगञ्ज । लागुऔषध मुद्धामा पक्राउ परेकालाई छुटाइदिन्छु भनेर रकम मोलमोलाइ गरेको आरोपमा प्रहरीले बाराका पत्रकार भैयाराम साहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका मुद्धा मिलाइदिने भन्दै अभियुक्तसँग पैसाको बार्गेनिङ गरेकोले साहलाई पक्राउ गरिएको जानकारी दिए ।
‘गाजा मुद्धा मिलाइदिन्छु भनेर पैसाको बार्गेनिङ गर्दा रहेछन् । त्यसै विषयमा अनुसन्धानका लागि पक्राउ गरेका हौं’ उनले भने ‘हिरासतमा राखेर कानुनी कारबाही प्रक्रिया अघि बढाएका छौं ।’
उनीविरुद्ध अभद्र व्यवहार मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया शुरु गरिसकिएको प्रहरीले जनाएको छ । साहलाई बारा जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्ने अनुमति दिएको छ । अभियुक्तसँग बार्गेनिङ गरेको अडियो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ बारा शाखा अध्यक्ष कमल कुमार उपाध्यायले पक्राउ पर्नुको कारण बुझेर आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।
‘किन पक्राउ गरेको हो जानकारी आउन सकेको छैन । त्यसबारेमा बुझ्दैछु’ अध्यक्ष उपाध्यायले भने ‘पत्रकारिताका विषयलाई लिएर प्रहरी हस्तक्षेप भए अस्वीकार्य हुन्छ तर व्यक्तिगत लेनदेनका कुरा रहेछन् भने महासंघले केही गर्न मिल्दैन ।’
प्रतिक्रिया 4