२८ असार, काठमाडौं । नयाँ खेलकुद ऐन २०७७ अनुसार राष्ट्रिय खेलकुद परिषद राखेपमा नयाँ सदस्य सचिव नियुक्त गर्नको लागि दरखास्त आह्वान भइसकेको छ ।
अब नयाँ सदस्य सचिव को होला भनेर चर्चा सुरु भइसकेको छ । नयाँ ऐन आएपछि सदस्य सचिवबाट पदमुक्त भएका रमेश सिलवाल नै फर्किने चर्चा पनि छ ।
नयाँ सदस्य सचिव बन्ने चाहनामा कराते महासंघको सहमहासचिव समेत रहेका ओमकृष्ण प्रसाईं पनि रहेका छन् । तर उनी सिलवालले दरखास्त दिन्छन् कि दिँदैनन् भन्ने प्रतीक्षामा छन् । ‘मैले अहिले दरखास्त दिइसकेको छैन । रमेश सरले पहिला काम गरिरहुनभएको हो । १३ औं साग पनि गराउनुभयो । अब उहाँले दरखास्त दिनुभएन भने मेरो प्रमुख दाबेदारी रहन्छ’ उनले भने ।
यसबारे सिलवालसंग सल्लाह गरेर अघि बढ्ने प्रसाईँले बताए । ‘मिलेर जाम भन्ने नै हो । हामी एउटै पार्टीमा छौँ । एउटै संस्थामा छौँ ।’
सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संस्थापक अध्यक्ष हुन् भने प्रसाईं हालका सचिव हुन् । प्रसाईं सिलवालले चाहना राखेमा उनैलाई सदस्य सचिवमा सहयोग गर्ने बताउँछन् ।
तर सिलवालले आफू दरखास्त दिएर नजाने भनी अभिव्यक्ति दिएकाले कतै आफ्नो पालो आउने हो कि भन्ने आशामा पनि रहेका छन् ।
प्रतिक्रिया 4