Comments Add Comment

बर्सेनि डुब्छन् वीरगञ्जका वस्ती, महानगरसँग छैन समाधानको उपाय

२९ असार, वीरगञ्ज । वर्षायाममा वीरगञ्ज महानगरपालिकाका वस्ती बर्सेनि जलमग्न हुन्छन् । धनमालको ठूलो क्षति हुन्छ । तर यसको समस्या समाधानको प्रभावकारी उपाय भने महानगरपालिकासँग छैन ।

वस्ती डुबिसकेपछि प्रभावित परिवारलाई स्कुललगायतका सार्वजनिक स्थानमा खाने–बस्ने व्यवस्था गर्नेबाहेक समस्याको दीर्घकालीन समाधान पहिल्याउन महानगरले सकेको छैन ।

यस वर्ष पनि मनसुन सक्रिय भएर वस्ती डुबानमा परिसकेपछि र खेतियोग्य जमिन कटान गर्न थालिसकेपछि बल्ल विपद व्यवस्थापन समितिको बैठक बसेको छ ।

वीरगञ्ज महानगरपालिकामा आइतबार बसेको महानगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकमा मेयर विजय सरावगीले विपदसँग लड्न तयारीमा जुटिसकेको बताए । तर बैठकमा विपद व्यवस्थापनका सन्दर्भमा कुनै पनि लिखित कार्ययोजना राखिएन ।

बल्ल उपकरण खरिदको तयारी

महानगरपालिकाले नदी किनारमा रहेका जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्ने, विपदमा परेकालाई अस्थायी रुपमा राख्न स्कुल र धर्मशालालाई तयारी अवस्थामा राख्ने, दुई हजार घरधुरीका लागि खानेकुरा जुटाउने, नियमित सडक मर्मत गर्ने, औषधि उपचारका लागि आवश्यक व्यवस्था मिलाउने, उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गर्ने, आवश्यक सामाग्रीको प्रवन्ध गर्ने, राहतका लागि एकद्वार प्रणालीमा जाने तयारी गरेको नगर प्रमुखले बताए ।

‘बाढी र डुबानबाट बढी प्रभावित क्षेत्रका वडा अध्यक्षहरुसँग छलफल गर्छौं, जोखिम बस्तीहरु पहिले नै सार्दा ठीक हुन्छ,’ सरावगीले भने, ‘पायक पर्ने स्कुल र धर्मशालामा बस्ने व्यवस्था मिलाउनुपर्छ ।’

महानगरपालिकाका अधिकृत सुनिल कर्णले त्रिपाल ५ सय थान, कोदालो, बुट, पञ्जा, डोरीलगायत आवश्यक औजार उपकरण खरिद गर्न लागेको जानकारी दिए । उनले यस वर्षको वर्षा सकिएपछि महानगरपालिकाले छुट्टै विपद व्यवस्थापन कार्ययोजना तयार पार्ने बताए ।

६२ लाख खर्चेर बनाएको बाँध भत्कियो

गत वर्ष वीरगञ्जको आदर्शनगरका पसलभित्र पानी पसेर करोडौंको धनमालमा क्षति पुगेको थियो । महानगरपालिकाकै लापरवाहीले आदर्शनगर डुबानमा परेको आरोप स्थानीयवासीले लगाउँदै आएका छन् ।

वर्षायाममा विशेषगरी सिर्सिया नदी छेउका बस्ती डुबानमा पर्छन् । त्यसबाहेक श्रीपुर नयाँबस्ती, रानीघाट दलितबस्ती, रामगढवालगायत क्षेत्रका बासिन्दा बाढी र डुबानबाट बढी प्रभावित हुन्छन् । नगर क्षेत्र बर्सेनि डुबानमा परे पनि समस्या समाधानका लागि वीरगञ्ज महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरवासीको गुनासो छ ।

अर्कोतर्फ भेडाहा खोलाले पनि वीरगञ्जको ग्रामिण क्षेत्रका वडामा त्रास सिर्जना गर्दै आएको छ । दुई दिनअघि परेको पानीका कारण भेडाहा खोलामा आएको बाढी किसानको खेतमा पसेको छ । भेडाहाले बर्सेनि खेतियोग्य जमिनमा बालुवा थुपारिदिने गरेको छ ।

प्रहरी संगठनसँग जनशक्ति तयारी अवस्थामा छ यद्यपि, आवश्यक औजार उपकरणको अभाव छ – प्रहरी निरीक्षक, लक्ष्मण गिरी

 

दुई दिनअघि वर्षापछि आएको बाढीले मात्रै झण्डै ४० विगाहा जग्गामा बालुवा भरिदिएको छ । भेडाहा खोलाबाट हुने कटान रोक्नका लागि ६२ लाख खर्च गरेर बाँधेको बाँध बाढीले भत्काइदिएको छ । ‘लालपर्सा तर्फको बाँध फुटेछ, अर्को बाँध पनि फुट्न लागेको छ, मर्मतका लागि मेसिन पठाएको छु,’ वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीले भने, ‘आफ्नो खेत जोगाउन नगरवासी पनि लागिपरेका छन् ।’

सपना मात्र बाँडियो

सिर्सिया र भेडाहा खोलाले वीरगञ्जमा बढी प्रभाव पार्ने गरेको छ । वीरगञ्ज महानगरपालिकाका १, ३, १०, ११, १३, २२, २३, २४, २५, २७, २८, ३० र ३१ नम्बर वडा बढी प्रभावित क्षेत्र हुन् । तर महानगरपालिकासँग विपद व्यवस्थापनका सन्दर्भमा कुनैपनि लिखित कार्ययोजना छैन । समस्याको दिगो समाधानका लागि कुनै योजना छैन । बाढीले बर्सेनि क्षति हुने गरेको भए पनि कति क्षति हुन्छ ? कहाँ कस्तो प्रभाव पर्छ ? त्यहाँ के गर्नु जरुरी छ ? कुनै कुराको टुंगो छैन ।

सिर्सिया करिडोरको सपना बाँडिए पनि वर्षामा सिर्सिया सलल बग्ने वातावरण बनाउन महानगरपालिकाले सकेको छैन । आइतबार बिहान भने सिर्सिया नदीको मसानघाट छेउको पुलमा अड्किएका केही जलकुम्भी हटाइयो

तर मसानघाटको पुलदेखि उत्तरमा रानीघाटको पुलको बीच क्षेत्रमा अझै जलकुम्भी झार हटाउन बाँकी छ । जलकुम्भी पुलहरुमा गएर अड्किदा पुलमा दबाव बढी पर्ने र पानी बस्तीमा पस्ने गरेको छ ।

मनसुन अगाबै बैठक डाक्न सुझाव

आइतबार बसेको महानगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकमा सहभागीहरुले वीरगञ्ज महानगरपालिकाले वर्षाअघि नै सिर्सिया नदी सफाइ अभियान चलाउनुपर्ने, नदी क्षेत्रमा भइरहेको अतिक्रमण हटाउनुपर्ने, विपद व्यवस्थापन समितिको बैठक जेठको अन्तिम साता वा असारको पहिलो साता राख्नु पर्ने लगायतका सुझावहरु दिए ।

नेकपाका महानगर कमिटी सचिव डा. विश्वम्भर शर्माले विपदका समयमा आवश्यक पर्ने समानको जोहो महानगरपालिकाले वर्षा अगावै गर्नुपर्ने बताए ।

सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवानले विपद आउनुअघि नै बैठक बसेर आवश्यक तयारी गर्नुपर्ने धारणा राखे । ‘महानगरपालिका क्षेत्रको नाला सफा गर्ने, नदीको जलकुम्भी हटाउने जस्ता काम वर्षा अघि नै गर्नुपर्छ,’ उनले भने, ‘त्यसपछि बाढी आइहाले पनि क्षति पुर्‍याउने सम्भावना कम हुन्छ ।’

रेडक्रस सोसाईटीका सन्तोष गुप्ताले समन्वय गरेर अघि बढेको खण्डमा महानगरपालिकालाई रेडक्रसले सहयोग गर्ने बताए । महानगरपालिकामा मात्रै रेडक्रसका ८ वटा समिति छन् ।

प्रहरी निरीक्षक लक्ष्मण गिरीले प्रहरी संगठनसँग जनशक्ति तयारी अवस्थामा रहे पनि आवश्यक औजार उपकरणको आवश्यकता रहेको बताए । ‘हामीसँग ११ जना, विपद व्यवस्थापन गुल्मसँग १० जना तालिमप्राप्त पौडीवाज छन् । त्यसबाहेक २५ जनाको टोली विपदमा खट्न तयारी अवस्थामा छन्,’ उनले भने, ‘उद्दारका लागि, हराएकाहरुको खोजीका लागि आवश्यक औजार उपकरणको भने आवश्यकता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment