+
+
Shares

भानुभक्तमात्र अन्तिम सत्य होइन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते २२:१३
तस्वीर : निर्भीकजंग रायमाझी

२०६२/०६३ सालको जनआन्दोलनलाई उचाइतिर धकेल्ने कविता ‘बिसे नगर्चीको बयान’ लेखेको दुई वर्षपछि श्रवण मुकारुङले ‘भानुभक्त’ लेखे ।

‘भानुभक्त’ कविता पनि पाठकमाझ लोकप्रिय बन्यो । उक्त कविताको रचनागर्भ र अभिप्राय के हो ? २०७औं भानुजयन्तीको सन्दर्भमा कवि मुकारुङसँग अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानी :

‘भानुभक्त’ कुन सन्दर्भमा लेख्नुभयो ?

२०६४ सालताका देशमा लोकतान्त्रिक मूल्य–मान्यताका विविध आयाममाथि बहस चल्न थालेको थियो । त्यही सेरोफेरोमा भानुभक्तमाथि पनि बहस सुरु भयो । त्यही परिवेश र इतिहासलाई विनिर्माण गरेर यो कविता लेखेको हुँ ।

कला–साहित्य क्षेत्रले आदिकविलाई, ती विशिष्ट कविलाई सम्झनुपर्छ भनेर मैले भानुलाई इतिहासबाट तानेर ल्याएको हुँ । उनको योगदानलाई कदर गरेर कविता लेखेको हुँ ।

यो कवितालाई व्यंग्य कविता भन्न मिल्छ ?

मिल्दैन । कवितामा दुईवटा समय– भानुभक्त कालको मान्छे र आजको मान्छेबीच तुलना छ । भानुलाई व्यंग्य भन्दा सम्मान गर्दै दुईवटा समयखण्डलाई जोड्न खोजिएको छ ।

तपाईं स्वयंले यो कवितालाई राजनीतिकरण गर्दै कहिले विरोधमा, कहिले सम्मानमा प्रयोग गरेको देखियो नि ?

हुन त कविता बहुअर्थी हुन्छ । मैले व्यंग्य भन्दा पनि सम्मान गरेर लेखेको हुँ । भानु चेतना र नेपाली नागरिकको प्रतीक हुन् भनेर देखाउन खोजेको हुँ ।

हिजो तनहुँबाट एउटा भानु काठमाडौं गएको थियो, आज देशबाट हजारौं भानु अरब गइरहेका छन् । यसो भन्ने कवितालाई राजनीतिकरण भन्न मिल्दैन ।

भानुभक्तलाई नेपाल बाहिरका नेपालीले किन यहाँभन्दा बढी महत्व दिएका ?

मान्छेलाई जोड्न धेरै तन्तु चाहिन्छ । हामीलाई पृथ्वीनारायण पनि चाहियो, बिसे नगर्ची पनि चाहियो । अमरसिंंह, बलभद्र पनि चाहियो । नेपाली जाति रहेको ठाउँमा भानुलाई सम्झनु भाषाको कारणले पनि हो ।

जीवनमा सर्वप्रथम भानुभक्तका रचना कहिले पढ्नभयो ?

गाउँमा हाम्रो परिवार चेतनाको हिसाबले अलि अगाडि थियो । बोजु (हजुरआमा) ले पनि रामायण भनेको मलाई याद छ ।

पछि कसको रहेछ यी कविता भनेर खोज्दा भानुभक्तको रहेछ । स्कुल पढ्दा घरमै रामायणको पुस्तक पनि भेटें । किशोरकालमै मलाई बालकाण्ड, युद्धकाण्डका अधिकांश हरफ कण्ठै आउँथ्यो ।

एउटा कविको आँखाले भानुको कवित्व कस्तो पाउनुहुन्छ ?

भानुका फुटकर कवितामा व्यंग्य कविता पनि छ । कर्मचारीहरूमाथि तीव्र व्यंग्य कसिएको कविता छ । उनले त्यसबेलाको प्रशासनिक माहोललाई व्यंग्य गर्दै शासन पद्धतिमाथि लेखेका छन् ।

भानुलाई रामायणले प्रसिद्धि बनायो, बधुशिक्षाले विवादमा ल्यायो । एउटा लेखकको विविध आयाम हुन्छ, भानुको पनि छ । हामी भानुले रामायणमार्फत ‘नेपाली जाति’लाई जोडे भन्छौं । कतिले राष्ट्रिय एकताको प्रतीक भनेर अतिरञ्जना पनि गरे । यद्यपी, एउटा साहित्यकारले राज्यबाट सम्मान पाउनु आफैंमा राम्रो कुरा हो ।

भानुलाई हेर्ने कुन चाहिँ दृष्टि सही हो ?

दुई सय वर्षअगाडि भानुले गरेको योगदानको महत्व बुझेर मोतीराम भट्टले उनलाई अगाडि ल्याएका हुन् ।

आज हामीले पनि भानुलाई फराकिलो दृष्टिले हेर्नुपर्छ । भानुसँगै शंखधर साख्खा, विद्यापति, श्रीजङ्घाहरुलाई सम्झिन, सम्मान गर्नपर्छ । यसरी हेर्दा भानु बाहेकका सत्यहरु पनि देखिन्छ ।

राज्यले देशभित्रका सबै भाषा–संस्कृतिका स्रष्टालाई सम्मान गर्नुपर्छ । लोकतन्त्रमा सबै पक्षका स्रष्टालाई सम्मान गर्नुपर्छ । समावेशी लोकतन्त्रलाई आत्मासात गरेको यो समयमा मातृभाषी स्रष्टा, लोपोन्मुख भाषाका स्रष्टा सबैलाई अगाडि ल्याउन काम गर्नुपर्छ । भानुलाई दिएको जस्तो इज्जत उनीहरूलाई पनि दिनुपर्छ ।

अनि भानुभक्तको कवित्व र योगदानको विषयमा रचनात्मक छलफल–अनुसन्धान हुनुपर्छ ।

भानुभक्त
श्रवण मुकारुङ

पहिलो जुनी
वि.सं. १८७१ असार २९ मा आए भानुभक्त
र गए —
वि.सं. १९२५ असोज ६ सँगै

दोस्रो जुनी
भए आदिकवि
कतै चिम्सा आँखा
कतै लामो नाक
कतै गोरो वर्ण
कतै कालो वर्ण
कतै पूर्ण कद
कतै अर्ध कद
कतै रथयात्रा
कतै अबीरजात्रा

तेस्रो जुनी
भए माछा
नदीको लहरमा कविता लेख्दा–लेख्दै
एकदिन अचानक
खायो गोहीले

बयालीस लाख जुनीपछि
भए किम्बुको रुख
शरद ऋतुको आँखैअघि
खायो रेशम कीराले

चौरासी लाख जुनीपछि
आज फेरि
जन्मिए भानुभक्त मानिस भएर
मानिसको जीवनको कुनै भर छैन
र हिँडे भानु
अमरावती कान्तिपुरी नगरी

हतारमा बिर्सेछन् बिर्केटोपी
बाहुला सुर्केको कमिज
खासाको जिन्स पेन्टमुनि गोल्डस्टार सुज
झोलामा टावेल, गन्जी, कट्टु
एसएलसीको सर्टिफिकेट र श्री प्रकाश कोविदको उपन्यास
खल्तीमा नागरिकता, पासपोर्ट, रु. सात सय पचास
र आमाको सादा तस्बिर

बालाजु, बसपार्क, धरहरा
घण्टाघर र रानीपोखरी
घुमे कविजी दिनभर
गुनकेशरी फुलिरहेछ गमलामा
रित्तै दौडिरहेछन् चपला–अवला

जब ढल्क्यो घाम
गमे कविजी कता जाम ?
कविले कविको मर्का बुझ्छ
सम्झे उनले चित्तधर
खल्तीमा छ रु. सात सय पचास
लच्छिन्की रहिछिन् घरबूढी
दिइन् स्नेहले दालभात
ढल्किए कविजी चुरोट तान्दै
सम्झे उनले चुँदी—रम्घा
झ¥यो आँसु दुई कानमा
ताने सिरक र छोपे मुख

किनकि
भोलि त उड्नु छ मलेसिया
लेख्नु छ— रामायण ।
(२०६७ सालमा प्रकाशित ‘बिसे नगर्चीको बयान’ कविता संग्रहबाट साभार ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?