Comments Add Comment

सीसीएमसीले निर्णय नगर्दा फुटबल खेलाडीको प्रशिक्षणमा ढिलाइ

२९ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले असार अन्तिम अर्थात जुलाई दोस्रो सातादेखि राष्ट्रिय फुटबल टिमको तयारी सुरु गर्ने गरी एक महिनाअघि तयारी थालेको थियो ।

आगामी अक्टोबर नोभेम्बर हुने विश्वकप छनोट अन्तर्गत हुने खेलका लागि नेपालले खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । असार ५ गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मुख्य प्रशिक्षक योहान कालिन, टेक्निकल टेक्निकल डिरेक्टर ग्यारी फिलिप्सलगायत खेलाडीसँग भर्चुअल छलफल गर्दै जुलाई दोस्रो सातादेखि प्रशिक्षण सुरु गर्नेबारे कुरा गरेको थियो ।

तर त्यसका लागि कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्सर (सीसीएमसी)मा पुगेको एन्फाको प्रस्तावमा अझै निर्णय हुन सकेको छैन । एन्फाले सुरुमा राष्ट्रिय खेलकुद परिषद हुँदै युवा तथा खेलकुद मन्त्रालयमा प्रशिक्षण सुरु गर्नका लागि प्रस्ताव गरेको थियो ।मन्त्रालयबाट उक्त प्रस्ताव फाइल सीसीएमसीमा पुगे पनि त्यहाँबाट यसबारे निर्णय हुन सकेको छैन ।

दक्षिण एसियाकै भुटान, माल्दिभ्सलगायत देशले सुरक्षित उपाय अपनाउँदै फुटबल खेलाडीको प्रशिक्षण सुरु गरिसक्दा नेपालमा भने अझै प्रशिक्षण हुन सकेको छैन ।

सीसीएमसीका सचिव महेन्द्र गुरागाईंले एन्फाको एजेन्डाको विषयमा शुक्रवार छलफल भएको तर निर्णय नभएको बताए । ‘एन्फाको एजेण्डा बैठकमा पेस भएको छ । तर निर्णय भएको छैन,’ गुरागाईँले भने, ‘अब २-३ दिन कोरोना परीक्षणको नतिजाहरु हेरेर त्यसबारे निर्णय गर्ने भन्ने कुरा भएको छ ।’

गुरागाईँले यसबारे अर्को बैठकमा छलफल गरेर टुङ्गो लाग्ने सम्भावना रहेको बताए ।

राष्ट्रिय टोली तयार समितिका संयोजक तथा राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रशिक्षण सुरु गराउने बारे प्रस्ताव सीसीएमसी पुगेको तर राम्रोसँग स्थान पाउन नसकेको बताए ।

‘हामीले बुझाउनुपर्ने कागजातहरु सबै मन्त्रालयमार्फत सबै पठाइसकेका छौँ । सीसीएमसीसँग हामी निरन्तर सम्पर्कमा छौँ । सम्भवत अर्को बैठकबाट टुङ्गो लाग्न सक्छ,’ उपाध्यायले भने । उनले चाँडै अनुमति पाउने विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुहोस फुटबल टिमको प्रशिक्षण जुलाई दोस्रो साताबाट गर्ने तयारी

सीसीएमसीले ढिलाइ गर्दा खेलाडीको प्रशिक्षण यसअघि तोकिएको समयभन्दा अली ढिलाइ सुरु हुने उनले बताए । ‘२६ गतेको बैठकमा निर्णय भएको भए खेलाडीहरुलाई बोलाएर पीसीआर टेष्ट गरेर प्रशिक्षणको प्रकिया अगाडि बढाउन हुन्थ्यो । तर अब केही ढिलाइ हुन्छ,’ उपाध्यायले भने ।

सीसीएमसीबाट स्वीकृति पाएपछि आफ्नै सवारी साधनबाट खेलाडीलाई ल्याउने र त्यो नभए खेलाडीलाई आफ्नै साधानमा आउन भन्ने उनले बताए । ‘स्वीकृत भएपछि त्यसैअनुसार हामी खेलाडी बोलाउछौँ । आएपछि पीसीआर गर्छौँ,’ उपाध्यायले भने, ‘हाम्रो होस्टेल पनि सरसफाइ गर्नुपर्ने छ । पीसीआर टेष्ट, होस्टल सरसफाइ स्यानिटाइजदेखि सबै मापदण्ड पूरा गरेर पूर्वाधार तयार गर्दैछौँ ।’

फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप २०२३ को दोस्रो चरणको संयुक्त छनोट अन्तर्गत नेपालले समूह बी को ३ खेल खेल्न बाँकी छ । त्यसैले एन्फाले तीन महिनाको समय प्रशिक्षण गर्दै छनोटका लागि तयारी गर्ने योजना बनाएको थियो । तर अब खेलाडीको प्रशिक्षण अली ढिला सुरु हुनेछ ।

चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँगको खेल नेपालले घरेलु मैदानमै खेल्न तय छ । समूह बी पाँच खेल खेलिसकेको नेपालले एक जितबाट तीन अंक जोडेको छ ।

नेपाली खेलाडी प्रशिक्षणको पालो पर्खिरहँदा दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले जुलाई पाँचदेखि नै प्रशिक्षण थालेको छ । भुटानले जुन २४ देखि नै प्रशिक्षण सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment