Comments Add Comment

पत्रकार आपतकालीन राहत कोष स्थापना

३१ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्रीय समिति मातहत रहने गरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिबाट ३० लाख रुपैयाँ जम्मा गरेर राहत कोष सुरुवात गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्यावाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने महासंघले जनाएको छ ।

पत्रकार आपतकालीन राहत कोषमा नेपाल पत्रकार महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार संघ नेजा र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्टेलियाले एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको महासंघले जनाएको छ । साथै, महासंघका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गरिने महासचिव विष्टले जानकारी दिए ।

इच्छुक संघ, संस्था र व्यक्तिहरुलाईसमेत नेपाल बंगलादेश बैंकमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको नाममा रहेको पत्रकार कल्याण कोष, बचत खाता नं. ००१०७००३१५ मा रकम जम्मा गरिदिन पनि महासंघले आग्रह गरेको छ । कोषमा रकम जम्मा गर्नेहरुको नाम र जम्मा भएको रकमको विवरण एक महिनापछि सार्वजनिक गरिने महासंघले जनाएको छ ।

सञ्चारमाध्यमले कल्याणकोष स्थापना नगरेकोमा आपत्ति 

यसैबीच श्रमजीवी पत्रकार नियमावलीको व्यवस्थाअनुसार सञ्चारमाध्यमले विज्ञापनको १० प्रतिशत रकमबाट पत्रकार कल्याणकोष स्थापना गर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा महासंघले आपत्ति प्रकट गरेको छ ।

श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने मिडिया हाउसहरु खासगरी सरकारी स्वामित्वका सबै सञ्चारमाध्यम र समाचार समिति, निजी क्षेत्रवाट सञ्चालित ब्रोडसिट दैनिक, सबै टेलिभिजन च्यानल, देशव्यापी नेटवर्क सञ्चालन गरेका रेडियोहरुमा यो व्यवस्था तत्काल लागु गर्न महासंघले माग गरेको छ।

सरकारले दिने विज्ञापनमा नियमानुसार कल्याणकारी कोषका लागि जम्मा गर्नुपर्ने रकमसमेत कोषमा नराखी सीधै भुक्तानी गरेकाले कोष स्थापना नभएकाको हकमा एकीकृत कल्याणकारी कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment