Comments Add Comment

बुटवलमा ५ करोड खर्चेको बधशाला अलपत्र, २२ करोडमा अर्को बनाइँदै

३१ असार,बुटवल । बुटवलमा पाँच वर्ष अगाडि करिब पाँच करोड रुपैयाँ लगानीमा निर्माण भएको पशु बधशाला निर्माण पूरा भएर पनि सञ्चालनमा आउन नसकेपछि फेरि बधशाला बनाउन थालिएको छ ।

बुटवल-१० रामनगरमा पाँच वर्ष पहिले बनेको भवन अलपत्र छ । कृषि मन्त्रालय अन्तरगतको पशुपन्क्षी बजार निर्देशनालय र तत्कालीन बुटवल नगरपालिकाको लगानीमा निर्माण गरिएको बधशालाको भवन बनाएको पाँच वर्षपछि प्राविधिक टोलीले त्यस भवनमा बधशाला चलाउन नसक्ने निष्कर्ष निकालेको थियो ।

राज्यको झण्डै पाँच करोड रूपैयाँ ‘बालुवामा पानी’ सरह भएपछि अहिले फेरि २२ करोड १३ लाख ३५ हजार ९९६ को लागतमा नयाँ बधशाला बनाउन सुरु भएको हो ।

प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बुटवल उप-महानगरपालिका, मासु व्यवसायी र हेफर इन्टरनेसनल नामको गैरसरकारी संस्थासंगको सहकार्यमा सोही स्थानको तीन बिघा जग्गामा बुटवल मासु उत्पादन तथा प्रशोधन परियोजना (पशु बधशाला) बनाउन बुधबार मुख्यमन्त्री शंकर पोखरेलले शिलान्याश गरेका छन् ।

करिब पाँच करोड लगानी भएको हालको बधशालाको भवन अब चमेना गृहको रुपमा प्रयोग गर्न सकिने भूमि व्यस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले बताए ।

नयाँ बधशालाका लागि प्रदेश सरकारले ७ करोड र बुटवल उपमहानगरपालिकाले ३ करोड रूपैयाँ बजेट विनियोजनसमेत गरेका छन् । मन्त्रालयका सचिव सुवेदीले विगतका कमी कमजोरीलाई सच्चाएर नयाँ बधशाला बनाउने र सञ्चालनमा ल्याउने बताए ।

बुटवलमा दैनिक २ हजार ५ सय पशुपन्क्षी बध गरिँदै आएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले दिगो रुपमा सञ्चालनका लागि सार्वजनिक क्षेत्र, उत्पादक, मासु व्यवसायी तथा उपभोक्ताहरुको सक्रिय सहभागितामा बधशाला बनाएर सञ्चालन गरिने बताइन् ।

प्रदेश सरकारले बुटवलको बधशालाका लागि ७ करोड, नेपालगञ्जका लागि ७ करोड र दाङका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो । शिवशक्ति कन्ट्रक्सन प्रालिलाई ठेक्का दिइएको र निर्माण सुरु भएको १६ महिनामा निर्माण सक्ने सम्झौता भएको सचिव सुवेदीले बताए ।

अब बन्ने बधशालामा पहिलो चरणमा दैनिक एक हजार खशी बोका बध गर्न मिल्ने छ । यहाँ बाख्राको चरन, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरुका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण गरिने छ । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर वायो ग्यास निकाल्ने योजना रहेको छ ।

बधशालामा करिब १२ हजार पशुपालक महिला किसानहरु र तीन सय मासु व्यवसायीहरु सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा. तीर्थराज रेग्मीले बताए ।

हालसम्म करिब ७००० जना उद्यमी महिलाहरु र १०० जना मासु व्यवसायीहरु विभिन्न इन्भेस्टमेन्ट कम्पनीहरुमार्फत सहभागी भएका उनले बताए ।

परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यहरुबाट करिब ७ करोड तथा मासु व्यवसायीहरुबाट तीन करोड ७८ लाख रुपैयाँ संकलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment