Comments Add Comment

प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितको हेरचाह : योग, ध्यान र जलनेतीसम्म

२ साउन, चितवन । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले कोरोना संक्रमितहरुलाई एक हप्तादेखि २५ दिनसम्म राखेर घर पठायो । यहाँ रहँदा संक्रमितहरुले कुनै असजिलो महसुस नगरेको र तनाव व्यहोर्नु नपरेको चिकित्सालयका सञ्चालक बताउँछन् ।

‘डेढ महिनाको अवधिमा हामीले झण्डै तीन सय जना संक्रमितहरुलाई राख्यौं, हामीलाई कुनैखालको असहज भएन, सजिलोसँग राखेर, केही योगहरु सिकाएर पठाएका छौं’ अस्पतालका कार्यकारी निर्देशक डा. विनोद पौडेलले भने, ‘खर्च पनि निकै कम भयो । सुरक्षा सामाग्रीहरु खासै चाहिएको छैन ।’

अन्यत्र आइसोलेसनमा नराखेका वा राख्न नमानेका संक्रमितहरुलाई पनि चिकित्सालयले राख्ने गरेको पौडेलले सुनाए ।

यसअघि, चिकित्सालयलाई क्वारेन्टाइनका रुपमा चलाइएको थियो । पछि संक्रमित थपिन थालेपछि आइसोलेसनका रुपमा चलाउन थालिएको हो ।

सुरुमा व्यवस्थापनका लागि संघर्ष गरे पनि अहिले भने निकै सहज भएको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जनाए ।

यहाँ ४८ वटा कोठामा दुईदेखि तीनजनाका दरले संक्रमितलाई राखिएको सापकोटाले बताए । १६ वटा हलमा ८ देखि १० जनाको दरले संक्रमितलाई राखिएको छ । पुरुष र महिलालाई अलग-अलग राखिएको छ ।

चिकित्सालयमा आएका संक्रमित ६ देखि २५ दिनसम्म बसेर संक्रमणमुक्त भएर घर गएको व्यवस्थापक सापकोटाले बताए । उनले भने ‘संक्रमितहरूलाई काउन्सिलिङ्ग गर्ने, मोटिभेसन गर्ने गरेका छौं, हामी आफैं पनि विहान ४ बजेबाट राति १० बजेसम्म खटेका छौं, संक्रमितहरु पनि खुसी हुनुभएको छ ।’

विगत ३५ दिनदेखि घर परिवारको मुखसमेत नहेरी आइसोलेसनमा नै बसेर संक्रमितको व्यवस्थापन र उपचारमा खटेको चिकित्सालयका कार्यकारी निर्देशक डा. पौडेलले बताए ।

‘हामीले संक्रमितको व्यवस्थापन र उपचारलाई भीमकाय ठानेनौं, सजिलै व्यवस्थापन गरेका छौं, सबै संक्रमित खुसी भएर निको भई घर जानुभएको छ,’ पौडेलले भने, ‘कतिपयले त यहाँको बसाइ मन परेर २५ हजार रकम पनि सहयोग दिएर जानुभएको छ ।’

कसरी हुन्छ संक्रमितको हेरचाह ?

चिकित्सालयमा कोरोना संक्रमितको हेरचाहका लागि आयुर्वेदिकका साथै एलोपेथिक उपचार गर्ने चारजना चिकित्सकसहित स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

चिकित्सालयले प्राकृतिक उपचार र विधिबाट नै संक्रमितहरुको उपचार गर्दै आएको छ । हरेक बिरामीलाई तातोपानी उमाल्ने भाँडो दिएको छ । उनीहरुलाई दिनमा तीनपटक नुनपानीले कुल्ला गर्न लगाइन्छ ।

तुलसीको पात, निम, मरिच, गुर्जो, राखेर पानी तताएर पिउन र त्यसको बाफ लिन लगाइन्छ । नाकभित्र नुनपानी राखेर सफा गर्ने विधि जलनेती गराइन्छ ।

यसो गर्दा भाइरसको मात्रालाई घटाउन ठूलो सहयोग पुग्ने र संक्रमितहरु चाँडो संक्रमणमुक्त हुनुका साथै अन्यमा सर्ने सम्भावना पनि कम हुने चिकित्सक डा. पौडेलको दाबी छ ।

उनले प्राकृतिक चिकित्सामा किटाणुलाई प्रमुख कारण नमानिने बताए । ‘भाइरस हुर्किने जमिन नै नदिने भन्ने हुन्छ,’ डा. पौडेलले भने ।

बिहान नित्यकर्म गरिसकेपछि सबैजना संक्रमितलाई चिकित्सालय अगाडिको ठूलो चौरमा भेला गराइन्छ । केही दूरी कायम गरी अस्पतालका निर्देशक डा. पौडेल आफैं योग र ध्यान सुरु गर्छन् । संक्रमितहरु डा. पौडेललाई पछ्याउँछन् ।

हरेक दिन विहान डेढ घण्टा योग गराइन्छ । देशभक्तिपूर्ण गीतहरु बजाइन्छ । सबैजना नाँच्छन्, हाँस्छन्, खुसी हुन्छन् । डा. पौडेल भन्छन्, ‘यसले उनीहरूमा ऊर्जा थप्छ, जीवन र देशप्रतिको माया र भावना जागृत हुन्छ, केही गरौं भन्ने भन्ने भाव पैदा हुन्छ ।’

संक्रमितहरुमा समूह नेता पनि बनाइएको छ । केही समस्या आइपरेमा उनले टेलिफोनमा डा. पौडेल र व्यवस्थापन पक्षलाई खबर गर्दछन् । कोही नयाँ संक्रमित थपिएमा उनैले कहाँ, कसरी राख्ने व्यवस्था गर्छन् । आवश्यक सामाग्रीको जोहो गरिदिन्छन् ।

‘हामीले एउटा पद्दतिको विकास गरेका छौं, ताकि यहाँ आउँदा कसैले पनि तनाव महसुस नगरोस्, हल्का भएर उच्च मनोबल बनाएर संक्रमितहरु बस्न पाउन् भन्नेमा सचेत छौं,’ डा. पौडेलले भने, ‘कोभिडका कारणले रोजगारी गुमाएर वा समस्यामा परेर नै आएका नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, हामीले माया, स्नेह, करुणा र जीवनप्रतिको आशा जगाउनुपर्दछ ।’

यहाँ राखिएका अधिकांश संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । सामान्य लक्षण देखिएका पनि पनि केही दिनमै ठीक भएका चिकित्सक डा. पौडेलले बताए ।

कुनै जटिल अवस्था आएमा तुरुन्तै भरतपुर अस्पतालमा रिफर गर्ने गरिएको छ । अहिलेसम्म एक जना बिरामीलाई मात्रै यसरी रिफर गर्नुपरेको छ भने बाँकी बिरामी सबै निको भएर घर फर्किएका छन् । तीन वर्षीया बालिकादेखि ६५ वर्षसम्म उमेर समूहका बिरामी यहाँ आएका छन् ।

बिहान नास्ता, खाना खाजा र खाना गरी चारपटक बिरामीलाई खानेकुरा दिने गरिएको छ । ‘संक्रमितहरुले चिकित्सालयबाट खाने तरिका, योगाभ्यास, अनुशासन लगायतका कुराहरु सिकेर जानुहुन्छ । यो पनि निकै ठूलो कुरा हो जस्तो लाग्छ,’ डा. पौडेल भन्छन् । सरकार र डब्लुएचओले संक्रमितले १४ दिन पार गरेपछि परीक्षण नगरी घर पठाउन सकिने बताए पनि चिकित्सालयले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि मात्रै पठाउने गरेको व्यवस्थापक हरि सापकोटाले जानकारी दिए ।

जम्मा ५७ लाख खर्च

चिकित्सालयले झण्डै तीन सय बिरामीको उपचारमा जम्मा डेढ महिनाको अवधिमा जम्मा ५७ लाख रुपैयाँ खर्च भएको जनाएको छ । त्यसमध्ये २७ लाख पुँजीगत खर्च हो भने, बाँकी ३० लाख खानपिनलगायतको हो ।

‘हाम्रो भवनको तेस्रो तला फिनिसिङ हुन बाँकी थियो, झ्याल ढोका, ट्वाइलेट बाथरुमको काम सकिएको थिएन, अन्य काम पनि बाँकी थिए, त्यसमा २७ लाख खर्च भएको हो,’ व्यवस्थापक सापकोटाले भने, ‘त्यो खर्च गर्न नपरेको भए जम्मा खाना र व्यवस्थापनको खर्च भनेको ३० लाख हो, यो त अति न्यून हो जस्तो लाग्छ ।’

चिकित्सालयमा संक्रमितबाहेक सुरक्षाकर्मीसहित ३३ जना कर्मचारीहरु नियमित बस्दै आएका छन् । उनीहरुको खानपान र व्यवस्थापनको खर्च पनि त्यसमै समेटिएको चिकित्सालय व्यवस्थापक सापकोटाले बताए ।

सापकोटाले पीपीईलगायतका सुरक्षा सामाग्री निकै कम मात्रै प्रयोग भएको बताए । ‘हामीले खाना दिने जाने बेलामा मात्रै पीपीई खर्च गर्छौं अरु बेला आवश्यकता नै छैन,’ सापकोटाले भने, ‘सबैभन्दा कम पीपीईलगायतका सुरक्षा खर्च गर्ने हामी नै हौंला, आखिर यसरी पनि त उपचार गर्न सकिने रहेछ नि ।’

चिकित्सालयलाई सुरुमा प्रदेश सरकारले देवचुली नगरपालिकामार्फत १० लाख रकम पठाएको थियो । पछि पूर्वी नवलपुरका चार नगरपालिकाले ८/८ लाख र चार गाउँपालिकाले ७/७ लाख रकम सहयोग गरेका छन् ।

सबै स्थानीय तह, प्रशासन, प्रहरी, राजनीतिक दल, नागरिक समाज सबैको साथ र सहयोगले कोरोना संक्रमितको उपचार सहज रुपमा गर्न सकेको व्यवस्थापक सापकोटाको भनाइ छ । ‘टिम वर्क पनि अति राम्रो मिल्यो, सबैको माया, हौसला र उत्साह पायौं र राम्रो गरेका छौं,’ व्यवस्थापक सापकोटा भन्छन्, ‘हामीलाई संक्रमितको उपचार गर्नु कहिल्यै पनि भारीभरकम बनेन, हलुका तरिकाले लियौं, यो मोडल अन्यत्र पनि विकास गर्न सके, एकातिर खर्च कम हुन्थ्यो, अर्कोतिर सहज व्यवस्थापन गर्न सकिन्थ्यो ।’

कहाँका कति बिरामी ?

चिकित्सालयमा हालसम्म २९७ जना संक्रमितले उपचार गराएका छन् । तीमध्ये १६० जना निको भएर घर फर्किए । निको भएर घर जानेमा १४ महिला र १४६ पुरुष छन् । अहिले तीन जना बच्चा, पाँच जना प्रहरीसहित १३७ जना उपचाररत छन् ।

संक्रमितमध्ये सबैभन्दा धेरै मध्यविन्दु नगरपालिकाका ४९, बुलिङ्गटार गाउँपालिकाका ४८, गैंडाकोट नगरपालिकाका ४७, देवचुली नगरपालिकाका २०, कावासोती नगरपालिकाका ४४, हुप्सेकोट गाउँपालिकाका ३४, बौदीकाली गाउँपालिकाका ३६, विनय त्रिवेणी गाउँपालिकाका १७ जना छन् ।

तीबाहेक तनहुँको देवघाटदेखि धनुषाका संक्रमितलाई समेत राखेर उपचार गरिएको व्यवस्थापक सापकोटाले बताए । चिकित्सालयमा एकैदिन ५१ जनासम्म संक्रमित थपिए भने, ५२ जना एकैपटक डिस्चार्जसमेत भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment