+
+
Shares
अन्तर्वार्ता :

‘वैकल्पिक राजनीतिको तिर्खा मेटिएको छैन’

भविश्यमा पछुताउन पनि सक्छु- डा. सूर्यराज आचार्य

चिरञ्जीवी पौडेल चिरञ्जीवी पौडेल
२०७७ साउन ३ गते २१:१०

३ साउन, काठमाडौं । डा. सूर्यराज आचार्य औपचारिकरुपमा साझा पार्टीबाट अलग्गिएका छन् । तर, अहिले पनि सो पार्टीप्रति उनको प्रेम उत्तिकै छ । उनीसँग गफिँदा यस्तै महसुस हुन्छ ।

आफू अलग हुनासाथ माउ पार्टी र त्यसका नेताहरुलाई शब्दकोष पल्टाउँदै सत्तोसराप गर्ने नेपाली राजनीतिको पुरानो विकृति हो । तर, साझाबाट सूर्यराज र मुमाराम खनालको बहिर्गमन नौलो ढंगले भयो । पार्टीको वैठकले दुई नेताहरुलाई धन्यवाद दिएर हार्दिकता साथ विदा गर्‍यो । बहिर्गमित नेताहरुले पनि पार्टीप्रति सद्भाव दर्शाइरहेका छन् ।

अनलाइनखबरसँगको दुईघण्टा लामो कुराकानीमा डा. आचार्यले एकपटक पनि साझा पार्टीप्रति तीतो ओकलेनन् ।

उनले प्रष्ट शब्दमा भने, ‘साझा पार्टीबाट अलग भए पनि मैले भोलि चुनावमा भोट दिने पार्टी यही नै हो । राजनीति गर्नकै लागि म अर्को कुनै पार्टीमा प्रवेश गर्ने सम्भावना शून्य छ ।’

साझाका संयोजक रवीन्द्र मिश्रको पनि आचार्यले व्यापक प्रशंसा गरे । ‘वैकल्पिक राजनीतिको नेतृत्व नेतृत्व गर्ने क्षमता र प्रतिभा उहाँमा छ । मेरो अनुपस्थितिमा पनि उहाँले साझा पार्टीलाई माथि लैजान सक्नुहुन्छ,’ डा. आचार्यले भने ।

यदि सबै कुरा ठिकठाक थियो भने आफूचाहिँ किन पार्टीबाट निस्के त ? यसको जवाफ आचार्यले दिने नै छन् । त्योभन्दा पहिले जापानमा आकर्षक जागिर छोडेर उनी किन र कसरी नेपालको राजनीतिमा हेलिन आइपुगे भन्ने जानौं ।

‘म देशप्रेमले ओतप्रोत भएर स्वदेश फर्केको आएको हुँ भन्दिनँ । तर, विदेशको भूमिमा जतिसुकै मान-सम्मान र इज्जत पाए पनि त्यसले पूर्ण सन्तुष्टि दिन नसक्दो रहेछ,’ आचार्य भन्छन्, ‘त्यसैले आफूमा भएको अलिकति क्षमता र खुबीलाई स्वदेशमै खन्याउने मनसायले १८ वर्षपछि स्वदेश फर्केको हुँ ।’

०००

टोकियोबाट २०७१ सालमा सपरिवार नेपाल फर्किने निर्णय लिँदा उनको योजना थियो- गाविस अध्यक्ष बन्ने । आफू जन्मिएको गाविसको राजनीतिक नेतृत्व लिन पाएमा त्यसलाई देशकै नमूना गाविसका रुपमा स्थापित गर्न सक्छु भन्ने लागेको थियो उनलाई । देश विकास गर्ने हो भने केन्द्र सरकार होइन, स्थानीय निकायहरु नै सशक्त हुनुपर्छ भन्ने उनले जापानको बसाइबाट सिकेका थिए ।

तर, नेपालमा सरकारले स्थानीय निकायहरुको पुनःसंरचना गरेपछि उनको योजनामा भोटेताल्चा लाग्यो । आफ्नै गाउँठाउँका जनता र राजनीतिक दललाई कन्भिन्स गरेर निर्विरोध गाविस अध्यक्ष बन्ने सोचेका थिए उनले । तर, चितवनको पटियानी गाविसलाई सरकारले भरतपुर नगरपालिकामा गाभिदियो । त्यसपछि नगरपालिकाको मेयरमा चुनाव लड्न उनलाई जाँगर चलेन । जितिने ग्यारेन्टी पनि थिएन ।

गाविस अध्यक्ष बनेको भएचाहिँ के ‘चमत्कार’ गर्ने सोचेका थिए त उनले ?

‘मैले गाविसका ‘डे टु डे’ कामहरुका लागि उपाध्यक्षलाई अधिकार प्रत्यायोजन गर्ने योजना बनाएको थिएँ । त्योभन्दा बाहेकका महत्वपूर्ण भिजन बनाउन र त्यसलाई कार्यान्वयनमा लैजान आफू खटिने योजना थियो । मेरो दातृ निकायहरुसँग पनि सम्पर्क र सम्वन्ध भएकाले स्रोत जुटाउन सहज हुन सक्थ्यो,’ उनले सुनाए ।

गाविस अध्यक्ष बन्ने ‘लक्ष्य’ पूरा नभएपछि सूर्यराज वैकल्पिक राजनीतिको ध्याउन्नमा लागे । आफूजस्तै विभिन्न पेशा व्यवसायमा नाम कमाएका व्यक्तिहरुसँग छलफल गरे । तर, केही पार लागेन । देशमा वैकल्पिक राजनीति आवश्यक रहेको विषयमा सबै सहमत भए पनि आफैं यसमा हेलिन कोही तयार भएनन् ।

सूर्यराज निराश बन्नै लागेका थिए, उनीसँग ठोक्किन आइपुगे रवीन्द्र मिश्र । बीबीसीको जागिर जोडेर नेपाल आएका मिश्रमा पनि वैकल्पिक राजनीतिको मृगतृष्णा थियो । गज्जबको अठोट र आत्मविश्वास भएका मिश्रबाट प्रभावित हुन सूर्यराजलाई समय लागेन ।

अँ, मिश्रभन्दा अगाडि उनी डा. बाबुराम भट्टराईसँग पनि ठोक्किन पुगेका थिए । त्यो ठोक्काइ उपलब्धिपूर्ण बन्न सकेन । किन त ?

सूर्यराज पुल्चोक क्याम्पसमा अध्यापन गराउँथे । विकास र पूर्वाधारका मुद्दाहरुमा अखबारमा लेख लेख्थे । उनले सहलेखन गरेको ‘यसरी बन्न सक्छ नयाँ नेपाल’ शीर्षकको एउटा लेखमा डा. भट्टराईको ध्यान तानिए छ । आचार्यका अनुसार त्यसबेला भट्टराई भूकम्प पुनर्निमाण प्राधिकरणको नेतृत्व गर्ने चक्करमा थिए । उनले डा. आचार्यलाई भेट्न बोलाए । दुई इञ्जिनियर एक-अर्काबाट प्रभावित बने ।

‘डा. बाबुराम भट्टराईसँग मैले एक महिनाजति सहकार्य गरेँ । उहाँ भूकम्पपछिको पुनर्निमाणको नेतृत्व लिन चाहनुहुन्थ्यो । एउटा विज्ञ टिम बनाएर तयारी पनि थाल्नुभएको रहेछ । उहाँले आफ्नो टिममा मलाई पनि समावेश गर्नुभयो,’ आचार्य सुनाउँछन् ।

तर, आचार्य गाविस अध्यक्ष हुन नपाएजस्तै डा. भट्टराई पनि प्राधिकरणको सीईओ बन्न सकेनन् । विद्यालयको शिक्षक त राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिने देशमा विपक्षी पार्टीको नेतालाई तत्कालीन सरकारले किन यति महत्वपूर्ण जिम्मेवारी सुम्पिन्थ्यो ।

त्यसपछि डा. भट्टराईले पत्रकार सम्मेलन गरेर आफ्ना योजनाहरु सुनाएका थिए । त्यस पत्रकार सम्मेलनमा प्राविधिक विश्लेषण डा. आचार्यको थियो ।

अन्ततः डा. भट्टराई नेकपा माओवादीबाट अलग भए । त्यसपछि वैकल्पिक राजनीति गर्ने भन्दै उनी नयाँ पार्टी निर्माणको तयारीमा जुटे । आचार्यलाई उनले आफ्नो पार्टीको पहिलो लेयरमा आवद्ध हुन अफर गरे । तर, त्यतिबेलासम्म आचार्य बाबुरामसँग बिच्किइसकेका थिए ।

‘संविधान जारी हुने बेलामा उहाँले खेल्नुभएको भूमिका तथा कैलाली र जनकपुरमा गर्नुभएको भड्काउपूर्ण भाषणले गर्दा उहाँप्रति मेरो मोहभंग भइसकेको थियो,’ आचार्य भन्छन्, ‘तसर्थ मैले उहाँको प्रस्ताव स्वीकार्न सकिनँ ।’

बाबुराम भट्टराईका बारे विश्लेषण गर्दै उनी थप्छन्, ‘मैले डा. बाबुरामका दुई रुप देखेको छु ।  पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति सफा नियत र स्वस्थ उद्देश्यका साथ प्राधिकरणको सीईओ बन्न तयार हुने इगोविहीन र इमानदार नेता हुन् । तर, जातीय राजनीतिको मोहले उहाँको पहिलो व्यक्तित्व दबिन पुग्यो । उहाँ पुतली बन्ने क्षमता भएको व्यक्ति हो, तर गलत सिद्धान्तका कारण झुसिल्कीराबाट माथि उठ्न सक्नुभएन ।’

बैकल्पिक राजनीतिलाई नेतृत्व गर्न सक्ने सक्षम व्यक्ति भएर पनि वर्गीयताभन्दा जातीयतालाई प्रधान बनाउँदा डा. भट्टराईको राजनीतिको लय बिगि्रएको तर्क गर्छन् डा. आचार्य । सामाजिक न्यायप्रति डा. भट्टराईको निष्ठा र इमान्दारितालाई भने उनी अहिले पनि सम्मान गर्छन् ।

०००

डा. बाबुरामसँग छोटो संगतपछि टाढिएका डा. आचार्य ०७३ सालको मध्यतिरबाट रवीन्द्र मिश्रसँग निकट हुन पुगे । दुवैको मन मिल्यो । वर्तमान राजनीतिका विसंगतिहरुलाई लिएर उनीहरुको विश्लेषण एउटै थियो ।

वैकल्पिक राजनीतिक पार्टी निर्माणका लागि मिश्रले अरु केही प्रख्यात व्यक्तिहरुसँग छलफल चलाइसकेका थिए । सूर्यराज थपिएपछि उनको टिम थप बलियो भयो र जन्मियो साझा पार्टी ।

साझा पार्टीले अघिल्लो स्थानीय चुनाव र संसदीय चुनावमा प्रतिस्पर्धा गर्‍यो । संसदीय चुनावमा लड्दा साझा र विवेकशीलबीच एकता भएर विवेकशील-साझा पार्टी बनेको थियो । चुनावमा पार्टीको चर्चा जति भयो, नतिजा त्यसअनुसार आएन । राष्ट्रिय पार्टीको हैसियत प्राप्त भएन । तैपनि छोटो समयमै जनता राम्रो मत ल्याएको भन्दै नेताहरु उत्साही नै थिए । डा. आचार्य स्वयं काठमाडौं-२ बाट उम्मेदवार बनेका थिए । माधव नेपालले जितेको सो क्षेत्रमा उनले करिब ७ हजार भोट ल्याए ।

गत वर्ष विवेकशील-साझा पार्टीमा विग्रह आयो । जुटेको एक वर्षमै साझा र विवेकशील फुटेर आ-आफ्नै गुँडतर्फ फर्किए । यो फुटले पार्टीलाई गम्भीर क्षति पुगेको ठान्छन् डा. सूर्यराज ।

‘उक्त विभाजनले जनतामा हामीप्रति वितृष्णा बढायो । यिनीहरु पनि पुराना पार्टीभन्दा फरक रहेनछन् भन्ने निस्कर्षमा मतदाताहरु पुग्नुभयो’ आचार्य भन्छन्, ‘त्यसले गर्दा हामीलाई ठूलो ड्यामेज भएकै हो । यिनीहरु पनि उस्तै रहेछन् भन्ने छाप जनतामा पर्न गयो । तर, यो विभाजनमा साझा पार्टीको गल्ती थिएन ।’

त्यसो त पार्टी विभाजनमा अर्को पक्षलाई दोष लगाउनु नौलो कुरा होइन । तर, आचार्यको दाबी के छ भने त्यो फुटमा बाह्य तत्वको निणर्ायक हात छ ।

‘हामीले यो विषयलाई धेरै उछालेनौं, तर हामीसँग प्रमाण छ,’ आचार्यले ठोकुवा गरे, ‘त्यो विभाजन विवेकशीलका नेताहरुले होइन, अरु कसैले गराएको हो । कसले गराएको हो भनेर चाहिँ अहिले मलाई नसोध्नुस् ।’

नसोध्नुस् भनेपछि सोध्ने कुरा पनि आएन । त्यसैले अर्को प्रश्न उब्जाइयो ।

‘तपाईंमा साझा पार्टीप्रति निराशा उत्पन्न भएको चाहिँ कहिलेबाट हो ?’

‘पख्नुस न,’ उनीसँग अघिल्लो प्रश्नकै जवाफ बाँकी रहेछ ।

‘त्यसबेला म काठमाडौं बाहिर थिएँ । रवीन्द्रजी उहाँहरुसँग निरन्तर संवादमा हुनुहुन्थ्यो, म रवीन्द्रजीसँग निरन्तर संवादमा थिएँ । ढुक्क हुनुस, कुरा मिल्छ भनिरहनुभएको थियो । तर, एक्कासी उहाँहरु पार्टी दर्ता गर्नर् पुग्नुभयो । हामी सबै स्तब्ध भयौं । असन्तुष्टिलाई व्यवस्थापन गर्नै भ्याएनौं ।’

‘त्यही विभाजनदेखि हो कि तपाईर्मा पार्टीप्रति निराशा उत्पन्न भएको ?’ दोहोर्‍याएर सोधियो ।

‘पख्नुस न, म त्यसमा आउँछु,’ उनी भन्दै गए, ‘वास्तवमा उहाँहरु गुरिल्ला शैलीमा किन जानुभयो भनेर हामीले खोजीनिति गर्दा थाहा भयो कि बाहिरबाट चलखेल भएको रहेछ । तर, हामीले यो विषयलाई चर्काउन चाहेनौं । हामीले उहाँहरुलाई एक्सपोज गर्न किन चाहेनौं भने पछि यो युवा शक्ति हामीलाई फेरि आवश्यक पर्न सक्थ्यो ।

‘त्यही बिन्दूबाट निराशा उत्पन्न भएको हो ?’ अब उत्तर आउला कि ?

‘त्यसपछि हाम्रो पार्टीको संगठन विस्तारमा गतिरोध आयो । सोचेको गतिमा अघि बढ्न सकेनौं । हाम्रो चर्चा सामाजिक सञ्जालमा मात्रै सीमित थियो । लक्ष्यहरु टाढा-टाढा हुँदै गए । अनि, मैले समीक्षा गर्न थालेँ, कहाँ हामी चुक्यौं त । र, निस्कर्ष के निकालेँ भने पार्टी निर्माणमा नै हामीले आधारभूत गल्ती गरेका थियौं । हामी सुरुमै ग्रासरुटमा जानुपर्ने थियो । तर, हामी माथिबाट तल जान खोज्यौं । जगबाट निर्माण गरेको घर पो बलियो हुन्छ । पहिले छानो हालेर त्यसपछि जग खन्न थालेजस्तो भयो ।’

यस्तो निस्कर्षमा पुगेपछि आचार्यले पार्टीमा ‘क्रान्तिकारी’ प्रस्ताव लगे । पार्टीको नाम, झण्डा र केन्द्रीय संयोजकलाई यथावत् राखेर अरु सबै संरचनाहरु विघटन गरिदिने । एक हिसाबले पार्टी विनिर्माण गरेर शून्यबाट सुरु गर्ने । तर, उनले आफ्नो प्रस्ताव पार्टीबाट पारित गराउन सकेनन् । स्वयम् संयोजक रवीन्द्र मिश्र नै सहमत भएनन् । अहिले सबै संरचना भंग गर्दा झन् ठूलो निराशा फैलिएर फेरि पार्टी संगठित नै गर्न नसकिने हो कि भन्ने चिन्ता उनलाई थियो ।

डा. आचार्य भन्छन्, ‘उहाँको चिन्ता पनि नाजायज होइन । मेरो प्रस्तावअनुसार गएको भए जे पनि हुन सक्थ्यो । रवीन्द्रजीले भनेजस्तो भुईंको टिप्न खोज्दा पोल्टाको पनि पोखिन सक्थ्यो वा मैले सोचेजस्तो पार्टी पुनःगठित भएर नयाँ प्रस्थानविन्दुमा उभिन पनि सक्थ्यो । जे भए पनि पार्टीको केन्द्रीय समितिले यसलाई ग्रहण गर्न नसकेपछि म पार्टीभित्र बसिरहन नसक्ने अवस्था आयो ।’

‘तर, पार्टी नै त्याग्ने निर्णयमा पुग्न यति कारण पर्याप्त थियो त ? आफ्नो प्रस्ताव पारित नहुनासाथ पार्टी छोडेर हिँड्ने प्रवृत्ति वैकल्पिक राजनीतिका लागि सुहाउँदो हो त ? पार्टी प्रणालीमा बहुमतले लिने निर्णय नै सर्वोपरि हुँदैन ?’ एकै आशयका तीन प्रश्नले पेल्ने प्रयास ।

उनी गम्भीर भए ।

‘बडो महत्वपूर्ण प्रश्न गर्नुभो । आफूले भनेको कुरा नभएपछि पार्टी नै त्याग्नु ठीक होइन भन्ने मान्न सकिन्छ । तर, हाम्रो पार्टी अहिले पनि प्रारम्भिक अवस्थामै छ । तपाईंलाई एउटा उदाहरण दिन्छु । कुनै घरको जग खन्ने काम हुँदैछ भने त्यसको नक्शामा पुनर्विचार गर्न सकिन्छ नि । तर, ठडिइसकेको घरमा केही बदल्नुपर्‍यो भने गाह्रो हुन्छ । यदि साझा पार्टी जनतामाझ स्थापित भएर राष्ट्रिय पार्टीको हैसियत कायम गरिसकेको भए म सायद यसरी छोडेर हिँड्दैनथे होला ।’

‘आफूले भनेको नभएकै कारणले पार्टी छोड्ने भए मैले पहिल्यै छोडिसक्थेँ । पार्टीले गरेका केही निर्णयमा आफ्नो फरक मत हुँदा-हुँदै पनि त्यसलाई स्वीकारेर हिँडेको हुँ’ आचार्यले भने, ‘जस्तो कि जनमत संग्रहका सन्दर्भमा लिइएको निर्णयमा मेरो सहमति थिएन ।’

साझाले ६ महिना अगाडि संघीयता र धर्मनिरपेक्षताको विषयलाई जनमतसंग्रहबाट टुंग्याउनुपर्ने निर्णय लिएको थियो । सामाजिक सञ्जालमा अत्यधिक चर्चा भएको उक्त निर्णयमा आफ्नो फरक मत रहेको आचार्य बताउँछन् ।

‘प्रवक्ताको हैसियतले पार्टीको निर्णयलाई प्रतिरक्षा गर्नु मेरो धर्म थियो र गरेँ पनि । तर, त्यो निर्णयमा मेरो असहमति थियो । मैले पार्टीको वैठकमा भनेको थिएँ कि यो असान्दर्भिक विषय हो, हाम्रो पार्टीलाई सुहाउँदैन । मैले उदाहरण दिएर भनेको थिएँ, एउटा सुन्दर युवकले नाकमा फुली लगाएर हिँडेको जस्तै हुन्छ ।’

आचार्यको फरक मतका बाबजुद साझाले नाकमा फुली लगाउने औपचारिक निर्णय लियो । कतिले यो फुली सुहायो भनेर ताली बजाए, कतिले सुहाएन भनेर हियाए । जे भए पनि साझा अहिलेसम्म उक्त नीतिबाट विचलित भएको छैन ।

साझासँग आम जनतालाई आकषिर्त गर्ने कुनै ग्ल्यामरस मुद्दा नभएको वा विवादित राष्ट्रिय महत्वका विषयमा आफूलाई प्रष्टरुपमा उभ्याउन नसकेको आरोप पनि लाग्दै आएको छ । सम्भवतः यही आरोपलाई चिर्न पनि साझाले जनमत संग्रहको बोल्ड निर्णय लिएको थियो ।

तर, आचार्य भने पार्टी नीतिगतरुपमा कहिल्यै पनि अन्योलमा नरहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले हरेक इस्यूमा अरु पार्टीभन्दा पहिले र स्पष्टरुपमा आफ्नो अडान प्रस्तुत गरेका छौं । जस्तो कि नागरिकताको विषयलाई हेर्नुस् । हामीले तीनवटा विज्ञप्ति निकालेका छौं । वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको मापदण्ड राख्नुपर्ने हाम्रो प्रष्ट धारणा छ । एमसीसी पनि यथास्थितिमा पारित हुनुहुँदैन भनेर भनेका छौं । धर्मरिपेक्षता र संघीयताका विषयमा पनि बोलेकै छौं । कल्याणकारी राज्य र सुसंस्कृत राजनीति हाम्रो मुख्य अभिष्ट हुन् । अरु के स्पष्टता खोज्ने ?’

०००

साझाबाट निस्केपछि सूर्यराजलाई धेरैले सोधिरहेको प्रश्न हो, अब कुन पार्टीमा जाने ? कतिपयले भन्छन् पनि, अब नेकपातिरै हो ? सूर्यराजलाई ताज्जुब लाग्छ, अचम्म लाग्छ, आश्चर्य लाग्छ ।

‘म नेकपामा जान कुनै हालतमा सम्भव छैन,’ उनले भने ।

तर, तपाईंका टि्वटहरु हेर्दा त प्रधानमन्त्री केपी ओलीप्रति कतै न कतै सफ्ट कर्नर देखिन्छ नि ?’

उनले ख्वाक्क खोक्दै यसमा लामो जवाफ दिए ।

‘केपी ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा नाकाबन्दीको डटेर सामना गर्नुभएको हो । त्यसबेला ममात्र नभएर सिंगै देश उहाँको साथमा थियो । दोस्रोपटक दुई तिहाई बहुमतसहित प्रधानमन्त्री बन्दा उहाँबाट धेरै आशा गरिएको थियो । उहाँले अघि सार्नुभएको विकास-समृद्धिको एजेन्डामा मेरो र साझा पार्टीको पनि पूर्ण समर्थन थियो । तर, उहाँ आफ्नो एजेन्डाबमोजिम चल्न सक्नुभएन । विकास र समृद्धिको मुद्दामा उहाँले पूर्णरुपमा निराश बनाउनुभयो ।

‘सरकारको सय दिन पुग्दै गर्दा नै मैले निस्कर्ष निकालिसकेको थिएँ कि अब उहाँबाट केही हुनेवाला छैन । त्यसबेला मलाई एउटा पत्रिकामा सोधिएको थियो, सरकारको कामलाई १० मा कति अंक दिनुहुन्छ ? मैले भनेको थिएँ, सरकारले खास पाउने अंक त ४ हो, तर ६ लेखिदिनुस । अहिले सोध्नुहुन्छ भने म ४ अंक पनि दिन सक्दिनँ । सरकार चौतर्फीरुपमा असफल भएको छ । प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम गर्नुभएको छैन, नगर्नुपर्ने काम सबै गर्नुभएको छ ।’

‘त्यसोभए ओलीले सरकार छोड्नुपर्छ भन्ने निस्कर्षमा पुग्नुभएको हो ?’

उनी अलि सोचमग्न भए ।

‘यसमा दुईवटा पक्ष विचार गर्नुपर्छ । सरकारको अकर्मण्यता र असफलता मात्रै हेर्ने हो भने ओलीले जतिसक्दो चाँडो राजीनामा दिनु उचित हुन्छ । अर्को पाटोबाट हेर्दा के छ भने ओलीले राष्ट्रवादको उभार ल्याउनुभएको छ । उहाँको सरकार ढाल्नका लागि वैदेशिक चलखेल बढिरहेको पनि सत्य नै हो । तसर्थ, अहिले सरकार ढालियो भने विदेशीको दबावमा ढालिएको भन्ने अर्थ लाग्न सक्छ । एक हिसाबले ओलीले हामीलाई ट्र्यापमा पार्नुभएको छ ।’

‘केपी ओली अमर्यादितरुपमा सरकारबाट बर्खास्त गरिनुपर्ने गएगुज्रेको नेता पनि होइन । उहाँका राम्रा पक्षहरु पनि छन् । खासगरी राष्ट्रियताको सम्वर्द्धनमा खेलेको भूमिकाले जनताको एउटा तप्कामा अझै पनि लोकपि्रय हुनुहुन्छ । कथित पहिचान र जातीय राजनीतिको विपक्षमा उहाँले लिएका अडानहरुको सह्राहना गर्नैपर्छ । उहाँको ‘पि्रजेन्स अफ माइन्ड’ अत्यन्तै तीक्ष्ण छ । हाजिरी जवाफ शैलीमा जवाफ दिन सक्नुहुन्छ । उखान-टुक्का मिलाएर बोल्न जान्नु पनि एउटा कला हो नि । त्यो सबैलाई आउँदैन ।

यी सबैका बाबजुद असान्दर्भिक र अनावश्यक अभिव्यक्तिहरुमार्फत उहाँले आफ्नो खुट्टामा आफैं बन्चरो हानिरहनुभएको छ । आफ्नो लोकपि्रयतालाई रसातलमा पुर्‍याउनुभएको छ । ऐतिहासिक अवसरलाई खेर फाल्नुभएको छ ।

गतिरोध अन्त्यका लागि आचार्यले बीचको बाटो निकाले ।

‘मेरो बिचारमा ओलीलाई उहाँको पृष्ठभूमिसमेत ख्याल गरेर आफ्नो छवि सुधार्ने मौका दिनुपर्छ । आत्मालोचनाको माध्यमबाट आफ्नो छवि सुधारेर केही महिनापछि मर्यादितरुपमा आफैंले राजीनामा दिनु ओली र देश दुवैको हितमा हुन्छ । तर, कुर्सीबाट टसमस नभई अढाई वर्ष सरकार चलाउँछु भन्नेखालको पदलोलुपता र अहंकार देखाइयो भने अमर्यादित बहिर्गमनको अवस्था पनि आउन सक्छ ।’

ओलीले यदि राजीनामा दिए वा सरकार ढल्यो भने उनीपछिको विकल्प को त ? आमनेपालीहरु जस्तै आचार्य पनि यसमा अलमल नै देखिए ।

‘अहिले जो चारजना शीर्षनेता हुनुहुन्छ, उहाँहरुमध्ये कोही प्रधानमन्त्री भएर तात्विक अन्तर होलाजस्तो लाग्दैन । सैद्धान्तिकरुपमा भन्नुपर्दा अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु उत्तम विकल्प हो । तर, नेकपाका युवा अनुहारहरु हेर्दा धेरै आशावादी हुने ठाउँ पनि छैन ।’

त्यसपछि उनी केहीबेर घोत्लिए ।

अनि भने, ‘मलाई लाग्छ, अहिलेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एक विकल्प हुन सक्छन् । अरु नामहरु लिनुपर्दा, सुभास नेम्वाङ, घनश्याम भुसाल, वर्षमान पुन, जनार्दन शर्मामध्ये कोही एकलाई जाँच्न सकिन्छ ।’

तीन महिना अगाडि केपी ओलीको सरकार संकटमा पर्दा नागरिक अगुवाहरुको नाममा विज्ञप्ति जारी गरिएको थियो । उक्त विज्ञप्तिमा आचार्यले पनि हस्ताक्षर गरेका थिए । बहुमतको सरकार ढालेर देशमा अस्थिरता पैदा गर्न नहुने उक्त विज्ञप्तिको आशय थियो ।

केही दिन अगाडि अगुवाहरुको नाममा फेरि विज्ञप्ति आयो । पहिलेभन्दा अलि अस्पष्ट भए पनि भाव लगभग उस्तै थिए । तर, यसपालिको विज्ञप्तिमा सूर्यराजले हस्ताक्षर गरेनन् ।

तीन महिनाअघि सरकार परिवर्तनको विपक्षमा उभिएका सूर्यराज अहिले युटर्न भएका हुन् त ?

उनी भन्छन्, ‘होइन । त्यसबेला पनि सरकार असफल भएको कुरामा मलाई सन्देह थिएन । तर, परिस्थिति यस्तो थियो कि सरकार परिवर्तनले झन् गम्भीर परिस्थिति सिर्जना गर्न सक्थ्यो । हप्ता-दश दिनभित्र बजेट ल्याउनुपर्ने थियो । कोरोनाको संकट उत्कर्षमा पुगेको अवस्था थियो । अर्को कुरा, विदेशी तत्वहरुले पनि चलखेल गरिरहेका थिए । यस्तोबेला सरकार परिवर्तनले अर्को अनिश्चिचता निम्त्याउने चिन्ताले मात्रै मैले त्यसमा हस्ताक्षर गरेको हुँ, ओली सरकार नै अपरिहार्य छ भनेर होइन ।’

तीनमध्ये दुई परिस्थिति अहिले पनि उही नै छैन र ? उनले थप तर्क गर्न चाहेनन् ।

‘त्यो त हो । तर, मैले माथि नै भनिसकेँ नि…’

०००

सामाजिक सञ्जालमा साझा पार्टीका नेताहरुको निकै प्रभावशाली उपस्थिति देखिने गर्छ । सम्भवतः यही कारणले पार्टीका निर्णय एवं विवादहरुलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा हुन्छ ।

आचार्य पनि टि्वटरका सक्रिय प्रयोगकर्ता हुन् । उनका करिब अढाइ लाख फलोअर्स छन् । संयोजक रवीन्द्र मिश्र त टि्वटरमा सर्वाधिक पछ्याइएका नेताहरुभित्र पर्छन् । उनका १० लाख फलोअर्स छन् ।

नेताहरुका लागि सामाजिक सञ्जाल गालीको स्रोत हो । जतिसुकै ‘लोकपि्रय’ नेताले पनि सामाजिक सञ्जालमा निम्नस्तरको गाली सहनै पर्छ । आचार्य पनि यसबाट अछुतो छैनन् । सरकारको विरोधमा टि्वट लेख्यो भने ‘अरिंगालहरु’ खनिन्छन् । थोरै सहानुभूति वा समर्थन दर्शायो भने सरकारविरोधीहरु जाइलाग्छन् । यथार्थलाई ढाकछोप गरेर दहीच्यूरे तर्क गर्न उनको स्वभावले दिँदैन ।

सामाजिक सञ्जालमा आउने उछृंखल टिप्पणीहरुलाई लिएर सूर्यराजले आफ्नै सिद्धान्त बनाएका छन् । पढ्ने र बिर्सिने ।

‘टिप्पणीहरु पढ्नु त पर्छ किनकि कतिपय निकै मननयोग्य पनि हुन्छन् । तर, कतिपय चाहिँ पूर्वाग्रही र उछृंखल हुन्छन् । खासगरी बेनामी अकाउन्टहरुबाट आउने प्रतिक्रियाहरु मनन गर्न लायक हुन्नन् । मलाई यस्ता प्रतिक्रियाहरुले धेरै असर गर्दैन । छिचरा प्रतिक्रयाहरुलाई वेवास्ता गर्ने हो । म ब्लकचाहिँ कसैलाई पनि गर्दिनँ ।’

०००

पार्टीको केन्द्रीय समितिले आफ्नो प्रस्तावलाई स्वीकार नगरेपछि आचार्यले साझाबाट बाहिरिने मनस्थिति बनाए । करिब दुई महिनासम्म रवीन्द्र मिश्रसँग उनको बारम्बार छलफल र बहस भयो । तर, उनले चाहेको निस्कर्ष निस्किएन ।

अर्का नेता मुमाराम खनाल पनि नेतृत्वसँग सन्तुष्ट थिएनन् । यद्यपि, मुमाराम र आफूले एकैसाथ छोड्नु संयोग मात्रै भएको आचार्य बताउँछन् ।

‘पार्टी पुनर्निमाणका विषयमा उहाँको र मेरो मत मिलेको हो । तर, हामीले सल्लाह गरेर एकैसाथ छोडेको होइन । मभन्दा पहिल्यै उहाँले राजीनामा दिइसक्नुभएको थियो,’ उनले प्रष्ट्याए ।

अर्को संयोग पनि परेको छ । फुटेर गएको विवेकशील पार्टीसँग पुन एकीकरणको कसरत सुरु भएलगत्तै सूर्यराज निस्कनुले उनी एकीकरणको पक्षमा थिएनन् कि भन्ने धेरैले आशंका गरेका छन् ।

सूर्यराज भन्छन्, ‘स्याल कराउनु र कुखुरा हराउनु एकैचोटि भएको जस्तो मात्रै हो । एकीकरणको विषयमा मेरो फरक मत होइन । तर, पहिले किन फुटिएको थियो भन्ने वस्तुनिष्ठ समीक्षा र भविश्यमा फेरि नफुट्ने आधारहरु पहिल्याएर मात्रै एकतामा जानुपर्छ भन्ने विचारचाहिँ मैले राखेकै हो ।’

साझाबाट निस्कँदै गर्दा उनी स्वयम् निकै दुःखी छन् ।

आचार्य भन्छन्, ‘मेरो अनुहार हेरेर वा मप्रति आशा राखेर साझा पार्टीमा आउने सानै भए पनि समूह छ । उहाँहरुलाई के जवाफ दिने भनेर ‘गिल्टी फिल’ भइरहेको छ । यसैगरी पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पनि यात्रामा साथ छोडेकोमा दुःखी छु ।’

पार्टी छोडेर फुसर्दिला भएका आचार्य कुनै राजनीतिक नियुक्तिको चक्करमा नलाग्ने बताउँछन् ।

‘म कुनै नेताको दौराको फेर समातेर राजनीतिक नियुक्ति खानुपर्ने मान्छे होइन । मेरो विज्ञता के हो, विगतमा मैले के काम गर्थेँ, आफैं जानकारी लिनुस् । टोकियोमा मेरो के हैसियत थियो, आफैं बुझ्नुस् । मेरा गुरु, सहकर्मी को थिए, आफैं पत्ता लगाउनुस् । अहिले पनि मलाई अन्तर्राष्ट्रिय बजारमा अवसर छ । तर, पनि किन एउटा कलेजमा चक-डस्टर गरिरहेको छु ? आफंै पर्गेल्नुस् ।’

‘ममा वैकल्पिक राजनीतिको तिर्खा मेटिएको छैन । त्यसैले अब पनि मेरो गतिविधि वैकल्पिक राजनीतिकै  सेरोफेरोमा हुने छ । साझा पार्टीमा नरहनुभएका तर वैकल्पिक राजनीतिमा आशा राख्नुभएका जनतालाई गोलबन्द गर्ने प्रयास गर्ने छु ।

तर, नयाँ पार्टी खोलेर त्यसको नेतृत्व गर्ने मेरो कुनै मनसाय छैन । म पार्टीको नेतृत्व गर्न योग्य व्यक्त पनि होइन । मलाई आफ्नो सीमा थाहा छ । तसर्थ जति साथीहरुलाई गोलबन्द गर्न सक्छु, उहाँहरुलाई साझामै लिएर जाने हो । म आफैं पनि केही समयपछि साझामा नफर्किने कुनै ग्यारेन्टी छैन ।’

आचार्यको रोचक पञ्चलाइन अन्तिममा आयो ।

‘साझाबाट बाहिरिएर मैले एकदमै ठीक निर्णय लिएँ भन्न सक्दिनँ । भविश्यमा म पछुताउन पनि सक्छु ।’

लेखक
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?