Comments Add Comment

फर्किए ३१ हजार नेपाली, ५० हजारभन्दा बढी उद्धारको प्रतिक्षामा

४ साउन, काठमाडौं । सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिइएको छ । केही दूतावासहरुले सम्बन्धित देशको विमानमार्फत पनि नेपालीलाई फर्काएका छन् भने कुवेतले आफ्नै खर्चमा जजिरा एयरलाइन्समार्फत आममाफी पाएर क्याम्पमा बसिरहेका नेपाली श्रमिक फर्काइरहेको छ ।

अहिलेसम्म करिब २९ हजार नेपाली आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् भने कुवेतले २ हजारभन्दा बढी नेपालीलाई उसकै खर्चमा फिर्ता ल्याइदिएको छ । सरकारले जेठ २३ गतेबाट ‘उद्धार उडान’ सुरु गरेको थियो ।

सरकारी तथ्यांकअनुसार १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् । सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किरहेको देखिन्छ । शनिबारसम्म ७ हजार १९६ जना नेपाली यूएईबाट फिर्ता भएका छन् ।

कुवेतबाट ५ हजार ५४९ जना र साउदी अरेबियाबाट ५ हजार ५५ जना फर्किसकेका छन् । कतारबाट ३ हजार ३२९ र मलेसियाबाट ३ हजार २ सय २६ नेपाली स्वदेश आएका छन् ।

बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अष्ट्रेलियाबाट ६३४ जना नेपाली चार्टर्ड उडानको टिकट काटेर फर्किएका छन् ।

ओमानबाट ४९२, दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, बेलायतबाट २२९ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

सिंगापुरबाट १४६, इजरायलबाट १२७, फिलिपिन्सबाट १०८ र चीनबाट १०५ जनालाई फर्काइएको छ । अफगानिस्तान, म्यान्मार, श्रीलंका, हङकङ, पाकिस्तान र टर्कीबाट पनि नेपालीहरु फर्किएका छन् ।

दैनिक संख्या थपिँदै

अब विदेशमा अलपत्र परेर फर्किनुपर्ने अवस्थामा करिब ५० हजार नेपालीहरु रहेको अनुमान छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने अझै ५० हजार नेपाली स्वदेश फर्किन उडान कुरिरहेको अनुमान गरिएको बताउँछन् ।

साउन ७ गतेसम्मको चार्टर्ड फ्लाइटको तालिका स्वीकृत गरेर अहिले उद्धार उडान भइरहेको छ । उच्चस्तरीय कोभिड नियन्त्रण व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पनि उद्धार उडानबारे गम्भीर समीक्षा भइरहेको भन्दै सहसचिव लामिछानेले उपयुक्त समयमा नियमित उडान खोल्नेबारे पनि विचार भइरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारी दैनिकजसो दूतावासमा नेपाल फर्किन चाहानेको सूची परिवर्तन भइरहेकाले संख्या एकीन गर्न नसकिएको बताउँछन् ।

‘कतिपयले नाम दर्ता गरेर पनि त्यहाँ संक्रमण न्युन भएपछि आउने योजना स्थगित गर्नुभएको छ, कतिपय नयाँ व्यक्तिले दिनदिनै उद्धारको लागि फार भर्दै हुनुहुन्छ,’ अधिकारी,’अहिले हामी यति नै नेपालीलाई फर्काउनुपर्छ भन्ने संख्या भन्न सक्ने अवस्थामा छैनौं ।’

अब नसक्नेलाई टिकट

सरकारले हालसालै विदेशमा अलपत्र नेपालीको उद्धार गर्नेसम्बन्धी निर्देशिका जारी गरेको  छ । अब विदेशमा टिकट काट्न नसकेर अलपत्र परेका नेपाली फर्काउन सहज हुने अपेक्षा गरिएको छ ।

अलपत्र नेपालीलाई सकेसम्म सम्बन्धित कम्पनीकै खर्चमा स्वदेश फर्काउने र सम्भव नभए सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषको उपयोग गर्ने नीति लिएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरे बताउँछन् ।

‘टिकट काट्न नकसेर कोही नेपाली अलपत्र पर्नुपर्ने अवस्था रहँदैन,’ घिमिरे भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment