Comments Add Comment

१२ कक्षाका विद्यार्थीको भविष्यबारे चिन्ता

राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७६/०७७ मा कक्षा १२ का विद्यार्थीहरु नियमिततर्फ करिव ३ लाख १० हजार ५९ छन् । आंशिकतर्फ १ लाख २१ हजार २ सय ७७ जना विद्यार्थीहरु कक्षा १२ को २०७७ बैशाख ८ गतेबाट हुने परीक्षाको तयारीमा बसिरहेका थिए । हाल यी विद्यार्थीहरु अनिर्णित परीक्षाको मिति, परीक्षाको नतिजा र भविष्य के बन्ने र कुन विश्वविद्यालयमा अध्ययन गर्ने, अन्योलमा रुमलिइरहेका छन् ।

कक्षा १२ का विद्यार्थीहरुसँग अनलाइनमा भएका कुराकानीबाट आएका उनीहरुका केही प्रतिनिधिमूलक अनुभव यस्ता छन्:

– हाम्रो कलेजमा नियमित कक्षा फागुनको १७/१८ गतेदेखि औपचारिक बन्द भएको छ। त्यसपछि ट्युसन को तयारी तथा खोजी गर्दा गर्दै लक डाउन भयो ।केही समय त जाँच हुन्छ होला भनेर पढियो । तर, पछि जाँच हुने केही छाँटकाँट भएन। अब पढ्न पनि मन लाग्दैन , कतै जानु नि छैन । कोठाभित्र बस्यो, मोबाईलमा साथीहरुसँग गेम खेल्यो, दिन काट्यो । साह्रै तनाव भएको छ । (निजी विद्यालयका छात्र ललितपुर, विज्ञान)

– हाम्रो परीक्षा पनि भएन, आन्तरिक मूल्याङ्कन पनि भएन । न अनलाइन कक्षा छ। अब त पढेको पनि भुल्न थालियो । न घर बाहिर जाउँ भन्नु । न ट्युसन पढुँ भन्‍नु । साह्रै गाह्रो भएको छ। अब त डिप्रेसन हुन थालिसक्यो। खै के हुन्छ, हाम्रो परीक्षा आन्तरिक मूल्याङ्कन ? दिक्क लागिसक्यो । अब त राति निन्द्रा पनि लाग्न छोडिसक्यो। अहिले त युट्युब हेर्ने, गेम खेल्ने गरेर दिन बितेको छ । (छात्र, काठमाण्डौं, विज्ञान, निजी विद्यालय)

–गएको ५/६ महिनादेखि न जाँच भयो । न कक्षा सञ्चालन भैराखेको छ । अरु तहको त के गर्ने, नगर्ने निधो भयो, हाम्रो त बिजोग भएको छ ।पढेको पनि भुल्दै गइयो । न अनलाइन क्लासबाट सपोर्ट छ । अब त जाँच भए पनि फेल भइन्छ होला । पढ्न पनि मनै लाग्दैन । पढुम भने जाँच हुँदैन कि ? भए पनि कहिले हुने हो, पत्तै हुदैन । (छात्रा व्यवस्थापन, रुपन्देही)

– अब जाँच पनि भएन, पढेको पनि सबै भुलियो जस्तो लाग्न थाल्यो । ५/६ महिना भैसक्यो कलेज छुटेको । आफै मात्र पढेर हुँदैन । न साथीहरुसँग छलफल हुन्छ, न अनलाइन क्लास भन्‍ने छ।म त परीक्षा दिन्न हो । लक डाउन खुलेपछि ब्युटी पार्लर खोलेर बस्ने विचार छ । (छात्रा सरकारी, मानविकी, कपिलवस्तु)

– कोरोनाले त के भयो भयो । हाम्रो पढाइ र भविष्य सबै डामाडोल भयो। परीक्षा हुन्छ कि हुन्न होला । भयो भने पनि क्लास, कोचिङ, ट्युसन केही पढ्न नि पाइएन। पढेको पनि भुलियो । पढौं भने पनि कति पढ्ने मरिने हो कि बाँच्ने, के हुने हो थाहा छैन ।हाम्रो पनि स्कुलले नै जाँच लिन्छ कि के हुन्छ, लौन अब त निधो गरिदिए पनि हुन्थ्यो । जे भए पनि टुङ्गो लागे हुन्थ्यो । दिक्क लाग्छ, हाम्रै पालामा यस्तो हुनुपर्ने, सोच्दा सोच्दा तनाव भै सक्यो । (छात्रा, रुपन्देही, व्यवस्थापन)

यी त भए केही प्रतिनिधिमूलक उदाहरणहरु हुन् जसले विद्यार्थीहरुको हालको अवस्थालाई उजागर गरेको छ। यसरी विद्यार्थीको सिकाई, मानसिक स्वास्थ्य र उनीहरु ड्रपआउट हुने अवस्थामा समेत शिक्षा मन्त्रालय, विद्यालय र जिम्मेवार निकाय किन मौन बसेका छन्, यो आश्‍चर्यलाग्दो विषय भएको छ ।

अन्योलपूर्ण अवस्था

विगत ५/६ महिनादेखि उनीहरुको विद्यालयले लिने नियमित सिकाई कक्षाहरु ठप्प भएका छन् । अर्कोतर्फ परीक्षाको तयारीमा रहेका उनीहरुको परीक्षा पनि हुन सकिरहेको छैन ।

अन्य कक्षा तथा तहहरुको जस्तो– कक्षा १२ का विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालय र जिम्मेवार निकायहरुले अन लाइन क्लास तथा आन्तरिक मूल्याङ्कन पनि गर्ने गरेका छैनन्, र ५/६ महिनादेखि लकडाउन, र हालको स्थितिमा लकडाउन हल्का खुकुलो रहेको परिस्थितिमा उत्तर किशोर अवस्थामा पुगेका बालबालिकाहरु अन्योलको जीवन, भविष्यप्रति चिन्ताले तनाव ग्रस्त हुँदै घर र कोठाहरुभित्र सीमित हुन बाध्य बनेका छन् ।

किशोर अवस्था भनेको अत्यन्तै भावनात्मकरुपमा कमजोर हुने अवस्था हो शारीरीक/मानसिक, संवेगात्मक/सामाजिक विकासका साथै संवेगात्मक रुपमा अनियन्त्रित हुने अवस्था पनि हो।जसका कारणले सानो सानो कुरा र समस्याहरुमा पनि उनीहरु बिचलित हुने हुँदा दैनिक जीवन, स्वास्थ्य र शिक्षामा समेत असर पार्ने हुन्छ।यस्तो संवेदनशील उमेरमा उनीहरु कोठाभित्र बसेर सिकाई उपलब्धी मूल्याङ्कन र भविष्यको अन्योलपूर्ण दिन काटिरहेका छन् ।

हालको यस कोभिड १९ ले निम्त्याएको संकटको परिस्थितिमा विभिन्‍न तहका विद्यार्थीहरुको स्तर उन्नति विद्यालयहरुले आन्तरिक मूल्याङ्कनका आधारमा गरे भने कोही यस्तो गर्ने तयारीमा छन् । यसै सन्दर्भमा ए लेवल तहको पनि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर अन्तिम मूल्याङ्कन भैसकेको छ ।

विभिन्‍न विश्व विद्यालयले पनि अनलाइनमार्फत कक्षा चलाउँदै आन्तरिक अनलाइन र मूल्याङ्कनको तयारी गरिरहँदा कक्षा १२ का विद्यार्थीको मानसिक स्वास्थ्य, सिकाई, मूल्याङ्कन र भविष्यप्रति सरकार, शिक्षा मन्त्रालय, विद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतका जिम्मेवार निकाय मौन देखिएका छन् ।

के यी विद्यार्थीहरुप्रति सरोकार वाला निकायको जिम्मेवारी छैन ? के यी विद्यार्थीहरु राष्ट्रका भविष्यका कर्णधार,तथा हकदार हैनन् ? त्यसैले यस विषयमा सरोकारवाला निकायले छिट्टै कुनै पहलकदमी चाल्ने वेला आइसकेको छ ।

यो स्थितिमा वाल बालिकाहरु आफ्नो भविष्यप्रति चिन्ता गर्दै विभिन्‍न अनलाइन साइटहरुमा आफूलाई भुलाउने प्रयत्न गरिरहेका छन्, जसबाट राम्रा कुराहरु मात्र सिकिरहेका छन् भनेर ठोकुवा गर्न सकिन्न । र, अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई सम्झाउँदा वा गाली गर्दा उनीहरु झर्को मान्ने, गलत कदम उठाउन कि भनेर डराउने परिस्थितिले अन्योलमा छन् । त्यसैले यस्तो अवस्थाले बालबालिकाहरुको जीवन सिकाई, शिक्षा मात्र होइन कि मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने देखिन्छ ।

निकास के हो ?

के कक्षा १२ का विद्यार्थीका लागि कुनै निकास नै नभएको हो त ? फागुनदेखि कक्षा बन्द गर्ने । तर, शुल्क असारसम्म लिने विद्यालयहरुले के तयारी गरेका छन् र तिनको जिम्मेवारी कसरी निभाइरहेका छन् ? शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्डको योजना के छ ? यस विषयमा विद्यार्थी अभिभावकलाई जानकारी गराइएको छ कि छैन ? विद्यार्थीको सिकाई, स्वास्थ्य र भविष्यप्रति जिम्मेबार निकायको यो गैरजिम्मेवारीपन र खेलवाडले विद्यार्थीहरुको सिकाई, सिकाइप्रतिको रुचि, सम्वेगात्मक तथा मानसिक स्वास्थ्यमा समेत असर पर्न सक्छ ।

त्यसैले यस्तो अवस्थामा छिटोभन्दा छिटो उनीहरुका लागि सरोकार वाला निकायले बैकल्पिक उपाय अपनाएर उनीहरुको सिकाइको मूल्याङ्कन गरी स्तरोन्नति गर्नका लागि पहल गर्नुपर्ने देखिन्छ र यसका केही वैकल्पिक उपायहरु तलका मध्ये कुनै उपयुक्त हुन सक्छन् ।

१. आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई आधार बनाउने ।

२. परीक्षालाई सम्बन्धित विद्यालयहरुले स्वास्थ्य र सामाजिक दुरी कायम गर्दै स्पष्ट र निष्पक्ष परीक्षा सञ्चालन गर्ने ।

३. नजिकको वा विद्यार्थीहरुलाई पायक पर्ने विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यप्रति सचेत हुँदै परीक्षा सञ्चालन गर्न सक्ने विद्यालयहरुलाई व्यवस्थित तवरले सञ्चालन गर्ने वातावरण मिलाउने ।

४. कोभिड-१९ को असरका आधारमा विभिन्‍न स्थानहरुमा चरणवद्ध परीक्षा सञ्चालन गर्ने ।

५.अनलाइनबाट परीक्षा सञ्चालन गर्ने ।

यसरी, माथि उल्लेखित तरिकाहरुलगायत अन्य कुनै बैकल्पिक बाटो अपनाएर यो असहज परिस्थितिमा कक्षा १२ का विद्यार्थीहरुको मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।

अन्यथा, झण्डै साढे चार लाख विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने देखिन्छ र यसको मूल्य देशले लामो समयसम्म चुकाउनुपर्ने हुन सक्छ । तसर्थ यससँग सरोकारवाला निकायहरुले समयमै सजग भएर बैकल्पिक बाटो अपनाई बालबालिकाप्रति जवाफदेखि हुन अत्यन्त जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

सेलिब्रिटी एक भ्रम

Advertisment