Comments Add Comment

संसदीय समितिमा नेपाली मिडियाबारे छलफल

६ साउन, काठमाडौं । मंगलबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा नेपाली सञ्चारमाध्यम र तिनमा कार्यरत श्रमजिवी पत्रकार एवं कर्मचारीहरुका विषयमा छलफल थियो ।

कोरोना महामारी र यसले पारेका असरका बारेमा छलफल गर्न नेपाल पत्रकार महासंघ र सञ्चारसंवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिलाई छलफलमा बोलाइएको थियो ।

छलफलमा सहभागी महासंघका महासचिव रमेश विष्टलगायतले कोभिड–१९ को बहाना बनाएर मिडिया सञ्चालकले पत्रकारलाई जागिरबाट निकाल्न थालेको बताए ।

मिडिया सञ्चालकहरुले भने सरकारले सहयोग नगरेको गूनासो गरे । ‘मिडियालाई सेवामूलक उद्योगमा राखौं भन्ने माग धेरै पहिलेदेखिको हो । सेवामूलक उद्योगमा राख्दा केही सहुलियत पाउने कुरा हुन्थ्यो त्यो भएको छैन’, नेपाल मिडिया सोसाइटीको अध्यक्ष शुभशंकर कंडेलले भने, ‘मौद्रिक नीतिले केही सम्बोधन गर्छ कि भन्ने लागेको थियो । त्यस अनुसार आएन ।’

ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने पनि मिडियालाई सरकारले सहुलियत नदिएको बताए ।

सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुवास खतिवडाले रेडियो नविकरण शतप्रतिशत छुट दिएको भन्दै सरकारलाई धन्यवाद दिए । श्रमजीवि पत्रकारलाई न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने विषयमा बहस र छलफल गर्न तयार रहेको उनले बताए ।

पत्रकारका नेता र मिडिया सञ्चालकका कुरा सुनेपछि सांसदहरुले पत्रकारिता क्षेत्रमा रहेको नकारात्मक कुरा पनि भुल्न नहुनेमा जोड दिए । सञ्चार माध्यम एक पक्षीय हुने पनि उनीहरुले बताए ।

तर, नेपाली मिडिया भन्दा भारतीय मिडिया अझ धेरै तल्लो स्तरको पाइएको भन्दै केही सांसदले भारतीय मिडियालाई गाली गरे । नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले भारतीय मिडियालाई ‘तीनपाने रक्सी’ भने ।

‘भारतीय मिडियाले हाम्रो देशको प्रधानमन्त्रीलाई गाली गरे । त्यसले हाम्रो चित्त दुखेको छ’ विष्टले भने, ‘भारतीय मिडिया तीनपाने स्तरको छ ।’

नेपाली कांग्रेसकै सांसद जीपछिरिङ लामाले पत्रकारिता र पत्रकार पार्टीगत हुन नहुने बताए । ‘पत्रकार पार्टीगत हुन हुँदैन । निष्पक्ष हुनुपर्छ । स्वतन्त्र हुनुपर्छ । कसैको पक्ष र विपक्षमा रहन हुँदैन । तर, म यस्तो देख्दिन’ लामाले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गणेशकुमार पहाडीले कोभिड– १९ भन्दा अगाडि पनि नेपाली मिडियामा समस्या रहेको बताए ।

कोभिड–१९ लाई देखाएर स्थायी नियुक्तिपत्र लिएका पत्रकारलाई करारमा झार्नेलगायतका कार्य गर्ने, वा अपायक ठाउँमा सरुवा गर्ने गरेको भन्दै यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोनालाई देखाएर श्रमजीवी पत्रकारलाई कामविहीन बनाउन नपाइने बताए ।

रेडियो नवीकरणमा शतप्रतिशत छुट दिएको, सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको उल्लेख गर्दै मन्त्री खतिवडाले सरकारले मिडिया सञ्चालकलाई सक्दो सहयोग र सहुलियत दिएको बताए ।

श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको उनको भनाइ छ । सञ्चारमाध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्ग्याउन सकिने पनि मन्त्री खतिवडाले बताए ।

यो पनि पढ्नुहोस सञ्चार माध्यमको लगानी पारदर्शी बनाइन्छ : मन्त्री खतिवडा यो पनि पढ्नुहोस सञ्चारगृहलाई राहत दिन संसदीय समितिको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment