+
+
Shares

कपिलवस्तुमा वडाध्यक्षहरुले मागे कोरोना जोखिम भत्ता

टोपराज शर्मा टोपराज शर्मा
२०७७ साउन ७ गते १७:३९

७ साउन, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिकाका वडाध्यक्षहरुले कर्मचारीले जस्तै आफूहरुले पनि कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गरेका छन् ।

जिल्लाको सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको गाउँपालिकाका वडाध्यक्षले पनि भत्ता पाउनु पर्ने माग गरेपछि विवाद हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरुले आर्थिक वर्ष सकिँदासमेत कोरोना जोखिम भत्ता पाउन सकेका छैनन् ।

गाउँ कार्यपालिकाको बैठकमा कर्मचारीहरुले नियमअनुसार जोखिम भत्ता पाउनुपर्ने माग गरेका थिए । तर वडाध्यक्षहरुले विरोध जनाउँदै कर्मचारीभन्दा आफूहरु क्वारेन्टिन र आइसोलेसन सेन्टरमा बढी खटेकाले आफूहरुले भत्ता पाउनुपर्ने माग गरे ।

८ वटा वडा रहेको यशोधरामा एकजना वाहेक सबै वडाध्यक्षहरु आफूहरुले पनि भत्ता पाउनुपर्छ भन्दै विरोधमा उत्रिएका हुन् । ‘वडा न‌ं. ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले मात्रै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिनुपर्छ भन्ने आवाज उठाए, तीन चारजना वडा अध्यक्षहरुले खुलेरै कर्मचारीलाई मात्रै भत्ता दिने कुराको विरोध गरे, त्यसपछि अरु वडाध्यक्षहरुले पनि उनीहरुलाई समर्थन जनाए,’ स्वास्थ्य शाखाका एक कर्मचारीले भने ।

वडाध्यक्षहरुले कर्मचारीहरु भन्दा आफूहरु बढी खटिएकोले भत्ता पाउनु पर्ने भन्दै कड्किएपछि कर्मचारीको भत्ताबारे निर्णय हुन नसकेको उनको भनाइ छ ।

कर्मचारीहरुले तीन पटकसम्म बोर्ड वैठकमा जोखिम भत्ताको निर्णय गरिदिन माग गरेको र काम रोक्ने चेतावनी दिएपछि बल्ल गाउँपालिका अध्यक्षले १५ दिनभित्र निर्णय गरेर भत्ता दिने आश्वासन दिएको स्वास्थ्य शाखा संयोजक ज्योतिकुमार दुबेले बताए ।

सेवा ठप्प पार्ने चेतावनी

यशोधरामा ८ वटा स्वास्थ्य केन्द्रमा ६० जना कर्मचारी कार्यरत छन् । उनीहरुले जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको बैठकले कर्मचारीले जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ मा उल्लेख भएअनुसार पाउनुपर्ने जोखिम भत्ता नपाएस्वास्थ्य सेवा नै ठप्प पार्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रसाद दुबेले बताए ।

यशोधरा गाउँपालिकाले कोरोना संक्रमण सचेतना, राहत र व्यवस्थापनमा २ करोड २८ लाख बढी रकम खर्च गरेको स्वास्थ्य शाखा प्रमुख दुबेको भनाइ छ ।

गाउँपालिकाका प्रमुख गिरजेशकुमार पाण्डेले भने बजेट अभावका कारण अघिल्लो आर्थिक वर्षमा दिन नसकिएको जोखिम भत्ता नयाँ बजेटबाट व्यवस्था गरेर दिइने बताए ।

‘हाम्रो गाउँपालिका जिल्लामै सबैभन्दा बढी कोरोना प्रभावित भयो, क्वारेन्टिन व्यवस्थापनलगायतका काममा बजेट खर्च हुँदा दिन नसकिएको हो, अब नयाँ बजेटबाट दिन्छौं,’ अध्यक्ष पाण्डेले भने, ‘१५ दिनभित्र भत्ता दिन्छौं, तर कति प्रतिशत दिने भन्ने बैठकले निर्णय गर्छ ।’

यशोधरा गाउँपालिका कपिलवस्तुमा सबैभन्दा बढी १६८ जना कोरोना संक्रमित देखिएको पालिका हो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?