Comments Add Comment

दैलेखमा समुदायस्तरमा परीक्षण : क्वारेन्टिन आसपासका स्थानीयमा भेटियो संक्रमण

७ साउन, सुर्खेत । दैलेखमा कोरोना भाइरस (कोभिड-१९)को समुदायस्तरमा परीक्षण सुरु भएको छ । र, प्रारम्भिक रिपोर्टमा स्थानीय संक्रमणका केसहरु भेटिएका छन् ।

ट्राभल हिस्ट्री नभएहरुको स्वाब परीक्षण गरी समुदायमा संक्रमण छ छैन भनेर पत्ता लगाउन पहिलो पटक समुदायस्तरमै परीक्षण सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय, दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।

‘ प्रदेशमै पहिलो पटक हामीले समुदायस्तरमा परीक्षण थालेका छौं,’ फोकल पर्सन रेग्मीले भने, ‘हामीले प्रत्येक पालिकाबाट ७०/८० जनाको स्वाब संकलन गर्छौं, जसमा ट्राभल हिस्ट्री नभएहरु हुनेछन् ।’

फोकल पर्सन रेग्मीका अनुसार ठाँटीकाँध गाउँपालिकामा ७३ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ । गुराँस गाउँपालिकामा समुदायबाट संकलन गरिएको ७० जनाको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

स्वाब संकलन गरिएका अन्य स्थानीय तहको भने रिपोर्ट आइसकेको छैन । ‘क्वारेन्टिनस्थल आसपासबाट संकलन गरिएको नमुनामा संक्रमण पुष्टि भएको छ,’ जिल्ला स्वास्थ्य प्रमुख डा. निरञ्जन पन्त भन्छन्, ‘अहिले नै समुदायस्तरमा संक्रमण देखिएको छैन, तर लोकल ट्रान्समिसनका केसहरु भने भेटिएको छ ।’

यसअघि दैलेखमा ट्राभल हिस्ट्री नभएका तर क्वारेन्टिन व्यवस्थापनमा संलगन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतमा संक्रमण भेटिएको थियो । यस्ता संक्रमितको संख्या ६२ छ ।

अहिलेसम्म जिल्लामा दुईजना जनप्रतिनिधि, ६ जना स्वास्थ्यकर्मी, १४ जना नेपाल प्रहरी, २८ जना सशस्त्र प्रहरी, आठजना शिक्षक कर्मचारी र चार जना सञ्चारकर्मी संक्रमित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment