Comments Add Comment

योगको उचित विधी र स्वास्थ्य-लाभ

नियमित र सही ढंगले गरिने योग अभ्यासले शरीरलाई लचिलो, फुर्तिलो, बलियो, तन्दुरुस्त र स्वस्थ राख्छ । योगले स्वास्थ्यमा फाइदा गर्छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि योगबाट कसरी स्वास्थ्यमा लाभ मिल्छ ? योग गर्ने खास तौर–तरिका के हुन् ? कस्तो अवस्थामा योग गर्नु उचित हुँदैन ? कस्तो योग आसन एंव विधी बढी सबैका लागि उपयुक्त हुन्छ ? यसबारे भने सबै जानकार नहुन सक्छन् ।

खासगरी योगमा शरीर, दिमाग र सास तीन चिजको तालमेल हुन्छ । जब यी तीन एक लयमा हुन्छ, हामी स्वस्थ्य हुन्छौं । तनाव मुक्ती, आन्तरिक शान्ति, रोग प्रतिरोधात्मक क्षमता बढाउन, उर्जा बढाउन, शरीरको लचिलोपन पाउन योगको महत्वपूर्ण भूमिका हुन्छ ।

योगका लागि केवल ताकत, सन्तुलन र लचिलोपन चाहिन्छ । जो कोहीमा यसमध्ये एक चिज हुन्छ, जसको मद्दतले अर्को काम सजिलै गर्न सक्छन् । नियमित रुपले योग गर्ने जसरी तौल नियन्त्रण हुँदै जान्छ, उसैगरी शरीर लचिलो पनि ।

के हो सही समय ?

दिनमा कुनैपनि समय योग गर्न सकिन्छ । तर, खाना खानसाथ तुरुन्तै योग गर्नु हुँदैन । बिहान खासगरी सूर्योदय लगत्तै योग गर्नु बढी लाभदायक हुन्छ । सूर्योदयको दुई घण्टासम्म आफ्नो सुविधा अनुसार योग गर्न सकिन्छ । खासगरी बिहान शान्त र स्वच्छ वातावरण हुन्छ । साथै हाम्रो दिमाग पनि शान्त हुन्छ ।

कस्तो हुनुपर्छ स्थान ?

योग गर्दा शान्त, खुला स्थान बढी उपयोगी हुन्छ । दुर्गन्धित, कोलाहालपूर्ण स्थानमा योग गर्नु राम्रो हुँदैन ।

घरको छत, बगैंचा वा खुला कोठा जहाँ पनि योग गर्न सकिन्छ । योग गर्दा सजिलो पहिरन लगाउनुपर्छ । योग गर्ने स्थान पनि सजिलो हुनुपर्छ ।

योग गरिरहँदा कुनैपनि उपकरण राख्नु हुँदैन । जस्तो कि घडी, मोवाइल बोक्नु हुँदैन ।

योग गर्नुअघि खाली पेट हुनुपर्छ ?

योग गर्नुअघि खाली पेट हुनुपर्छ । कब्जियत छ भने दुईदेखि तीन गिलास पानी पिउनुपर्छ । यसले पेट राम्ररी सफा हुन्छ । यदि तपाई बिहान बिहान खाली पेट योग गर्न पाइरहनुभएको छैन भने खाना खाएको तीन वा चार घण्टापछि योग गर्नुहोस् ।

कुनै विशेष खानेकुरा आवश्यक छ ?

योगका लागि कुनै विशेष खानेकुरा हुनुपर्छ भन्ने छैन । योग गर्नेहरु शुद्ध शाकाहारी हुनुपर्छ भन्ने पनि छैन । हुन त शाकाहारी भएमा बढी स्वास्थ्य लाभ मिल्छ । यद्यपी मांशहारीले पनि योग गर्न सक्छन् ।

मासिक धर्ममा वा गर्भावस्थामा योग गर्न सकिन्छ ?

मासिक धर्म वा गर्भावस्थामा पनि योग गर्न सकिन्छ । यद्यपि यसका केही सीमा छन् । आसन छन् । खासगरी महिलाले उल्टो भएर गरिने आसन गर्नुहुँदैन । सहज योगासन गरिरहँदा कुनै असजिलो भएमा त्यसलाई बन्द गर्नुपर्छ ।

आसन नहुँदा पनि प्रयास गर्नुपर्छ ?

आसन गरिरहँदा शरीरमा कुनैपनि किसिमको अनावश्यक दवाव दिनुहुँदैन । शरीरलाई असहज हुनेगरी वा बलजफ्ती योग गर्नु हुँदैन । किनभने शुरुवाती चरणमा मांसपेशी लचिलो हुँदैन । यस्तो अवस्थामा योग गर्दा विभिन्न समस्या आइपर्न सक्छ । संयमित भएर योग गर्नुपर्छ । योग गरिरहँदा शरीरले सहज अनुभव गर्नुपर्छ ।

योगासन लगत्तै नुहाउन सकिन्छ ?

योग पनि एक किसिमको शारीरिक व्यायाम हो, जसबाट शरीरमा उर्जा प्राप्त हुन्छ । योग लगत्तै नुहाउँदा उर्जा कम हुन्छ । त्यही कारण व्यायाम जस्तै योग गरेपछि लगत्तै नुहाउनु हुँदैन । २० मिनेट अन्तरमा नुहाउन सकिन्छ ।

योगमा सासको प्रक्रिया अहंम हुन्छ ?

योग गर्नुको पहिलो नियम हो कि, नाकले सास लिनुपर्छ । योगबाट त्यसबेला बढी भन्दा बढी फाइदा लिन सकिन्छ, जतिबेला आसन र सासको बीचमा तालमेल मिलाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment