Comments Add Comment

बाढी पहिरोपछि दोब्बर बढ्यो तरकारीको भाउ

८ साउन, पोखरा । पोखरा नयाँ बजारकी शान्ता लिम्बुले मंगलबार किलोको ३० रुपैयाँ तिरेर तरकारी किनेकी थिइन् । बिहीबार बिहान तरकारी बजार पुगेर त्यही तरकारी किन्दा एक पाउको ३५ रुपैयाँ तिर्नुपर्‍यो ।

बजारमा धेरै तरकारी पनि देखिनन् उनले । सधैं भरिभराउ हुने तरकारी बजार बिहीबार लिम्बुले खाली खाली देखिन् । भनिन्, ‘तरकारी पनि छोइनसक्नु महंगो । खोजेको तरकारी पनि पाइनै छाड्यो ।’ यतिबेला उनीजस्तै धेरै पोखरेलीलाई तरकारीको अभाव र आकासिएको महंगीले तर्साएको छ ।

पछिल्लो हप्ता लगातार भइरहेको वर्षा र त्यसले निम्त्याएको प्राकृतिक विपद्का कारण पोखरासम्म तरकारी आउन नसकेको भन्दै बजारमा तरकारी अभाव हुन थालेको हो । अभाव भएसँगै तरकारीको मूल्य २ दिनमै दोब्बर भन्दा बढी महंगो भएको छ ।

पोखरा तरकारी तथा फलफूल व्यवसायी संघका अनुसार पोखरामा सबैभन्दा बढी खपत हुने तरकारीमा काउली, बन्दा र टमाटर हो । तर, पछिल्लो समय यी सबै तरकारी बजारमा पाउनै मुस्किल पर्न थालेको छ । ‘मंगलबारसम्म बन्दा किलोको ४० रुपैयाँ पथ्र्यो । अहिले ८०÷९० रुपैयाँ पर्न थालेको छ,’ पोखरा मन्डी सञ्चालक समिति सदस्य दीपक श्रेष्ठले भने ।

बाढी र पहिरोले सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढ्न गएको व्यवसायीको तर्क छ । उनीहरुले सीधा बाटोबाट तरकारी ल्याउन नसकिने र लामो तथा घुमाउरो बाटोबाट तरकारी ल्याउँदा लागत खर्च नै बढी पर्न गएको बताउँछन् ।

‘पोखरामा तरकारी आउने भनेको धाडिङ र चितवनबाट हो । अहिले दुवै ठाउँमा पहिरोले बाटो बन्द गरिदिएको छ,’ व्यवसायी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘केही उपाय नलागेपछि बुटवल हुँदै पाल्पाबाट ल्याउँदा लागत खर्च नै बढी पर्न गएको छ ।’

उनले ढुवानीमा समस्या आएकाले बजारमा तरकारी पाउनै छाडेको र मूल्य पनि बढ्न गएको सुनाए । बाटो सहज नहुँदा एक दिनमा आइपुग्नुपर्ने तरकारी ४÷५ दिनमा बल्ल बल्ल आइपुग्ने र त्यसमा पनि आधाभन्दा बढी तरकारी बिग्रिसक्ने व्यवसायीले गुनासो गरेका छन् ।

किसान घटे

एक्कासी तरकारीको अभाव हुनु र मूल्य आकासिनुको कारण तरकारी कृषक पलायन हुनु पनि रहेको व्यवसायीको ठहर छ । कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनमा सम्पूर्ण होटल व्यवसायी बन्द हुँदा तरकारी बिक्री दर घटी कृषक पलायन भएको पोखरा तरकारी तथा फलफूल व्यवसायी संघ बताउँछ ।

‘व्यवसायिक रुपमै तरकारी खेतीमा आएका कृषक यति लामो समय लकडाउन हुँदा आत्तिए । उनीहरुले विकल्पको रुपमा बरु धान खेती गरिसकेका छन्,’ पोखरा मन्डी सञ्चालक समिति सदस्य दीपक श्रेष्ठले भने, ‘कृषकले नै उत्पादन बन्द गरेपछि अभाव हुने नै भयो । अभाव भएपछि मूल्य बढ्नु स्वभाविक हो ।’
स्थानीय किसानले भाउ बढाए

बजारमा तरकारीको अभाव देखिन थालेपछि पोखराका स्थानीय किसानले भाउ बढाएको व्यवसायीले बताएका छन् । उनीहरुले तरकारीको थोक मूल्य मै ७५ प्रतिशतसम्म बढाएको व्यवसायीको भनाइ छ ।

‘यहाँ उत्पादन पनि घटेको छ । त्यसमाथि भएकाले कृषकले पनि मौका हेरेर मूल्य निर्धारण गरिदिए । त्यसले झन् तरकारीको मूल्य बढायो,’ पोखरा मन्डी सञ्चालक दूर्गा कँडेलले भने, ‘व्यवसायीसँग तरकारी नै छैन । तरकारी नै नभएपछि उनीहरु पनि महंगोमै किनेर महंगोमै बेच्न बाध्य छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment