Comments Add Comment

प्रदेश ५ का एम्बुलेन्समा जीपीएस जडान

८ साउन, बुटवल । सेवाग्राहीलाई आवश्यक परेका बेला तत्काल र सहजरुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश ५ का एम्बुलेन्समा जीपीएस ट्रयाकिङ सिस्टम जडान कार्य सुरु गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले एम्वुलेन्स सेवालाई सेवाग्राहीमैत्री र सूचना प्रविधिमैत्री बनाउन पहिलो चरणमा प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरेको हो ।

जीपीएस ट्रयाकिङ सिस्टम जडान भएका एम्बुलेन्सहरु कुन समयमा कुन ठाउँमा छन् भन्ने एन्ड्रोइड मोबाइलबाट थाहा पाउन सकिन्छ । त्यसका आधारमा नजिकको र खाली बसेको एम्बुलेन्स सेवाग्राहीले प्रयाेग गर्न सक्छन् ।

बिहीबार सेवाको औपचारिक शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशका ३५० बढी एम्बुलेन्सहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिने बताए । सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालयले हटलाइन टेलिफोन नम्बर र तीनजना कर्मचारी व्यवस्थापन गरी तीन सिफ्टमा चौबिसै घण्टा खटाउन सुरु गरेको मन्त्री बरालले बताए ।

एम्बुलेन्सहरुमा जीपीएस जडानका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले बताए ।

प्रदेशका १२ वटै जिल्ला समेटेर ६० एम्बुलेन्सहरुमा जीपीएस जडान गरिएको निर्देशनालयका प्रमुख डा. विनोद गिरीले जानकारी दिए । सबै एम्बुलेन्समा जीपीएस ट्रयाकिङ सिस्टम अनिवार्य गर्न छिट्टै कार्यविधि बनाइने र चालकहरुको क्षमता वृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने मन्त्री बरालले बताए ।

जीपीएस ट्रयाकिङ सिस्टम डिभाइसका लागि प्रति एम्बुलेन्स ५ हजार खर्च भएको र वार्षिक ६ हजार रुपैयाँ इन्टरनेट सेवा प्रदायक संस्थालाई शूल्क बुझाउनु पर्ने हुन्छ ।

यो प्रविधि जडान भएपछि अनलाइन प्रविधिमार्फत एम्बुलेन्सहरुको अनुगमन गरिनेछ । जसबाट चालकहरुले सेवा दिन आनाकानी गर्न नपाउने निर्देशनालयको विश्वास छ । कुनै ठूलो दुर्घटना हुँदा एकैपटक धेरै एम्बुलेनस चाहिएको अवस्थामा समेत यस्तो प्रविधिले घाइतेहरुलाई छिटो अस्पताल पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment