Comments Add Comment

प्युठानमा ६ दिनमा गाउँलेले टिपे ३६ क्वीन्टल सलह

एकै जनाले कमाए २३ सय

८ साउन, काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिकाको स्याउलीवाङका वासिन्दाले ६ दिनमा ३६ क्वीन्टल सलह टिपेर वडा कार्यालयमा बुझाएका छन् ।

असार १५ गतेदेखि गाउँको कोठीभीरमा आएर बसेको सलहको ठूलो झुण्डबाट सुलह संकलन गरेर गाउँलेले वडा कार्यालयमा बुझाएका हुन् । साउन २ गते गाउँपालिकाले सलह टिपेर ल्याएमा प्रतिकिलो ५० रुपैयाँ दिने निर्णय गरेपछि गाउँले सलह जम्मा पार्न खटिएका थिए ।

टिपिएको सलह नष्ट गरेको र टिप्नेहरुको नामावली गाउँपालिकामा पठाउने वडा नम्बर १ स्याउलीबाङका वडाध्यक्ष शेरबहादुर सेन ठकुरीले जानकारी दिए । गाउँपालिकाले बजेट निकासा गरेपछि सलह टिपेको मात्राअनुसार गाउँलेलाई रकम दिने उनले बताए ।

सबैभन्दा धेरै सलह टिप्ने लक्ष्मण घर्तीले ४६ किलो टिपेवापत २३ सय रुपैयाँ पाउनेछन् । गाउँलेले सलह टिपेवापत १ लाख ८० हजार रुपैयाँ पाउने वडाध्यक्ष ठकुरीले बताए ।

असार १५ गते पहिलोपटक आएको सलह गाउँदेखि केही माथिको कोठीभिरमा बसेको थियो । ‘सलह पहाडको टुप्पोमा बस्यो भीर काटेर जान नसकेपछि ओर्लेर बाली खाने अनि फेरि भीरको माथि थलीमा बस्ने ग¥यो’ वडाध्यक्ष ठकुरीले अनलाइनखबरसँग भने ।

सुरुआती दिनमा कुनै हानी नगरे पनि विस्तारै सलहले कलिला मकै र रोपेको कोदोमा क्षति पुर्‍याएको उनले बताए । वडाको ठूलो क्षेत्रमा हरियो घाँस, मकै, कोदोलगायतको वनस्पति सलहले सखाप पारेको गाउँपालिका कार्यालयले जनाएको छ ।

विषादी छरिएन

सलह आएको थाहा पाएपछि गाउँपालिका कार्यालयले कृषि प्राविधिक सन्तोष विकलाई स्थलगत अध्ययन गर्न स्याउलीवाङ खटाएको थियो ।

सुरुका दिनमा सलहले धेरै क्षति नगरेको कृषि प्राविधिकको जानकारीपछि गाउँपालिकाले सलह प्रकोप बढे नियन्त्रणका लागि गाउँलेलाई नै परिचालन गर्ने नीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए ।

‘विषादी छर्दा वातावरण बिग्रने प्राविधिक सल्लाहपछि क्षति गर्ने तहमा सलह देखिए पैसा दिएर गाउँलेलाई नै संकलन गर्न लगाउने निर्णय लियौँ’, उनले भने । त्यसपछि साउन २ गते गाउँपालिकाले सलह टिपेर ल्याए प्रतिकिलो ५० रुपैयाँ दिने निर्णय गरेको थियो ।

कृषि प्राविधिक सन्तोष विकले गाउँलेले संकलन गरेर ल्याएको सलह एकै ठाउँमा खाल्डो खनेर पुरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment