Comments Add Comment

पर्सामा ५ थुनुवासहित थप ३२ जनामा कोरोना पुष्टि

अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्न चिकित्सक संघको आग्रह

९ साउन, वीरगञ्ज । पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जनाएको छ । संक्रमित थुनुवाहरुमध्ये ४ जना भारतीय नागरिक हुन् । उनीहरु ३ जना बिहारका र १ जना उत्तर प्रदेशका छन् ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका को–अर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए । अन्य संक्रमितहरुमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका र केहीले आफैंले शंका लागेर जाँच गराएको उनले बताए ।

नारायणी अस्पतालको पीसीआर ल्याबको तथ्यांकअनुसार साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरको २३ वर्षीय छोरामा कोरोना देखिएको छ । यसअघि उनका दुई जना छोरीमा पनि कोरोना देखिएको थियो । उनकै कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३५ वर्षीय अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

साउन १ गते कोरोना संक्रमण पुष्टि भएकी वीरगञ्ज–१४ श्रीपुरकी १८ वर्षीया किशोरीको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–२९ की २५ वर्षीया किशोरी, वीरगञ्ज–१३ की ४८ वर्षीया महिला र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन १ गते नै कोरोना संक्रमण पुष्टि भएकी २२ वर्षीया महिलाको कन्ट्याक्ट ट्रेसिङमा परेका छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अन्य संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २२ वर्षीया पुरुष, वीरगञ्ज– १० बस्ने ६०, ३५, २९ वर्षीया महिला, १४ वर्षीय किशोर, वीरगञ्ज– ९ घण्टाघर बस्ने २५ वर्षीय पुरुष, र वीरगञ्ज–१३ बस्ने ९ महिनाको बालकमा कोरोना संक्रमण देखिएको छ ।

आफैंलाई शंका लागेर पैसा तिरेर पीसीआर परीक्षण गराएका बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिका– ३ सबैठवाका ५० र २७ वर्षीय पुरुष, वीरगञ्ज–१० बजरंग टोल बस्ने २९ वर्षीय पुरुष, वीरगञ्ज– १२ मुर्ली बस्ने १६ वर्षका दुई पुरुष र ३८ वर्षीया महिला, वीरगञ्ज–२० का ३२ वर्षीय पुरुष, वीरगञ्ज–२ छपकैया बस्ने ३० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यसैबीच वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ ।

संघका सचिव डा. उदय नारायण सिंहले विज्ञप्ती जारी गर्दै साउन ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेका हुन् । कोरोना संक्रमित भेटिएका कारण एडभान्स अस्पताल पूर्णरुपमा बन्द भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment