Comments Add Comment

स्थानीयको अवरोधपछि मध्यरातमा गाडियो संक्रमितको शव

फाइल तस्वीर

१३ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या देखिएको छ । शव व्यवस्थापनका लागि तोकिएको ठाउँका स्थानीयले विरोध गरेपछि अन्त्येष्टिमा समस्या भएको हो ।

कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएका पाँच जना संक्रमितको शव व्यवस्थापन तीन ठाउँमा भएको छ । स्थानीयको विरोधकै कारण कोरोना विशेष अस्पतालमा आइतबार मृत्यु भएका भारतीय नागरिकको शव व्यवस्थापन मध्यरातमा गरिएको छ ।

सोमबार मध्यरातमा तिलावे खोलाको किनारमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शवलाई खाल्डोमा गाडेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको भएपनि स्थानीयले अवरोध गरेपछि प्रहरीले पनि सहयोग गर्दै आएको छ ।

स्थानीय प्रशासन र महानगरपालिकाले भनेको स्थानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि राति तिलावेमा संक्रमितको शव गाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए । सोमबार वीरगञ्ज–३१ बेल्वाको जंगलमा शव व्यवस्थापनका लागि गएको नेपाली सेनाको टोलीलाई स्थानीयले बाटैमा रोकेका थिए ।

जेसिबी र ट्याक्टरसहित तोकिएको स्थानमा खाल्डो खन्न जान लागेको सेनाको टोलीलाई वीरगञ्ज–३२ टेढाका स्थानीयले बाटैमा रोकेका हुन् । गाउँको नजिक कोरोना संक्रमितको शव व्यवस्थापन गर्न नदिने अडान स्थानीयले राखेका थिए ।

बेल्वाका स्थानीय नेता भिखारी मियाँ बस्ती नजिक संक्रमितको शव व्यवस्थापन नगर्न स्थानीयले अनुरोध गर्दै आएको बताउँछन् । ‘बस्तु भाउ चराउन, घाँस काट्न जंगल जाने गरेका छन् । जंगल छेउमा झवराह गाउँ पनि छ । गाउँ नजिकै जंगलमा शव व्यवस्थापन गर्दा गाउँमा कोरोना संक्रमण फैलिन सक्छ भन्ने डर स्थानीयमा छ,’ उनले भने, ‘गाउँभन्दा बाहिरका त्यसमाथि कोरोना संक्रमितको शव गाउँमा व्यवस्थापन गर्न हुँदैन भनेका हौं ।’

नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउँछन्

गाउँदेखि टाढा निकुञ्जको जंगलमा लगेर शव गाड्दा स्थानीयलाई कुनै आपत्ती नहुने उनको तर्क छ ।

वडा नं. ३१ का अध्यक्ष चुमन दास थारु दुई दिनअघि स्थानीयले विरोध गर्दा अब फेरि त्यस ठाउँमा शव व्यवस्थापन नगर्ने भनि मौखिक सहमति भएको बताउँछन् । ‘दुई दिनअघि शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका थिए, स्थानीयलाई सम्झाएर शव गाड्ने वातावरण मिलाएका थियौं,’ उनले भने, ‘म त काम विशेषले बजार आएको थिएँ । आज पुनः टेढामा स्थानीयले विरोध गरेको भन्ने सुनेँ ।’

स्थानीयवासी, राजनीतिक दलका स्थानीय नेता र जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै शव व्यवस्थापनको निर्णय लिनुपर्ने उनको सुझाव छ । ‘हामी त कुरा बुझ्छौं, तर जनताले यस्ता कुरा बुझ्दैनन्, उनीहरुलाई बुझाउनुपर्छ,’ उनले भने ।

स्थानीय प्रशासनले भने स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर शव लैजाँदा समेत अवरोध भएको जनाएको छ । दुई दिनअघि स्थानीयले भित्री जंगलमा शव गाड्दा आपत्ती नहुने बताए पनि सोमबार बाटैमा रोकेको सेनाको भनाइ छ ।

नेपाली सेनाको चण्डी प्रसाद गणका गणपति कर्णेल मदनजंग राणा उपयुक्त स्थानको छनौट नहुँदा शव व्यवस्थापनमा समस्या देखिएको बताउँछन् । ‘लोकेसन हेर्न जाँदैमा मात्रै असहज परिस्थति बनिरहेको छ,’ उनले भने, ‘स्थानीयसँग झगडा गरेर शव व्यवस्थापन गर्न सक्दैनौं, उपयुक्त ठाउँ छनौट हुन्छ भने जुनसुकै समयमा शवको व्यवस्थापन गर्न सेना तयार छ ।’

यसअघि सेनाले दुई जना संक्रमितको शव व्यवस्थापन गरिसकेको छ । एक जनाको शव तिलावे खोला किनारमा जलाइएको थियो, भने बेवारिसे संक्रमितको अर्को शवलाई शंकचार्य गेटको बायाँ सिर्सियाको किनारमा गाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment