Comments Add Comment

पुरानो सुनका गहना बिक्री गर्न यो उत्तम समय हो ?

१३ साउन, काठमाडौं । पछिल्लो समय विश्व बजारमा सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा पनि सुनको भाउ बढेर तोलाकै एक लाखको हाराहारी पुग्न थालेको छ ।

चुलिँदो मूल्यका कारण सुनको बजार इतिहासमै पहिलोपटक ब्यापार नकारात्मक बनेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

व्यवसायीबाट सुन किन्न आउने उपभोक्ता अहिले व्यापारीलाई सुन बिक्री गर्न आईरहेका छन् । नेपालभरिकै पसलले अहिले दैनिक १० देखि १५ किलो हाराहारी ग्राहकको पुरानो सुनका गहना खरिद गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्याले बताए ।

‘सामान्य अवस्थामा साउनको महिना दैनिक सोही मात्रामा सुन व्यवसायीले उपभोक्तालाई बिक्री गर्दथे, तर अहिले ठ्याक्कै उल्टो भएको छ,’ वरिष्ठ उपाध्यक्ष शाक्यले भने ।

सुन किन्ने ग्रहक ठप्प हुँदा सुन फिर्ता गर्नेको संख्या भने उल्लेख्य रुपमा बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । ‘मूल्य बढेपछि फर्ता बिक्री स्वभाविक रुपमा बढेको छ, तर मूल्य बढ्ने क्रम नरोकिएकाले केही ग्राहक अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको जस्तो बुझिन्छ,’ महासचिव बज्राचार्यले भने ।

फिर्ता बिक्री सुनको भुक्तानी सातापछि 

सुन बिक्री गर्न आउने ग्राहक बढेपछि नगद अभावमा व्यवसायीहरुले ग्रहकलाई फिर्ता सुन बिक्रीको पैसा लिन एक साताको म्याद तोकिदिएका छन् ।

देशभरी लागू हुनेगरी किस्तामा वा बिल लिएर एक सातामा ग्राहकले पैसा पाउनेगरी नेपाल सुन चाँदी व्यवसायी महासंघले सर्कुलर जारी गरेको छ ।

उच्च मूल्य भएकाले एकै पटक रकम दिन पसलले नसक्ने भएकाले किस्तामा पैसा दिन सकिने गरी व्यवस्था गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्याले बताए ।

फिर्ता सुन खरिद/बिक्री कसरी हुन्छ ?

नेपाली व्यवसायीहरुले दुई प्रकारले सुन बिक्री गरेको महासंघले जनाएको छ । पहिले बनेका गहनामा रसायन मिसाइएको हुने र अहिले ९९ प्रतिशत शुद्ध सुनको गहना बनाइने गरिएको छ ।

महासंघले बनाएको कार्यविधिअनुसार रसायनयुक्त गहना बढीमा १० प्रतिशत र रसायन नभएको ९९ गुणस्तरको सुनमा पहिलेको मूल्यभन्दा पाँच प्रतिशत मूल्य कटौती हुनेछ ।

उपभोक्ताले बिक्री गरेको सुन पसलेले गालेर शुद्ध सुन बनाईसकेपछि त्यसको तौल लिएर अहिलेको मूल्यमा ५ देखि १० प्रतिशत (सुनको प्रकृतिअनुसार) ग्राहकले मूल्य पाउने महासंघका महासचिव धर्म सुन्दर बज्राचार्य बताउँछन् ।

पुरानो गहना बिक्री गर्ने समय हो ?  

सन् २०१९ जुलाई २३ मा सुनको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिऔँस १४२५.५५ डलर थियो तर सन् २०२० को जुलाई २८ मा प्रतिऔंस मूल्य १९२६.८० डलर -यो समाचार तयार गर्दासम्म) कायम भएको अमेरीकी सुनको मूल्य तोक्ने संस्था वालस्ट्रेटले जनाएको छ ।

कोरोना महामारीले गर्दा सुनमा लगानीकर्ता झुम्मिँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्न सक्ने आकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको प्रभाव प्रत्यक्ष रुपमा नेपालमा देखिने भएकाले सुनको नेपालमा भाउ अझै बढ्न सक्ने आंकलन गरिएको छ ।

अत्यवश्यक गर्जो टार्नका लागि बिक्री गरिने सुनबाट अहिले पनि ग्राहकलाई तोलामै धेरै रकम फाइदा छ, तर अझै धेरै नाफाका लागि भने केही समय धैर्य गर्न पर्ने अन्तरािष्ट्रय घटनाक्रमले देखाएको छ ।

किनकी अझै सुनको मूल्य उकालो लाग्ने क्रममै देखिएको छ । मंगलबार नेपाली बजारमा सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment