
महाधिवेशनको पूर्वसन्ध्यामा रहेको नेपाली कांग्रेसमा अन्य दलबाट विभिन्न साइजका नेताको प्रवेश देखिन्छ । केही अगाडि पार्टी नै विलय गराउन पुगेका विजयकुमार गच्छदारदेखि सूर्यबहादुर थापाको विरासतको राजनीति गर्दै आएका सुनील थापासम्मको कांग्रेस प्रवेशलाई लिएर कांग्रेसभित्र जोडघटाउ प्रारम्भ भएको छ ।
पछिल्लो समय थापालगायतको प्रवेशलाई पौडेल र सिटौला समूहले स्वागत गरे पनि पार्टी संस्थापन पक्षको पार्टी नै कब्जा गर्ने नीतिअन्तर्गत भए गरेका गतिविधिको भने भोलिका मितिमा संगठितरूपमा गतिलै धक्का दिने तयारी भएको बुझिन्छ ।
कतिपय सिनियर नेता उनीहरूको पार्टी प्रवेश कार्यक्रममा उपस्थित नभएर त्यसको छनक दिइसकेका छन् ।
उता गच्छदार र थापाले जुन कित्तामा आफूलाई उभ्याएका छन, त्यो कित्ता तुलनात्मकरूपमा केही गह्रुँगो देखिन पुग्नु स्वाभाविक हो । तर गच्छदार, थापा आदि यथास्थितिमै रमाउँछन् वा परिवर्तनका निम्ति मुखरित रूपमा प्रस्तुत भएर पार्टीलाई राप्रपा हुनबाट जोगाउँछन्, त्यसको निम्ति भने पर्खनुपर्ने हुन्छ ।
कांग्रेस पार्टीको वर्ग चरित्र भनेको यथास्थितिवादी होइन । यथास्थितिमै रमाएको हुन्थ्यो भने यथास्थितिवादी मातृकाप्रसाद कोइरालालाई आफ्नो राप र तापबाट पन्छाउने हैसियत वीपीले राख्ने नै थिएनन् ।
‘वीपी’को पार्टीमा ‘बिबि’को खटन–पटन रहिरहुन्जेल गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टको नियति भोलिका मितिमा दर्जनौंले भोग्नुपर्ने निश्चितप्रायः छ । परिवर्तनको मार्ग छोडेर यथास्थितिको गोरेटोतिर हिँड्नबाट कांग्रेसलाई रोक्न नसक्ने हो भने कांग्रेसले समाउने बाटो भनेको प्रजापरिषद् नै हो ।
सुस्पष्ट दृष्टिकोण, सुव्यवस्थित योजना र सुनियोजित वैचारिक बहसपछिको हस्तक्षेपबाट युवाले पार्टीलाई आफ्नो हातमा ल्याइहाल्न सक्ने सम्भावना हालका लागि क्षीण देखिएपछि मौजुदा नेतृत्वहरूमध्येबाटै कांग्रेसको नेतृत्वमा को भन्ने बहस प्रारम्भ भएको छ ।
स्वभावैले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला कांग्रेस नेतृत्वका आकांक्षी हुन् । तर यो पटक नेतृत्वको आकांक्षी केवल यी तीनमात्र रहने सम्भावना न्यून छ ।
नेतृत्वका प्रवल आकांक्षीमा उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला आदिको नाम सतहमा आएका छन् । घटनाक्रमले सभापतिका प्रत्यासीका रूपमा गगन कुमार थापालाई पनि मैदानमा ल्याउन सक्छ ।
वि.सं.२००३ मा कांग्रेस पार्टीको स्थापना गर्दा वीपी कोइरालाको उमेर जम्माजम्मी ३३ वर्षको थियो । ४५ वर्षको उमेरमा त उनले नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको हैसियतमा सपथ खाइसकेका थिए । नेतृत्व पालो पर्खेर वा याचना गरेर पाइने भए हालका सभापति देउवा यतिबेला महामन्त्री वा मनोनित उपसभापतिमा सीमित हुन्थे ।
प्रधानमन्त्री र पार्टी सभापतिको हैसियतमा देउवाको कार्यकाल पार्टी र मुलुकका लागि कति प्रियकर बन्यो त्यो छलफलको विषय बन्न सक्छ । तर नेतृत्व प्राप्तिको उत्कट अभिलाषा वा विद्रोहले नै उनलाई पार्टी सभापति र चार/चार पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त भएको हो । तसर्थ, देशैभरका युवाको दबाब र युग सुहाउँदो कांग्रेस निर्माणका लागि विचार र उमेर दुवैले युवा खोजिरहेको सन्दर्भमा सभापतिका प्रत्यासीका रूपमा युवा स्वयं पनि मैदानमा ओर्लने सम्भावनालाई अस्वीकार गरिहाल्न सकिँदैन ।
सच्याउने अवसर
अस्थिरता, गुटबन्दी र व्यक्ति केन्द्रित राजनीतिमा रुमलिएको कांग्रेसलाई निष्ठा, सिद्धान्त र वैचारिक कांग्रेसमा रूपान्तरण गर्नका निम्ति सोहीअनुसारको नेतृत्व चयन आवश्यक छ । हिजो नेताले आफ्नो मूल्याङ्कन गरेनन् भनेर नथाक्ने कार्यकर्ताले आफूसँगै पार्टी र मुलुकको समेत सुस्पष्ट मूल्याङ्कन गर्न सक्ने नेतृत्व छनोट गर्ने उपयुक्त समय हो महाधिवेशन ।
महाधिवेशनमा गुट हेरेर तथा सिद्धान्तहीन, मुद्दाविहीन तथा दिशाभ्रष्ट व्यक्तिलाई पार्टीको नेतृत्व सुम्पेर वीपीकालीन वा गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईकालीन समयको जस्तो ओझपूर्ण कांग्रेस खोज्नु नै कार्यकर्ताको कमजोरी हो ।
महाधिवेशनको पूर्वसन्ध्यामा हुने गाउँ क्षेत्र र जिल्ला तहका अधिवेशनहरूमा ‘कस्तो कांग्रेस, कसको कांग्रेस’ भन्ने बहस प्रारम्भ नगर्ने हो भने कांग्रेसको भोलिको नेतृत्व पनि आजको भन्दा तुलनात्मक रूपमा फरक आउने सम्भावना न्यून छ ।
कांग्रेस कार्यकर्ताले आजैका मितिबाट बुझ्नैपर्ने विषय भनेको सुगठित इच्छाशक्ति र अदम्य साहस बोकेको वैचारिक नेतृत्व चयन नै हो । कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्दा कार्लमाक्स जम्माजम्मी ३० वर्षका थिए । फ्रान्सका म्याक्रोन, फिनल्याण्डकी सन्ना मारिनजस्ता अदम्य साहस बोकेका युवासम्म पुग्नै पर्दैैन ।
नेपालको साम्यवादी आन्दोलनलाई बहुदलीय प्रजातान्त्रिक धारमा रूपान्तरण गर्ने महत्वपूर्ण कामको योजनाकार मदन भण्डारी ४० वर्षका मात्र थिए । कलिलै उमेरमा अदम्य साहसका साथ राजा महेन्द्रको ‘शाही कु’ का विरुद्ध परिवर्तनको झण्डा उचालेर सडकमा उत्रिँदा शैलजा आचार्य के नै उमेरले परिपक्व थिइन् र । कार्यकर्ता, देश र विधि र पद्धतिलाई भन्दा राष्ट्रिय/अन्तर्राष्ट्रिय बिचौलियालाई प्राथमिकतामा राख्ने नेतृत्व चयन रोकेर पार्टीलाई थप क्षयीकरण हुनबाट रोक्नका निम्ति ग्रामीण तहसम्म कांग्रेसको भविष्यका बारेमा बहस गर्न ढिला भइसकेको छ ।
तसर्थ, महाधिवेशनका माध्यमबाट पार्टी र नेतृत्व दुवैलाई सच्याउनका निम्ति कार्यकर्ताको हातमा आएको सुनौलो अवसर पनि हो, महाधिवेशन । जुन महाधिवेशनबाट कार्यकर्ताले पार्टीको ‘नीति र नेतृत्व’ दुवै सच्याउन सक्छन् ।
कांग्रेसका आगामी चुनौती
सत्ताको भद्दा खेलमा पार्टी नराम्ररी फस्न पुग्दा ‘दुईतिहाइ भए पनि केही नहुने रहेछ’ भन्ने सन्देश नेकपाका कारण सम्प्रेषण भएको छ । सत्तारुढ दलभित्रको झगडाको उत्कर्षको विषय निर्मला पन्तलाई कसरी न्याय दिने, कोभिडका कारण रोजगारी खोसिएर नेपाल फर्किएका युवालाई रोजगारीमा कसरी सेटल गर्ने, यति, ओम्नी, सुनकाण्ड लगायत भ्रष्टाचार प्रकरणमा सामेललाई कसरी कारबाहीको दायरामा ल्याउने, न्यायालयमै भूकम्प जाने स्तरका फैसला हुन थालेबाट न्यायिक प्रकृयामै कहाँ र कसरी त्रुटि भयो भन्नेजस्ता विषय थिएनन् ।
विषयतः केवल जति नै अलोकप्रिय भए पनि सत्तामा कसरी टिकिराख्ने वा सत्ता कसरी प्राप्त गर्ने भन्ने नै देखियो । सत्ताको यो निजी ‘म्युजिकल चियर’को विषय र त्यसले समाजमा पारेको असरका बारे प्रतिपक्षको हैसियतले संसद, सञ्चार माध्यम र आन्तरिक बैठकहरूमा कांग्रेसले दह्रो अडान राख्न सक्नुपथ्र्याे । तर, प्रतिपक्षी कांग्रेसमा केवल नेकपामा फुट आइदिए हुन्थ्यो भन्दै टेलिभिजनको स्क्रिनमा आँखा लगाएर बसेको उदेकलाग्दो दृश्य देखिँदैछ ।
सत्ताप्राप्तिको मात्र ध्येय राख्ने काम वीपी कोइरालाद्वारा निर्मित कांग्रेसको वर्गचरित्र होइन । नेपालको जेठो राजनीतिक दल, परिवर्तनका निम्ति चार÷चारपटक अगुवाइसमेत गरेका पार्टीका गायक एवं संगीतकार गणेश रसिक तथा रचनाकार बासु शशिको ‘आँगनीमा देऊ न मलाई बास’ बोलको गीतझंै सत्ताको भाग कुरेर बसेको छ ।
आजको सोच, संस्कार र शैलीको कांग्रेसले मुलुकमा वर्तमानसँगै सत्ताको घरझगडाले गणतन्त्रसम्ममा पार्न सक्ने सम्भावित असरको चुनौती रोक्नै सक्दैन । चीनको अस्वाभाविक चलखेल, भारतसँग बढ्दै गएको दुरी, सुशासन, विधि र पद्धति मिच्ने कामजस्ता सत्ताद्वारा सिर्जित विकराल चुनौती कांग्रेससामु छर्लङ छन् ।
तर, त्यसलाई टुलुटुलु हेरेर ‘अख्तियारमा एक सिट चाहियो’ भनेर बस्नेबाहेक कांग्रेस नेतृत्वबाट जनताका पक्षमा सत्तालाई धक्का पुर्याउने काम हुनै सकेन । अर्कातिर सैद्धान्तिक स्पष्टता, संगठन निर्माण, अन्तर्र्राष्ट्रिय सम्बन्ध जस्ता विषयमा कांग्रेसले देखाएको उदासीनता स्वयं कांग्रेसको चुनौतीको विषय बनेको छ ।
महाधिवेशनको तिथि घोषणापछि केन्द्रीय समितिमा महत्वपूर्ण पोजिसन दिनेगरी व्यक्ति प्रवेश गराएबाट कांग्रेस सैद्धान्तिक विचलनको उत्कर्षमा पुगेको निष्कर्ष निकाल्न गाह्रो छैन । लोकतन्त्रको पर्याय भनेर विरासतबाट निःशुल्क पाएको उपहारले मात्र भविष्यका चुनौती पार लगाउने क्षमता कांग्रेसले राख्न सक्दैन ।
संघर्ष र जनताको अधिकारका निम्ति आवश्यक पर्दा जेलसम्म पुग्न सकिने खतरा सम्झनासाथ झस्कने कांग्रेस नेतृत्वबाट कांग्रेसलाई अलग्याएर संघर्षलाई प्राथमिकतामा राख्ने नेतृत्वको हातमा देशैभरका कार्यकर्ताले कांग्रेस नसुध्रिएसम्म जनताको कांग्रेस बन्नै सक्दैन ।
२१ औं शताब्दीको कांग्रेस
अध्ययनशील र नयाँ टेक्नोलोजीमा अभ्यस्त पुस्तालाई अबको कांग्रेसले आफ्नो एजेण्डासँग जोड्न सक्नुपर्छ र जोड्न सक्षम छ भन्ने सन्देश आफ्ना कार्यक्रममार्फत दिन सक्नुपर्छ ।
कांग्रेस र जनताबीचको दुरी निकै बढेको छ । जनतामा पुनस्र्थापित हुनका निम्ति ‘प्रजातान्त्रिक समाजवाद’ को पुनव्र्याख्यासहित कृष्णप्रसाद सिटौलालगायत विचार समूहले भन्दै आएझंै विचार र परिवर्तनको झण्डा बोकेर जनताको बीचमा जान नसक्दासम्म समाजवादलाई लुटपाटको भर्याङ बनाउनेहरूले बनाइरहने छन् ।
आजको युवापुस्ता यथास्थितिमा रमाउने कांग्रेसको मक्किएको पुस्तालाई परिर्वतनको संवाहक मान्न तयार छैन भने अर्कोतिर स्वतन्त्रता, सम्मान र क्षमतामा पहुँचजस्ता कुरामा कोही कसैसँग सम्झौता गरिहाल्ने पक्षमा छैन ।
तिनै स्वाभिमानी युवालाई आफ्नो एजेण्डामार्फत जोड्न नसक्दा २१ औं शताब्दीको कांग्रेस निर्माण पनि असम्भव छ । कांग्रेसको इतिहासका बारेमा खोट लगाउने ठाउँ छैन । तर, वर्तमान नेतृत्वमा खोटबाहेक असल गुण खोज्नु भनेको जुम्लाको भिरमा शिलाजित खोज्नु बराबर कठिन भएको छ ।
यति हुँदाहुँदै पनि मुलुकमा कुनै पनि प्रकारको निरंकुशता हाबीहुँदा निरंकुशता परास्त गरेसँगै परिर्वतनको झण्डा बोकेर संघर्षको मैदानमा उत्रने शक्ति कांग्रेस नै हो भनेर विरासतबाट पाएको शाखका कारण नै आजका मितिसम्म कांग्रेस टिक्न सकेको छ ।
तर, विरासतको गुणगानले मात्र कांग्रेस जीवन्त रहन सक्दैन । कांग्रेसका बारेमा भन्नैपर्ने हुन्छ– जनताको बोली बोल्ने २१औंं शताब्दीको कांग्रेस निर्माणका लागि कांग्रेस कार्यकर्ताले आगामी महाधिवेशनबाट कांग्रेसको ‘नीति र नेतृत्व’ मा आमूल परिवर्तन जरुरी छ र परिवर्तन अवश्यम्भावी पनि छ ।
प्रतिक्रिया 4