Comments Add Comment

चितवनका ठूला होटल अन्योलमै, फेरि लकडाउन हुने हो कि !

१६ साउन, चितवन । सरकारले साउन १५ गतेदेखि पर्यटन र होटल क्षेत्र सुरक्षा सर्तकता र सावधानी अपनाएर खोल्ने निर्णय गरेपछि चितवनको सौराहाका होटल सञ्चालनमा आए । तर, चितवनकै पर्यटकीय गन्तव्य पटिहानी र मेघौलीका ठुला होटल भने सञ्चालनमा आएका छैनन् ।

मध्य बर्खाको सिजन तत्कालै पर्यटक आउने सम्भावना कम भएकाले हतारमा होटल खोल्नुनपर्ने सञ्चालकहरु बताउँछन् । पटिहानीको होटल भिल्लाका सञ्चालक सविन पौडेलले भदौ १ गतेदेखि खोल्ने मनस्थिति रहेको बताए ।

‘तत्कालै फुल फ्लेजमा चलाउने अवस्था छैन, मेन्टिनेन्स गर्ने र दशैं तिहारपछि पूर्ण रूपमा चलाउन सकिन्छ कि भन्ने आशा छ’ सञ्चालक पौडेलले भने, ‘कोरोनाको जोखिम फेरि बढ्ने अवस्था देखिएको छ, समुदायमा फैलिन थाले त के होटल चलाउने अवस्था आउला र ?’

‘चितवनभन्दा बाहिरका मान्छे आउन सक्ने परिस्थिति छैन, होटल मात्रै खोलेर के गर्ने ?’ पटिहानीका वडाध्यक्ष विष्‍णु महतोले भने, ‘एकैपटक कामदार बोलाएर खर्च मात्रै थप्ने पक्षमा होटल सञ्चालक देखिएनन् ।’

पटिहानीमा साना होटल आंशिक रुपमा खुलेका छन् । यहाँका कतिपय होटल सौराहा आउने पर्यटकको आधारमा मात्रै खोल्ने वा नखोल्ने निर्णय गर्ने मनस्थितिमा छन् । ‘पटिहानीका ठूला होटल वेट एण्ड सीको अवस्थामा छन्, तत्कालै चलाउने सुरसार देखिदैन’ पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले भने, ‘फेरि बन्द गर्नुपर्ने अवस्था आए किन चलाउने भन्ने पनि छ ।’

थपलियाकै भनाइमा सहमत छन्, कसरा रिसोर्टका म्यानेजर लोक कुँवर पनि । ‘लकडाउन फेरि हुने अवस्था पनि छ, त्रास थपिँदै गएको छ’ उनले भने, ‘समुदायमा कोरोना गएको देखिँदा झनै डर बढेको अवस्था छ ।’

कुँवरले साधारण परिस्थिति रहे सेप्टेम्बर १ (भदौ १६) बाट खोल्ने तयारी गरिएको बताए । रिसोर्टमा कार्यरत ६५ मध्ये १२ जनालाई बोलाएर नियमित गर्नुपर्ने काम गरिएको उनले जानकारी दिए ।

पटिहानीमा होटल जंगल भिल्ला, कसरा रिसोर्ट, इन टु दी वाइल्ड इको रिसोर्ट, नारायणी सफारीलगायतका ठूला होटल छन् । रिभर बैंक जंगल रिसोर्ट र पटिहानी रिसोर्ट निर्माणाधीन ठूला होटल हुन् ।

यस्तै, जगतपुरमा दुई ठूला होटल जगतपुर लज र टाइगर ल्याण्ड सफारी छन् । पटिहानी र जगतपुरका होटलमा गरी करिब १२ सय जनाले रोजगारी पाएका थिए । पहिटानी रहेको भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विष्णु महतोले लामा दूरीको यातायात र विमान नचलेकाले पर्यटक आउने सम्भावना कम रहेको बताए ।

‘चितवनभन्दा बाहिरका मान्छे आउन सक्ने परिस्थिति छैन, होटल मात्रै खोलेर के गर्ने ?’ महतोले भने, ‘एकैपटक कामदार बोलाएर खर्च मात्रै थप्ने पक्षमा होटल सञ्चालक देखिएनन् ।’

पहिटानीमा बनेको अम्ब्रेला स्ट्रिट पनि खोलिएको छैन । निर्माण सम्पन्न हुनेबित्तिकै लकडाउनको मार यसले झेलेको छ । परिस्थिति हेरेर अम्ब्रेला स्ट्रिट खुल्ला गरिने पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले बताए ।

चितवनको अर्को पर्यटकीय गन्तव्य मेघौलीमा पनि साना होटल खुलेका छन् भने ठूला खुलेका छैनन् । मेघौली सेराई होटलका म्यानेजर रोशन सापकोटाले नेपाल सरकार र डब्लूएचओको गाइडलाइन अनुसार होटल खोल्ने तयारी भएको बताए ।

‘होटल खुले पनि बुकिङ छैन, गेस्ट आउने परिस्थिति नै छैन’ उनले भने, ‘आधिकारिक रुपमा बुकिङ खुल्ला गरिएको छ तर, अहिलेसम्म कतैबाट त्यस्तो बुकिङ भा’छैन ।’

भदौपछि हवाइ सेवा र लामो दुरीका यातायात चल्न थालेपछि पयर्टक आउने विश्वासमा आफूहरु रहेको सापकोटाले बताए । आगामी पर्यटकीय सिजन अक्टोबरदेखि अप्रिलसम्म राम्रो हुने अपेक्षा व्यवसायीको छ ।

मेघौली सेराईले ६५ कामदारमध्ये २५ जनालाई होटलमा नै राखेको छ । लकडाउनको अवधिमा टुटफुट मर्मत र रिन्नोभेसनका काम गरिएको सापकोटाले जानकारी दिए ।

मेघौलीमा मेघौली सेराई, होटल बराही, साराङ्गा वाइल्ड रिसोर्ट, मेघौली वाइल्ड लाइफ रिसोर्ट र गोलाघाट वाइल्ड लाइफ रिसोर्ट गरी पाँच वटा ठूला होटल छन् ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतोले साना होटल सञ्चालनमा आएको बताए । बार्षिक झण्डै २० हजार स्वदेशी तथा विदेशी पर्यटक आउने मेघौलीमा होमस्टेसमेत रहेको छ ।

मेघौली होमस्टे भने अझै एक महिना बन्द रहने पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जानकारी दिए ।

होटलमा अपनाउनुपर्ने सचेतना, सुरक्षा सावधानीलगायतका विषयमा महानगरपालिका भरीका ठूला होटल सञ्चालक वा प्रतिनिधिसँग साउन २२ गते छलफल राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment