Comments Add Comment
पुस्तक समीक्षा :

अनुभवको रसिलो संस्मरण

गण्डकी क्षेत्रको कुनै गाउँको एक नवयुवक जुँगा नबाक्लिदै बिए पास गरेर शिक्षण पेशा सुरु गर्छ । त्यही क्रममा आईए तहलाई एक पिरियड अंग्रेजी पढाउने ‘केटो सर’ पनि बन्न पुग्छ ।

पढाउने पेशा रुचिले नै छानेको भएपनि युवकलाई त्योभन्दा शिक्षा प्रशासन बढी आकर्षक लाग्छ र तदनुरुप लोकसेवा उत्तीर्ण गरेर विद्यालय निरीक्षकको अवतारमा रुपन्देही झर्छन्, २०५१ सालमा । त्यसरी सरकारी सेवा सुरु गरेका खगराज बराल कालान्तरमा सचिव बनेर शिक्षा मन्त्रालयमा निजामतीको नेतृत्व गरे ।

यो पेशागत सफलतासँगै बरालको लेखक व्यक्तित्व पनि छ । उनी कुशल प्रशासकसँगै राम्रा लेखक पनि हुन् भन्ने गतिलो प्रमाण बनेको छ, २४२ पृष्ठको किताब सिकाइ र सहयोग  । यसको भूमिका अनुसार, यो उनको दोस्रो कृति हो ।

कोरोना भाइरस रोकथामका लागि देशव्यापी बन्दाबन्दी हुनुभन्दा ठिक अगाडि गत चैतमा सार्वजनिक भएको किताबमा २०५१ देखि २०६९ साल (पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक हुँदा) सम्मका भोगाइ, सिकाइ र त्यसबाट सिर्जित अनुभव–अनुभूतिहरु समेटिएका छन् ।

कितावमा विविध क्षेत्र र विषयका २५ वटा संस्मरणात्मक आलेख छन् । शिक्षा, संस्कार, धर्म, आचार–व्यवहार र स्वअनुशासनदेखि अधिकार र लैंगिकतासम्मका कठोर विषयहरुलाई बगेको भाषा र सम्वाद शैलीले सरल–सरस बनाएको छ ।

नेपालीपनको हिमायती बराल साइनो–सम्बोधनको यो सामाजिक अधोमतिप्रति निरपेक्ष रहनसक्ने कुरै भएन । उनले ‘नाता र सम्बोधन : अनुभव र अनुभूति’ शीर्षकको आलेखमा यस्तो विकृत भाषिक–सांस्कृतिक अभ्यासको भुक्तभोगी हुँदाको दृष्यचित्र उतारेका छन्

लेखकले बालअधिकारदेखि बाख्रापालनसम्मका विषय उठाएका छन् । इजिप्टदेखि जापानसम्मका सम्झना समेटेका छन् । प्रवचन पारामा नलागी पाठकलाई सोझै घटनाको साक्षी बनाउने शैलीले लेखहरुलाई पठनीय बनाएको छ । योसँगै लेखकको अवधारणा प्रसार भएको छ ।

साइनो–सम्बन्धमा नेपालीजति धनी संसारमा अरु सायदै होलान् । नेपालीको घर, मावली, ससुराल सबै ठाउँका एक–एक व्यक्तिलाई सम्बोधन गर्ने साइनोका शब्द भण्डारै छ भन्दा फरक पर्दैन । तर, पछिल्लो समय समाजलाई अंकल–आन्टीको फेसनले लपेटेको छ ।

मान्छेको व्यक्तिगत बानी–व्यहोरा र सामाजिक चालचलनमाथि टिप्पणी गर्नु गाह्रो काम हो । तर, लेखकले मानिसहरुको आचार–व्यवहारबारे नाम–ठाम् तोकेरै सीधा टिप्पणी गरेका छन् । अझ ‘सरी, माइण्ड नगर्नुस् है’ नभनी ‘यु सुड माइण्ड’ भनेका छन् । धर्म र सदाचारी परम्पराप्रति गहिरो आस्था जाहेर गरेका छन् ।

खासमा पश्चिमाहरुसँग मामा–माइजू, काका–काकी, फुपू–फुपाजु, बडाबा–बडीआमा आदि आफन्तजन जनाउने साइनो नै नभएर अंकल–आन्टी भनेका हुन् । फेरि, ‘माइजू’ भन्दाको  मिठास, माया, स्नेह र आफ्नोपन आन्टीमा हुँदैन । र पनि, नेपाली मुखबाट माइजूलाई आन्टीले खेदिनै सकेको छ ।

अंग्रेजीमा नभएका साइनोका शब्द नपाउँदा एकथरिले सासू आमा, सालो भाइ, साली बहिनी भन्न थालेका छन् । यो अभ्यास ‘घरतिरको बुबा, माइतीतिरका सहोदर बुबा’सम्म पुगेको देखिन्छ ।

नेपालीपनको हिमायती बराल साइनो–सम्बोधनको यो सामाजिक अधोमतिप्रति निरपेक्ष रहनसक्ने कुरै भएन । उनले ‘नाता र सम्बोधन : अनुभव र अनुभूति’ शीर्षकको आलेखमा यस्तो विकृत भाषिक–सांस्कृतिक अभ्यासको भुक्तभोगी हुँदाको दृष्यचित्र उतारेका छन् । पढ्दा रमाइलो लाग्ने यो आलेखले पढिसकेपछि पाठकलाई पक्कै झस्काउँछ ।

‘सिकाउने आफ्नै काइदा’ शीर्षकको लेखमा जाइका (जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी)का एकजना स्वयंसेवी प्रशिक्षकको सिकाउने काइदाको वर्णन छ । मानिस यसकारण शाकाहारी जीव हो भनेर बुझाउन ती प्रशिक्षकले अपनाएको काइदाबाट प्रभावित बरालले यस्तो तौरतरिका विद्यालयमा लागु गरे सिकाइ प्रकृयामा फड्को मार्न सकिने सुझाव दिएका छन् ।

कितावमा भएकामध्ये ‘आनुवंशिकताको प्रभाव’ सबभन्दा लामो आलेख हो । यसले लेखकमा रहेको कृषि र पशुपालप्रतिको गहिरो मोह देखाउनुको साथै पाठकलाई नेपालका पुराना केही फार्मको भ्रमण गराउँछ । त्यसक्रममा सम्बन्धित विषयका देशी–विदेशी विज्ञसँग चाखलाग्दो सम्वाद गराउँछ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक रहँदा बराल कृषि तथा पशु प्रजनन् फार्महरुको अवलोकन भ्रमण गरेर प्राविधिक ज्ञान लिन्छन् । लेखनको सम्वाद शैलीका कारण विशेषज्ञले भनेका कुरा लेखकसँगै पाठकले सुन्दछन् । संस्कृतदेखि सांकेतिक भाषासम्मका विषयमा कलम चलाएका बरालको यो लेखले विशेषतः किसानका लागि महत्वपूर्ण खुराकहरु पस्केको छ ।

दुर्घटनालाई असुलीको अवसर बनाउन तम्सने प्रवृत्तीबारेको लेखमा चौपायालाई ठक्कर दिएको दुईवटा घटनाको चर्चा छ । सडकमा छाडा छाडिएको पाठीलाई गाडीले ठक्कर दिएर मार्दा ‘यो त पहिलो बेतबाटै बोकैबोका पाउने जातको हो’ भन्दै ५० हजार रुपैयाँ दावी गर्ने, चालक विदेशी रहेछ भने त अझ लोकलाजै बिर्सेर उत्पात मचाउने प्रवृत्तीबारे बराल लेख्छन्– … दुर्घटना भए क्षतिपूर्तिबाट आम्दानी खानु समाजको सकारात्मक सन्देश होइन ।

बरालले कितावमा थुप्रै प्रेरक प्रसंग र ज्ञानगुनका सन्दर्भ पेश गरेका छन् । तीसँगै सदाचार पालना गर्दाका दुःखहरु छन् । ‘बानी त कस्तो राम्रो !’ शीर्षकको लेखमा धेरैले लेखकलाई ‘सरको बानी त कस्तो राम्रो !’ भन्छन् । जे देखेर राम्रो भनेका हुन्, त्यसलाई पालना भने गर्दैनन् । बरु, सरलाई नै एकलकाँटे ठान्छन् ।

नेपाली समाजमा फूलेको केशले भाउ पाउँछ । कार्यक्षमताभन्दा ज्येष्ठताको कदर हुन्छ । कर्मचारीवृत्तमा पनि यस्तै छ । कलिलै उमेरमा शिक्षक बन्दा ‘केटो सर’ भएका बरालले सरकारी जागिरको खासगरी सुरुका वर्षहरुमा ‘नयाँ’ हुनुको पीडावोध गरिरहनु पर्छ ।

२०५१ सालको मध्यावधी निर्वाचनमा बराल रुपन्देहीको एउटा  मतदान केन्द्रको अधिकृत तोकिन्छन्, तर कलिलो र नयाँ भएकैले उनका कर्मचारीहरु भागिदिन्छन् (अनुभव र उपयोग) ।

२०५२ सालतिर पढ्न पाएको ‘अनुभव नालायक गुरु हुन सक्छ’ भन्ने एउटा लेखले उनलाई निकै ढाडस् र लायक बनाउने अनुभव लिन उत्प्रेणा दिन्छ । त्यो लेखको चर्चा बरालले तीन ठाउँमा गरेका छन् ।

कुनै पनि समाजको बिकासमा अनेक व्यक्तिको योगदान छ । त्यस्ता प्रातःस्मरणीय व्यक्तहरु देशका हरेक क्षेत्र र समुदायमा हुन्छन् । बरालले ‘गृहस्थीमा फर्किएका गुरु’ शीर्षक लेखमा आफ्नो क्षेत्रको शैक्षिक–सामाजिक उत्थानमा ठूलो योगदान पुर्याएका चन्द्रकान्त पौडेललाई सम्झिएका छन् ।

त्यस्तै, ‘संस्कृतको वास्तविक महत्व’ शीर्षकमा बरालले विद्यालय तहका नेपाली विषयका आफ्ना गुरु मुक्तिराम पौडेललाई श्रद्धापूर्वक सम्झेका छन् । गुरुले कालोपाटीमा लेखेर कन्ठस्थ पार्न लगाएका संस्कृतका श्लोकहरु पछि आफूलाई निकै उपयोगी बनेको सम्झदै बरालले त्यति बेला कम चासो राखेकोमा पछुताउ गरेका छन् । उनले पुस्तकमा त्यस्ता श्लोकहरु पनि दिएका छन् ।

‘संस्कृत, संस्कार र संस्कृति’ शीर्षकको आलेखमा लेखक बरालले हिन्दु दर्शनका कारण नेपालीहरु संसारमा सबभन्दा खुशी रहेको उल्लेख गरेका छन् । यो दाबी गर्दा उनले अर्थ–समाजशास्त्रीय अध्ययनको पक्षलाई भने बेवास्ता गरेका छन् ।

उनी अझ लेख्छन्– …भाग्यलाई विश्वास गर्ने कारण पूर्वीय दर्शनमा विश्वास गर्नेहरुमा विसंगती छैन । …पश्चिमा दर्शनमा यसको अभाव छ । त्यसले गर्दा पश्चिमाहरु दुःखी छन्, विसंगत छन् ।

हिन्दु धर्म–दर्शनप्रति श्रद्धाको अधिकताका कारण लेखकले अन्य धर्मावलम्बीलाई दुःखी र विसंगत भन्न पुगेको अनुमान गर्न सकिन्छ । यसलाई सन्तुलित लेखकीय अभिमत भन्न चाहिँ सकिन्न ।

पढ्न थालेपछि एकपछि अर्को लेखमा मेलो सर्दै जाने यो कितावको आवरणले भने धेरै पठकलाई तर्साउने खतरा छ । विजुलीको बल्बभित्र रशायनशास्त्र र भूगोलदेखि परमाणु विज्ञानसम्मका संकेत चिह्नले किताबलाई पाठ्यपुस्तक वा गाइड जस्तो देखाएको छ ।

होम भट्टराईले सम्पादन गरेको सिकाइ र सहयोग मा सम्भवतः प्रकाशनको हतारोले हुन सक्छ, अलि अनौठो लाग्ने वाक्यांस निकै परेका छन् । जस्तो– नाक खुम्च्याएको प्रत्यक्ष अवलोकन, चिसो हुने उच्च उचाइमा, …मास, भटमास, मस्याम, पिडालुजस्ता लहरे तरकारी, कुखुराका बुबाआमा, विशेषज्ञ वैज्ञानिक, नवयुवक बालक, भर्खरका युवाहरु आदि ।

‘रातिको समयमा ट्रेकिङमा नजानुहोस् र जोर्नीहरुमा लगाउने पट्टिहरु बोक्नुहोस्’, ‘कुकुरलाई घरभित्र पस्ने अनुमति थिएन’, निम्ता नगर्नु पर्नेको सूची’, ‘तिनमा (तरकारीहरुमा) मानव शरीरका लागि आवश्यक पर्ने महत्वपूर्ण तत्वहरु पाइदो रहेछ’, ‘सुन्न नसकेका कारण बोल्न नसक्ने भएकाले उनीहरुको श्रवण शक्ति हुदैन’ जस्ता वाक्यहरु पाठकले सहजै ‘हजम’ गर्न सक्तैनन् ।

किताबमा बनाउनु, चलाउनु, दिनु, हेर्नु, सक्नु, पाउनु, जन्मनु जस्ता कृयापदलाई निषेधै गरिएजस्तो लाग्छ । कितावमा मकै फल्दैन, उत्पादन हुन्छ । खच्चर, पाठो वा सन्तान जन्मदैन, उत्पादन मात्र हुन्छ । सर्प आउन सक्ने प्वाल हेरिदैन, अवलोकन गरिन्छ । तालिम दिइँदैन, कि प्रदान गरिन्छ कि त उपलब्ध गराइन्छ । भाषाको यस्तो प्रयोगले सलल बगेका लेखहरुको मिठो नेपालीमा भाँजो हालेझैं लाग्छ ।

समग्रमा पुस्तक पठनीय र संग्रहणीय पनि छ । सांग्रिला बुक्सले बजारमा ल्याएको सिकाइ र सहयोग  झट्ट हेर्दा विद्यार्थी वर्गको लागि जस्तो देखिए पनि सबैखाले अध्यवसायका पाठकलाई मनपर्ने खालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment