Comments Add Comment

१ भदौपछि हवाइजहाज खुले नेपाल आउन भिसा लिने कसरी ?

१९ साउन, काठमाडौं । सरकारले १ भदौबाट व्यावसायिक उडान खोल्ने निर्णय गरेपछि विमानस्थल र विमान कम्पनीहरुले सोहीअनुसार तयारी गरेका छन् ।

आन्तरिक उडानमा त धेरै समस्या छैन । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने निर्णय सुनाउनासाथ जहाज चढेर मानिसले यात्रा थाल्नेछन् । तर, विदेशबाट नेपाल आउनेको हकमा के हुन्छ ?

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी विदेशी नागरिक नेपाल आउन चाहे कस्तो प्रक्रियाबाट भिसा दिने, कस्ता प्रावधानहरु राख्ने भन्ने टुंगो लगाउन स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्नुपर्ने भएकाले ढिला भइरहेको बताउँछन् । विभागको प्रस्ताव भने गृह मन्त्रालयमा पुगिसकेको छ ।

उनका अनुसार स्वदेश फर्कन चाहने नेपाली हकमा पनि धेरै समस्या छैन । विदेशमा पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको ७४ घण्टा भित्रको रिपोर्ट बुझाए नेपालीले सजिलै प्रवेश पाउनेछन् । उनीहरु नेपाल आइसकेपछि होटेल वा तोकिएको क्वारेन्टिन स्थलमा बस्ने छन् ।

विदेशी नागरिकको हकमा यति सजिलो प्रावधान पक्कै हुने छैन । के–के प्रावधान राख्ने भन्ने चाहिँ टुंगो लाग्न बाँकी छ ।

अध्यागमन विभागको प्रस्ताव

अध्यागमन विभागले केही समयमा लागि अनअराइभल भिसा बन्द गर्ने र दिनैपर्ने भए निश्चित व्यक्तिलाई मात्र दिने प्रस्ताव गरेको छ ।

खासगरी गैरआवासीय नेपाली, कूटनीतिक नियोगका कर्मचारी र सरकारी अफिसियलका लागि निश्चित संख्या तोकेर अनअराइभल भिसा दिने व्यवस्था गर्न विभागको प्रस्ताव गरेको छ । अन्यको हकमा सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट भिसा लिने र नेपाल आइसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान राख्नुपर्ने अध्यागमको प्रस्ताव छ ।

नेपाल आउने क्रममा विमानस्थल, वायुसेवा कम्पनी र सम्बन्धित मुलुकका स्वास्थ्य प्रोटोकल समेत मान्नुपर्ने शर्त राख्नुपर्ने विभागको प्रस्ताव छ ।

निर्णयमा ढिलाइ हुनुको कारण

सरकारले १ भदौबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भने पनि कोरोना संक्रमण बढिरहेकाले त्यसबेला कस्तो परिस्थिति होला भन्ने अनुमान गर्न मुस्किल छ । गृह र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि द्विविधामा छन् ।

कोरोना महामारी नियन्त्रणमा अपनाइएका विधिहरु अपनाउँदै पर्यटकलाई नेपाल आउन दिनुपर्नेमा पर्यटन मन्त्रालयको जोड छ । ‘१४ दिन क्वारेन्टिन बस्ने पुरानो अभ्यास हो’, मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अब बढीभन्दा बढी परीक्षण र अत्याधिक सचेतनासहित पर्यटकीय गतिविधि सुचारु गर्नुपर्छ ।’

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी पनि १४ दिनको क्वारेन्टिन अवधि राख्दा पर्यटक नै नआउने बताउँछन् । अब परीक्षण क्षमता बढाउनु पर्नेमा उनको जोड छ ।

कोरोनाबाट अतिप्रभावित ८ मुलुकका नागरिकलाई गत २७ फागुनबाट अनअराइभल भिसा दिन बन्द गरेकोमा त्यसको चार दिनपछि ३० गतेबाट सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको थियो ।

त्यसपछि ९ चैतबाट अन्तर्राष्ट्रिय उडान नै रोक्ने निर्णय गरेको सरकारले ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment