Comments Add Comment

अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न कर्मचारी युनियनको माग

१९ साउन, काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी युनियनले अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न माग गरेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा देखिएको कोरोना भाइरसको संक्रमणलाई ख्याल गरेर यस्तो आग्रह गरिएको युनियनले सोमबार जारी गरेको अपिलमा उल्लेख छ ।

संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थपन समिति, संसदका पदाधिकारी र र संसदका महासचिवलाई सम्बोधन गरिएको पत्रमा समितिका बैठक, संसदीय दलका बैठकहरु र त्यसमा संलग्न व्यक्तिहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

‘संघीय संसदको दुवै सभा अन्तर्गतका संसदीय समितिका बैठक, संसदीय दलका बैठक र संसदीय समितिको स्थलगत अनुगमन जस्ता कार्यमा सरिक हुने मानीयहरु र सचिवालयका कार्यरत कर्मचारीहरु यतिबेला कोरोना भाीरसको सङ्क्रमणको उच्च जोखिममा रहेका छन्’ पत्रमा उल्लेख छ ।

युनियनले सचिवालयमा कार्यरत कर्मचारीलाई आवश्यकताबाहेक शाखाबाट बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

वैज्ञानिक वन व्यवस्थापनबारे स्थलगत अनुगमन गर्न गएका लेखा समितिद्वारा गठित उपसमितिका संयोजक प्रदीप यादवलाई कोरोना भाइरसको संक्रमण भएको छ । उक्त टोलीमा गएका सांसद र कर्मचारीहरु हाल क्वारेन्टिइनमा छन् ।

सभामुखकै अगुवा गाडीको ड्राइभरका रुपमा कार्यरत नेपाल प्रहरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

उपत्यकामा देखिएको सङ्क्रमण दर र संघीय संसदमै आवतजात गरिरहने व्यक्तिहरुमा संक्रमण देखिएका कारण अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न माग राखिएको कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment