+
+

काठमाडौंलाई १८ विदेशी शहरसँग जोड्ने गरी १२ वायुसेवा कम्पनीले मागे उडान अनुमति

अच्युत पुरी अच्युत पुरी
२०७७ साउन २० गते ११:३५

२० साउन, काठमाडौं । कोरोना महामारीको बीचमा सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । सोहीअनुसार सोमबारसम्म एक दर्जन वायुसेवा कम्पनी तत्काल उडानका तयारी तयार देखिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार सोमबारसम्म १२ वटा कम्पनीले काठमाडौंलाई विभिन्न मुलुकका १८ शहरमा जोड्ने गरी उडान अनुमति मागेका छन् ।

यसमा स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत रहेका छन् । यसबाट कुन कम्पनीलाई कुन गन्तब्यमा कतिसम्म उडान अनुमति दिने भन्ने निर्णय भने भइसकेको छैन ।

अर्कोतर्फ सरकारले पहिलो चरणमा कुन कुन मुलुकबाट जहाज चढेर नेपाल आउन पाउने भन्ने समेत स्पष्ट नपारेका कारण प्राधिकरणले उडानको अनुमति भने दिइसकेको छैन । ‘यो कम्पनीहरुबाट आएको प्रस्ताव हो,’ उनले भने, ‘हामीले दिने अनुमति छलफलकै क्रममा छ ।’

सातामा १५८ वटा उडान गर्न अनुमति माग

सोमबारसम्म कम्पनीहरुले साताको कुल १ सय ५८ वटा उडानका लागि प्राधिकरणसँग अनुमति मागेका छन् । यसमध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सले ५७ वटा उडानका लागि अनुमति माग गरेको छ ।

दोस्रो स्थानमा एयर अरेबियाले सातामा ३५ उडानका लागि अनुमति मागेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । हिमालय एयरलाइन्सले सातामा २१ उडानका लागि अनुमति मागेको छ ।

कुन एयरलाइन्सले कुन गन्तब्यका लागि मागे अनुमति ?

  एयरलाइन्स  गन्तब्य माग उडान संख्या/साता 
टर्किस एयरलाइन्स इस्तानबुल
सलाम एयर मस्कट
इण्डगो एयर दिल्ली
चाइना साउदर्न ग्वाङझाउ
एयर चाइना छेन्दु
जजिरा एयर कुवेत
फ्लाई दुबइ दुबई
हिमालय एयरलाइन्स चोङगिङ (१), दोहा (५)आवुधावी (४), दमाम (७) क्वालालाम्पुर (४) २१
नेपाल एयरलाइन्स दिल्ली (१४), बैंलौर (३), मुम्बई (७), ग्वाङझाउ (३), दुबई (७), दोहा (७), क्वालालाम्पुर (७), नारिता (३), बैंकक (३) र हङकङ (३) ५७
मलेसिया एयरलाइन्स क्वालालाम्पुर
मालिन्दो एयर क्वालालाम्पुर १४
एयर अरेविया आबुधावी (७), सारजाहा (२८) ३५

स्रोतः नेपाल नागरिक उड्डयन प्राधिकरण

साविकको तुलनामा २५ प्रतिशत मात्र उडान

प्राधिकरणका अनुसार १ भदौमा शुरु हुने उडानमा साविकको तुलनामा कम्तिमा २५ प्रतिशत मात्र उडानलाई अनुमति दिइनेछ । अहिले आएको माग अनुसार दैनिक झण्डै २३ उडानको माग छ ।

साविकमा त्रिभुवन विमानस्थलमा दैनिक औसतः ४ सय वटासम्म राष्टिय-अन्तराष्ट्रिय उडान-अवतरण हुने गथ्र्यो । त्यसमध्ये ९० वटासम्म अन्तराष्ट्रिय उडान-अवतरण हुने गरेको छ । तर, अहिले टर्मिनलमा भिडभाड नहोस भनेर केवल २५ प्रतिशत मात्र उडानलाई अनुमति दिइने उपमहानिर्देशक क्षेत्रीले जानकारी दिए ।

अन्तर्राष्ट्रियतर्फ एउटा जहाजका यात्रु टर्मिनलबाट बाहिर निस्किएपछि अर्को जहाजलाई अवतरणको अनुमति दिने गरी अनुमति दिइनेछ । प्रस्थानमा समेत सोही अनुसार व्यवस्थापन मिलाइने भएको छ ।

आन्तरिकमा ३३ प्रतिशत उडान अनुमति

उता, आन्तरिकतर्फ सबै वायुसेवा कम्पनीले उडान अनुमति पाउने छन् । तर, उनीहरुले पनि वाषिर्क उडान संख्याको केवल ३३ प्रतिशत उडान मात्र गर्न सक्नेछन् ।

अर्थात् एक दिनमा १ सय वटा उडान गर्ने कम्पनीले अब दैनिक ३३ वटा मात्र उडान गर्न सक्नेछन् । सोहीअनुसार कम्पनीहरुले उडानको तयारी गरेका छन् ।

यो व्यवस्थापन अनुसार बुद्ध एयरले दैनिक २१ वटा उडानको तालीका सार्वजनिक गरिसकेको छ । यति एयरले १२ र श्री एयरलाइन्सको भागमा दैनिक ८ वटा उडानको अनुमति मिल्छ ।

साना कम्पनीले समेत साविकको तुलनामा दैनिक ३३ प्रतिशतसम्म उडान गर्न सक्नेछन् । बुद्ध एयरले पहिलो चरणमा काठमाडौबाट पोखरा, भरतपुर, विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी, तुम्लिङटार र सुर्खेतका लागि उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

उक्त कम्पनीले विराटनगर-पोखरा र भैरहवा-पोखरा समेत उडान गर्नेछ । अन्य कम्पनीले भने आफ्नो उडान तालिका सार्वजनिक गरिसकेका छैनन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?