+
+
Shares

सत्तारुढ रास्वपाकै सांसदले भने– बजेटको प्राथमिकता विनियोजन स्वीकार गर्न सकिंदैन

बजेटको प्राथमिकतामा मधेशलाई उपेक्षा गरिएको आरोप

उनले भने, ‘यो बजेटको प्राथमिकता विनियोजन एसेप्ट गर्न सक्दिनँ । म सत्ताधारी सांसद हुँ । तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ रास्वपा सांसद अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता विनियोजन आफूले स्वीकार्न नसक्ने बताउनुभयो।
  • सिंहले मधेशलाई बजेटमा समावेश नगरिएको र उखु किसानको रकम नतिर्ने उखु मिलका व्यापारीलाई किन नसमाएको प्रश्न गर्नुभयो।
  • सिंहले अर्थमन्त्री नभए पनि बजेट विनियोजनमा छलफल हुनु परम्परा भत्काउने कुरा भएको र सभामुखबाट रुलिङको माग गर्नुभयो।

५ जेठ, काठमाडौं । सत्तारुढ रास्वपा सांसद अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटमाथि भएको प्राथमिकता विनियोजन आफूले स्वीकार गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन प्राथमिकतामाथि छलफल चलिरहेको छ ।

छलफलमा भाग लिन पुगेका सांसद सिंहले आफ्नो २० वर्षे कार्यकालमा पहिलोपटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गरे ।

उनले आफू सत्तापक्षकै सांसद भए पनि बजेटको प्राथमिकता विनियोजन स्वामित्व ग्रहण गर्न नसक्ने बताए । उनले सम्बोधनको क्रममा मधेशलाई बजेटमा समावेश नगरिएकोप्रति आपत्ति जनाए ।

‘मधेश हरेक कुराबाट बञ्चित छ । खाली सुकिला मुकिलाले शासन गर्ने ? पञ्चायत, बहुदलमा पनि गरेको हो । गणतन्त्रमा गरेको हो । त्यकारण जेनजी विद्रोह भएको हो,’ उनले भने, ‘यो बजेटको प्राथमिकता विनियोजन एसेप्ट गर्न सक्दिनँ । म सत्ताधारी सांसद हुँ । तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु ।’

मधेशका किसानको मुद्दा उठाउँदै सिंहले उखु किसानको पैसा नतिर्ने उखु मिलका व्यापारीलाई किन नसमाएको ? भन्दै प्रश्न गरे ।

फरक पृष्ठभूमिका व्यापारीलाई सरकारले धमाधम पक्राउ गरेको तर किसानको रकम नतिर्ने उखु मिलका व्यवसायीलाई किन पक्राउ नगरेको ? भन्ने उनको प्रश्न थियो ।

सरकारप्रति असन्तुष्टि जनाउँदै सिंहले के के भने ?

वास्तवमा परम्परा तोड्ने नाममा सबै परम्परा तोडिंदैन । बजेटको विनियोजन प्राथमिकता हुँदा अर्थमन्त्री जहिलेपनि बस्ने सिस्टम छ, परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । परराष्ट्र मन्त्रालयको बजेट त्यहीँ जान्छ । किनभने यो म रेकर्ड गराउनका लागि मात्रै बस्दैछु ।

हामी पाँचौंचोटीको सांसदले पनि सबै परम्परा भत्काउँदै गयो भने यो संसद्को औचित्य समाप्त हुन्छ । पार्लियामेन्ट्रि सिस्टमको समाप्त हुन्छ । हाम्रो देश, हाम्रो संविधानले पार्लियामेन्ट्रि सिस्टमको अंगीकार गरिरहेको छ । जहाँ सबै सांसद बराबर हुन्छ । प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि जनताको कुरा राखिन्छ । म पहिलोचोटी २० वर्षको कार्यकालमा पहिलोचोटी देख्दैछु, अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन हुँदैछ । यो कस्तो परम्परा सुरु हुँदैछ ? नयाँको नाममा सबै चिज भत्काउने होइन । त्यसो भए सिंहदरबार पनि भत्काऔं, प्रधानमन्त्री पद पनि भत्काऔं, मन्त्री पद पनि भत्काऔं । सबै चिज चेन्ज गरौं न । किनकी औचित्यपूर्ण हुनुपर्छ । जति व्यस्त भए पनि एक दुई दिन छलफल चल्छ, अर्थमन्त्रीले बजेट बनाउने होइन, टिमले बनाउने हो । अर्थमन्त्रीले त पोलिसि गाइड गर्ने हो । म विषयमा जान चाहन्छु, मन्त्री नभए पनि कम्तीमा रेकर्डमा रहोस् ।

विनियोजन पढ्दा मधेशका लागि केही पनि देखिएन । जो राणाकालदेखिको हुलाकी राजमार्ग छ, हुलाकी शब्द पनि लेखिएको छैन । राणाकालदेखि बनेको हुलाकी राजमार्ग आजसम्म बनेको छैन ।

दोस्रो, जहिले पनि विकास निर्माण जनताका लागि हुन्छ । मधेशको सबै इन्डिकेटर ह्युमन डेभलपमेन्ट इन्डेक्समा हेर्दा कर्णालीको भन्दा पनि बिलो छ । त्यसका लागि स्पेशल प्याकेजको घोषणा हामीले सोचेका थियौं । किनकी मधेशको यो सरकारमाथि अधिकार किन छ भने सबैभन्दा बढी भोट मधेशले दिएको छ ।

म भर्खरै हिजो मात्रै आएँ । मधेश विस्फोटको स्थितिमा छ । त्यो विस्फोट हुनुअघि उपचार गरौं । किनभने न उसको सत्तामा अनुहार छ, न नियुक्तिमा अनुहार हुन्छ । यस्तो हुँदैन । राज्य सबैको हो । म एउटा कुरा बुझ्न चाहन्छु, मेरो क्षेत्र वा मधेशको दलित समुदायको खोइ देश ? मधेशको दलितलाई सांसद बन्ने पनि अधिकार छैन ? दलितको सांसद बन्ने पनि अधिकार छैन ? मेरो गाउँको चमार, दुसाद, मुसहरको के गल्ती ?

मधेशमा चुरेको संरक्षण सबैभन्दा बढी जरुरी छ । चुरेको संरक्षण नभइ भूमिगत पानीको लेभल हुँदै हुँदैन ।

एउटा पनि मेडिकल र एग्रिकल्चर कलेज किन बनाउन सकेन ? अहिले पनि योजनामा कहिँ पनि छैन । सैद्धान्तिक कुरा गर्न सकिन्छ, व्यवहारिक कुरा गर्नका लागि जनताकै घर दैलोमा जान पर्छ ।

किसानको उखु चिनी मिलले लिएको छ । फरक व्यापारी समातिन्छ, चिनि मिलको मालिक किन समातिँदैन । शेखर गोल्छा, शुलभ अग्रवाल र बैंकर समाउन मिल्ने ? दुनियाँमा कहीँ पनि बैंकर र व्यवसायी एउटै हुँदैन ।

मधेश हरेक कुराबाट बञ्चित छ । खाली सुकिला मुकिलाले शासन गर्ने ? पञ्चायत, बहुदलमा पनि गरेको हो । गणतन्त्रमा गरेको हो । त्यकारण जेनजी विद्रोह भएको हो ।

यो बजेटको प्राथमिकता विनियोजन एसेप्ट गर्न सक्दिनँ । म सत्ताधारी सांसद हुँ । तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु ।

अन्त्यमा सभामुखज्यूबाट रुलिङ होस्, अर्थमन्त्रीको सामुन्नेमात्रै बजेट विनियोजनको कल्पना हुन्छ । अरु मन्त्री यसमा प्रतिनिधित्व गर्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?