
२१ साउन, बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ को राजधानी विराटनगरमा संक्रमण बढ्दो छ । संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले लकडाउ आहृवान गरेको छ । तर, यसको पूर्णरुपमा कार्यान्यन भएको छैन ।
संक्रमित बढ्दै जाँदा आइसोलेसन बेडको पनि अभाव भएको छ । विराटनगरसँगै इटहरी र धरानमा पनि ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिएका छन् । स्थानीय सरकारले समुदायमै संक्रमण फैलिएको दाबी गर्दै आएका छन् । तर, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे यसलाई मान्न तयार छैनन् ।
जोखिम बढ्दै जाँदा केन्द्र र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो स्थानीय तहबाट आउन थालेको छ ।
प्रदेश १ मा संक्रमण बढ्दै गएको अवस्थामा प्रदेश सरकारको तयारी बारे यहाँका सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग गरिएको सम्वादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ –
प्रदेश १ मा संक्रमितहरुको संख्या बढिरहेको छ । अहिलेको अवस्थालाई प्रदेश सरकारले कसरी विश्लेषण गरेको छ ?
कोरोनाको अवस्थालाई तीन तहमा हेर्नुपर्छ । लकडाउनअघि, लकडाउनका बेला र लकडाउन पछिको अवस्था । अहिले हामी तेस्रो चरणमा प्रवेश गरेका छौं । लकडाउन खुकुलो भएपछि हिजो न्यूनीकरण हुँदै गएको संक्रमण हृवात्तै माथि आयो । अबको सन्दर्वमा हिजो लिएका रणनीतिक योजनाभन्दा पृथक ढंगले सोच्नुपर्छ ।
नयाँ ढंगले प्रकोपको सामना गर्नुपर्ने स्थिति देखिन्छ । लकडाउनअघि र लकडाउनको अवस्थामा हाम्रो तयारी राम्रो थियो । लकडाउनपछिको अवस्थामा भने हाम्रो तयारी कम भएको छ ।
प्रदेश १ मा समुदायस्तरमा संक्रमण पुगिसकेको हो कि होइन ?
कोरोना संक्रमणको विभिन्न चरणको मापन विश्व स्वास्थ्य संगठन-डब्लूएचओ)ले तय गरेको छ । डब्लूएचओको मापन अनुसार भन्दा अहिलेको नेपालको सन्दर्भमा समूह संक्रमण भन्छ । यसलाई समुदाय संक्रमणका रुपमा परिभाषित गरेको छैन । यहाँ पनि संक्रमणका निश्चित पोइन्टहरु छन् ।
बिराटनगरमा मुख्यतः संक्रमणको थलो बिराट अस्पताल हो । बिराटबाट कोशी अस्पतालमा पुगेको छ । विराटबाटै न्यूरो अस्पतालमा पुगेको छ । एवं रुपले अन्यन्त्र फैलिएको छ ।
अर्काे पोइन्ट सुरक्षा निकाय देखिन्छ । सुरक्षाकर्मी पनि समूहमा बस्छन्, समुहमा हिँड्ने भएकाले त्यो समूहमा बढी देखिन्छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाटै संक्रमण बाहिर गएको विश्लेषण छ ।
अर्काेतर्फ भारतबाट लुकीछिपी भित्रिनेबाट पनि कारोना सरेको छ । लकडाउन खुलेसँगै भारतबाट आउने नाकामा भएको कडाइ लुज भयो । त्यहाँबाट पनि प्रकोप आयो । बिहारमा प्रकोप द्रुत गतिमा बढेको छ । बिहारको प्रकोप पनि आएको हुन सक्छ ।
प्रदेश २ को सिराहा-सप्तरीमा प्रकोप तिब्र छ । त्यहाँसम्म हाम्रो सामाजिक सम्बन्ध निकट भएकाले औषधि उपचारलगायत अन्य काममा आवत-जावत ठूलो हुन्छ । त्यहाँबाट पनि कोरोना भाइरस आएको हुन सक्छ ।
तपाईंले समुदायमा पुगिसकेको छैन भन्नुभयो । तर, बिराटनगरमा संक्रमणको स्रोत नभेटिएका संक्रमतिहरु त धेरै छन् नि ?
अहिलेको संक्रमणको स्वरुपलाई समूह संक्रमण भन्छ । हामीले डब्लुएचओलाई आधार मान्ने हो । हामीले छुट्टै मापदण्ड बनाउने कुरा भएन । विहारमा तिब्र संक्रमण छ । तर, डब्लुएचओले बिहारमा पनि समूह संक्रमण भन्छ ।
अहिले हाम्रोमा देखिएको संक्रमण कस्तो छ भने समग्र देशको संक्रमणको डाटा हेर्दा प्रति १८ जनाको जाँच गर्दा एकजनाको रिपोर्ट पोजेटिभ देखिन्छ । प्रदेशमा ४३ जनाको गर्दा १ जनाको देखिन्छ । तुलनात्मकरुपमा संक्रमण कम छ ।
तर, त्यसो भन्दैमा ढुक्क हुने अवस्था छैन । हामीले आइसोलेसन सेवा विस्तार गर्ने योजना बनाएका छौं । कोशी कोभिड-१९ अस्पतालमा बेड थप हुँदैछ । विराटनगरमा २०० बेड थप्ने योजना छ ।
अहिलेको अवस्थालाई नियन्त्रण गर्ने योजना के छ ?
अहिलेको अवस्था नियन्त्रण गर्न औपचारिक मार्गचित्र नै त तयार गरेका छैनौं । हाम्रो परामर्श भइरहेको छ । मुख्यमन्त्रीज्यू काठमाडौंमा हुनुहुन्छ । मुख्यमन्त्रीज्यू नहुँदा औपचारिक निर्णय गरेर सरकारको धारणा र कार्ययोजना सार्वजनिक गर्न सकिएको छैन । मुख्यमन्त्रीज्यू आएपछि हामी एकपटक छलफल गरेर आगामी योजना बनाउछौं ।
देशभरमा परीक्षण गर्ने धेरै क्षमता हामीसँग छ । स्वीस सरकारले दिएका दुईवटा मेसिन जडानपछि हामी दैनिक एक हजार चारसयसम्म पीसीआर जाँच गर्न सक्छौं । परीक्षणको दायरा बढाएका छौं । नियन्त्रणका लागि अरु विकल्पका बारेमा परामर्श गर्दैछौं ।
संघीय सरकारसँग प्रदेशले गर्ने अपेक्षा के छ ?
अब हामीले संघीय सरकारले गर्छ भनेर मुख ताकेर मात्रै बस्ने भन्ने हुँदैन । संघीय सरकारले नीतिगत काम गर्दिओस् । साधन स्रोत उपलब्ध गराओस्, प्राविधिक जनशक्तिको पूर्ति गर्दियोस् ।
स्थानीय पालिकाले रोकथामको काम गरेका छन् । तीन तहकै सरकारले आफ्नो क्षमताअनुसार काम गरेका छन् । तर, पर्याप्त नहोला ।
स्रोत साधनले भ्याएसम्म हामीले कोरोना नियन्त्रण गर्न अधिकतम काम गरेका छौं । परीक्षणको दायरा बढेको छ । आइसोलेसनहरु थपिएका छन् । अहिलेको तयारीले नपुग्ने भएकाले नयाँ ढंगले सोच्दैछौं ।
प्रतिक्रिया 4