Comments Add Comment

हिंसाका विरुद्ध आफैसँग कहिलेसम्म लडिरहने ? ज्योतीसँग छैन जवाफ…

गायिका ज्योती मगरका गीत सुन्दा, उनको स्टेज कार्यक्रमको प्रस्तुती हेर्दा कतिपयलाई तडकभडक लाग्छ भने कतिपयले उच्छृङ्खल भनेर मुल्यांकन गर्छन् । ज्योतीले करिअरको सुरुवातदेखि आफूलाई हट गायिकाको रुपमा परिचित पनि गराएकी छिन् । उनका गीतमा प्रयोग हुने कतिपय शब्द त व्यक्त गर्न नसकिने खालका पनि छन् ।

उनै, गायिका विगत ५–६ बर्षदेखि मनमा पीडा लिएर हिडिरहेकी छिन् । अनलाइनखबरसँगको कुराकानीका क्रममा ज्योतीले मनको पीडा खोल्ने कोशिश गरिन् ।

बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्यालाई जोड्दै ज्योती भन्छिन्–‘जिउँदो हुँदा साथ दिने यहाँ कोही छैन । मान्छेले आफू भित्रको समस्या आफै समाधान गर्न सक्यो भने उ बाँच्छ, होइन भने आत्महत्या गर्छ । मनका कुराहरु बाहिर सार्वजनिक गर्दा सामाजिक संजालमा होहल्ला मात्र हुन्छ । यहाँ हरेक मानिस न्याधिस हुन्छन्, समस्याको समाधान हुनु भन्दा पनि जटिल परिणाम आइरहेका छन् ।’

ज्योतीले २१ औं शताब्दी भनेपनि महिलाहरु पीडित हुने क्रम नरोकिएको बताइन् । भनिन्–‘हाम्रै म्यूजिक क्षेत्रमा पनि कैयौं महिलाहरु पीडित छन् । तर, उनीहरु यो कुरा भन्ने हिम्मत नै गर्दैनन् । शताब्दी २१ औं भएपनि महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । यो लडाई आफै लड्ने हो, जसले आफूलाई जित्छ उही नै बाँच्छ ।’

ज्योती लामो समयदेखि आफू घरेलु, यौन हिंसाबाट पीडित भएको सुनाउँछिन् । तर, कानुनी सहारा लिदा झनै सामाजिक रुपमा यातना मिल्ने भएकाले यसलाई सुनाउन नसकेको उनको तर्क छ । ज्योतीले अहिले आफूले यो लडाई आफैसँग लडिरहेको सुनाइन् । पीडा दिने व्यक्तिसँग उनी लड्न सकिरहेकी छैनन् ।

ज्योती आफू आफ्नै नजिकका मानिसहरुबाट पीडित भएको बताउँछिन् । कतिपय त मिडिया क्षेत्रको मानिसहरु पनि भएको उनको भनाई छ ।

ज्योतीले भनिन्–‘मलाई सबैभन्दा बढी पीडा त्यतिबेला हुन्छ, जतिबेला मलाई नै पीडित बनाएको पुरुषले आफ्नै आँखा अगाडि अरु यूवतीलाई पनि पीडित बनाउँछ । म उनीहरुका लागि पनि केही बोल्न सक्दिनँ ।’

स्टेज कार्यक्रमका लागि विभिन्न स्थानमा पुग्दा आयोजकदेखि विभिन्न व्यक्तिहरुले गर्ने गरेको विभिन्न खालका हिंसा समेत भोगेकी ज्योतीले भावूक हुँदै अनलाइनखबरसँग भनिन्–‘एक पटक आयोजकले मलाई १ घन्टा गीत गाएको ८० हजार दिनुभयो । तर, होटलसम्म मलाई छाड्न आउँदा ‘रात बिताएको रेट’ सोध्नुभयो । यस्ता घटनाहरुले बारम्बार आँखाबाट आँशु बग्छ । तर, कसलाई भन्ने, मसँग प्रश्न छ, जवाफ छैन ।’

उनले, आफ्नै नजिकका मानिसहरुबाट धेरै पटक कुटाई खाएको पनि सुनाइन् । नायिका शिल्पा पोखरेलको कानको जाली फुटेको घटना संझिदै ज्योती भन्छिन्–‘त्यो घटना बाहिर आउँदा सबैभन्दा बढी दुख मलाई लागेको थियो । किनकी, मेरो पनि कसैको पिटाइबाट कानको जाली फुटेको थियो ।’

यस्ता कुराहरु मनमा लिएर हिडिरहँदा करिअरमा ठूलो असर गरेको ज्योती बताउँछिन् । ‘एकपटक गीत रेकडिङका लागि स्टूडियोमा प्रवेश गर्दा गाउन नसकेर निस्किएकी छु । ममा भएको इनर्जीमा त कमी आएको छैन । तर, समयमा गर्नुपर्ने काम मैले गर्न सकिरहेकी छैन ।’

ज्योतीले अझै पनि महिला कलाकारलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नभएको दुखेसो व्यक्त गरिन् । विगत ५–६ बर्षदेखि राम्रोसँग ननिदाएकी ज्योतीको मनमा पीडाको थुप्रो छ । तर, यसलाई चिर्ने कसरी उनीसँग कुनै आइडिया छैन । मात्र, ज्योती आफैसँग लडिरहेकी छिन् । तर, कहिलेसम्म ? जवाफ उनीसँग पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment