Comments Add Comment

विधानमै लेखेको छ- बहुमतको निर्णय पार्टीको निर्णय !

बैठकबाट डराउने नेता, पानीबाट डराउने किसानको काम छैन

कम्युनिस्ट पार्टीलाई नेपाली जनताले ठूलो आशा र विश्वासका साथ मुलुकको बागडोर सम्हाल्न अवसर दिएका छन् । हाम्रो घोषणापत्र र एकताको डकुमेन्टमा अघि सारिएका विचारहरुका आधारमा जनताबाट विश्वास पाएका हौं । जनताका अपेक्षा, चाहनाहरु कति मात्रामा पूरा गर्न सक्यौं, सकेनौं छलफल गर्ने ठाउँ पार्टी कमिटी हुन् । केन्द्रको हकमा केन्द्रीय कमिटी हो । त्यो नससकेको अवस्थामा पोलिटब्यूरो हुनुपर्ने हो । तर, अहिलेसम्म बनेको छैन । विधानको सिधै उल्लंघन भएको छ । त्यसपछि रहेको स्थायी कमिटी त तर्साउने भूत भएको छ । बैठकको नाम लियो कि राति निद्रा नलाग्ने अवस्था भएको छ ।

पार्टीका निकायहरु सचिवालय होस् वा प्रदेश, जिल्ला कमिटीहरु, जनवर्गीय संगठनसम्बद्ध कमिटीहरु नियमितरुपमा सञ्चालित हुनुपर्ने हो । तर, पार्टी एकीकरणका काम टुंग्याउने भनेर धेरैपटक प्रतिवद्धता जाहेर गरियो, त्यो समयमा कहिल्यै हुन सकेन । जबकि एकीकरणको यो काम टुंग्याउन कुनै गाह्रो छैन । पहिलो दिन बसेर एउटा विधि तोकिदिएको भए एक हप्तामा गर्न सकिन्थ्यो । हाम्रो आफ्नो-आफ्नो अनुभवको श्रृखला छ र विगतमा पनि हामीले बडो कुशलताका साथ काम गरेका छौं । अहिले पनि गर्न सकिन्छ । तर, विधिमा पर्छ ।

पारदर्शी ढंगले नचल्ने, म नै राज्य हुँ, म नै पार्टी हुँ भन्ने मान्यता भएकाले एकीकरणको काम पूरा हुन सकेको छैन । अहिलेसम्म पनि सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, लेखा, निर्वाचन कुनै पनि कमिटी बनेको छैन । यो सबै हेर्दा एक प्रकारले लठिभद्र अवस्था छ । पार्टी कागजमा सीमित हुन पुगेको छ । हजारौं हजार कार्यकर्ता असंगठित अवस्थामा छन् । र, यस्तो भएको पनि हप्ता वा दिन होइन, वर्षौं बितिसकेको छ । तर, चिन्ता हुनुपर्ने ठाउँमा चिन्ता छैन ।

अझ के ब्याख्या गर्न खोजिँदैछ भने म त महाधिवेशनबाट आएको हुनाले कसैले हटाउन सक्दैन । यसबारे धेरै बताइरहनु पर्लाजस्तो लाग्दैन । आ-आफ्नो पार्टीको केन्द्रीय कमिटीले अधिकार प्रयोग गरेर तत्कालीन दुई पार्टीका अध्यक्षले २०७५ जेठ ३ गते दुबै पार्टी विघटन गरियो, नयाँ पार्टी र त्यसको संगठनात्मक स्वरुप अगाडि सारियो । केन्द्रीय समिति घोषणा गरियो । बैठक बस्यो र अनुमोदन गर्‍यो । र, त्यसकै आधारमा विधान बन्यो र सिंगो पार्टी त्यही विधानबाट चल्नुपर्छ, कसैको मनोगत व्याख्याबाट होइन ।

तपाईहरुले के बुझ्नुपर्छ भने यो पार्टी कुनै व्यक्तिविशेषले चलाइरहेको छ कि ? यो भ्रममा रहनुहुँदैन । हामी सबैको आ-आफ्नो जिम्मेवारी होला, त्यो जिम्मेवारी विधानले गरेको व्यवस्था अनुसार होला । विधान पल्टाएर हेरौं, पार्टी अध्यक्षका अधिकारहरु के-के छन् ? पार्टीको घोषणामा के लेखिएको छ ?

एकजना सम्मानित व्यक्ति मकहाँ आएर भन्नुभयो, दुईनेताका बीचमा सहमति हुन नसक्दा, महाधिवेशनसम्म सहमतिबाटै चल्नुपर्ने भएकाले कमरेडले विचौलियाको भूमिका खेल्नुपर्‍यो ! यहाँ विचौलियाहरु बदनाम भइरहेका छन्, मैले पो विचौलियाको भूमिका खेल्नुपर्ने रे !

अनि मैले उहाँलाई विधान पढेर सुनाएँ, दङ्ग पर्नुभयो । ल हेर्नुस्, मसँग ओरिजिनल कागज छ, यहाँ त प्रष्ट लेखेको छ, पार्टी भनेको नेकपाको संगठनात्मक सिद्धान्त, सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वका आधारमा सञ्चालित हुनेछ । पार्टीका सबै निर्णयहरु संगठनात्मक प्रणालीका आधारमा हुनेछ, विधानले गरेको आन्तरिम व्यवस्थाका आधारमा हुने छ ।

अनि विधान पल्टाएँ, धारा ६० मा आँखा गयो । चस्माको पावर कम हुनेले पनि पढ्न सक्ने गरी बोल्डमा लेखेको रहेछ, बहुमतको निर्णय पार्टीको निर्णय । केही कन्फ्युजन नरहने गरी कस्तो बुद्धि पुर्‍याइएछ त्योबेला । शीर्षक नै लेखिएको रहेछ, बहुमतको निर्णय पार्टीको निर्णय । तर, अहिले स्थायी कमिटीमा भएकाहरुले कस्तो ब्याख्या गर्दैछन् भने महाधिवेशनसम्म जम्मै कुरो सहमतिबाट हुन्छ !

ती मित्रले बिर्सिए, माधव नेपाल पनि यही कमिटीको एउटा महत्वपूर्ण व्यक्ति हो, सुरुदेखि कराइरहेको छ । फरक मत राख्नुस् भनेपछि खुरुक्क राखेर बसेको छ । हामी फरक मत राखेर बस्दा हुने, अध्यक्ष फरक मतमा रहन सक्दैन ? अध्यक्षको पनि फरक मतमा रहन सक्छ ।

सचिवालय छ भने ५ जनाले गर्ने कमिटीको निर्णय हुन्छ । विवाद भयो भने स्थायी कमिटीमा जान्छ । त्यहाँबाट बहुमतले गर्ने निर्णय पार्टीको हुन्छ र केन्द्रीय कमिटीमा जान्छ । महाधिवेशन अगाडि केन्द्रीय कमिटी अन्तिम निकाय हुन्छ र बहुमतले निर्णय गर्न सक्छ ।

यसबारे तपाईहरु पनि प्रष्ट हुनुस्, पार्टी विचार, नीति र पद्दतिबाट चल्छ । र, यो सबैले पालना गर्नुपर्छ । आफ्नो आफ्नो तहको कमिटीभित्र कमिटी प्रणालीबाट चल्नुपर्छ । अहिले यसमै समस्या खडा भएको छ ।

समाजवादको कुन मोडलमा जाने ? बहुदलीय जनवादबारे के लेखिएको थियो ? पार्टीमा बहस गर्न सकिन्थ्यो । तर, यसबारे जेठ ३ को घोषणामा प्रष्ट देखिएको छ । हाम्रा लागि राष्ट्रको हित पहिलो हो । दोस्रो, जनताको हित हाम्रो केन्द्रविन्दुमा हुनेछ । तेस्रो, हामी कम्युनिस्ट भएकाले कम्युनिस्ट पार्टीको हित केन्द्रमा हुनेछ । त्यसबाटै हामी गाइडेड हुनुपर्छ । व्यक्ति गौण हुन्छ । मान्छे आउँछन्, जान्छन्, आन्दोलन चलिरहन्छन् ।

यसै सन्दर्भमा मैले हेरेँ समस्या कहाँ छ त ?

पार्टीको बैठक समयमा नबस्ने । तपाईहरु देख्दै हुनुहुन्छ, अहिले हाम्रा अध्यक्ष र वरिष्ठ नेता सधैं धाइरहनुभएको छ बालुवाटारमा फकाउनका लागि । एकजना कमरेडले -म्यासेज) पठाउनुभएको थियो, बैठकबाट डराउने नेता, पानीबाट डराउने किसान … को केही काम छैन । पार्टीको बैठकमा त हामी जस्तोसुकै विषयमा छलफल गर्दै आएका छौं । रातोपिरो भएको छ, ताततातो भएको छ र, हल पनि भएको छ । सहमतिबाट भए सहमतिबाट, नभए बहुमतबाट हल हुन्छ । हामी कहिले बहुमतमा रहेका छौं, कहिले अल्पमतमा रहेका छौं । आफ्नै कमिटीका मान्छेले मान्दैनन् भने जबरजस्ती गर्न पाइँदैन । त्यसो हुनाले केही असमझदारी, अविश्वास छ भने बसौं, छलफल गरौं र सहज ढंगले पार्टीलाई अगाडि बढाउने काम गरौं ।

बैठक बसे पनि गम्भीर छलफल नहुनु, बीचबाटै छाडेर जानु र निरन्तर गुटगत क्रियाकलाप जारी राख्नु अर्को समस्या हो । पार्टी विधिसम्मतरुपमा नचलाउनु र पार्टी कागजमा सीमित हुनु, जनवर्गीय संगठनको एकता टुंगो लगाउन नसक्नु, आफूखुसी आफ्ना गुटका अयोग्य मान्छे वा गोजीबाट फुत्त निकाल्दै नियुक्ति दिनु, भ्रष्ट र आसेपासेहरुको संरक्षण भएको, पार्टीमा असहिष्णु व्यवहार भएको, सरकार सञ्चालनबारे पार्टीमा सल्लाह नहुनु जस्ता समस्या पनि देखिएका छन् ।

सरकारका कामबारे जनतामा गम्भीर प्रश्न खडा भएको छ । कुनै पनि सुझाव र आलोचनाप्रति असहिष्णु भएको, पार्टीमा चरम व्यक्तिवाद र कूटनीतिक मामिलामा समेत अयोग्यता प्रदर्शन गर्दै देशलाई गम्भीर नोक्सान पुर्‍याउने काम भएको छ । विषय यो हो ।

तर, पदको लडाई हो, त्यसका लागि माधव नेपाल बालुवाटार गएर प्रभु मलाई प्रधानमन्त्री वा अध्यक्ष बनाउनुपर्‍यो भनेर भन्यो भनेर प्रचार गरिएको छ । मैले प्रष्ट भनेको छु, हामीले प्रष्ट पारेका छौं, यो पदको लडाइँ होइन । पार्टीलाई क्रान्तिकारी बनाउन, विधिसम्मत रुपमा सञ्चालन गर्न राम्रो संस्कार हुर्काउन, जनतामा आशा जगाउन र जनतामा स्थापित गराउन हो ।

हामी पदका लागि लडेका पनि छैनौं । हामीले कुनै आग्रह-पूर्वाग्रह पनि पालेका छैनौं, बदलाको भावना पनि छैन । राम्रो होस् भनिरहेका छौं । बैठकमा जानुपर्‍यो, छलफल गर्नुपर्‍यो । सहमति भए सहमति, नभए बहुमतको निर्णय मान्नुपर्‍यो । तर, आफूलाई अनुशासन नलाग्ने, अरुबारे चाहिँ कुरा गरेर केही अर्थ छैन ।

(नेकपाका बरिष्ठ नेता नेपालद्वारा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको हो । पार्टी निकटका पत्रकारसँगको सो भेलामा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल नारायणकाजी श्रेष्ठसहित चारजना नेताहरुले बोलेका थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment