Comments Add Comment

गोरखामा भारतबाट फर्केका र ससुराली आएका व्यक्ति संक्रमित

२२ साउन, गोरखा । गोरखामा बिहीवार ७ जना कोरोना संक्रमित थपिएका छन् । पालुङटार र गोरखा नगरपालिकाका तीन/तीन जना र आरुघाट गाउँपालिकाका एक जनामा बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

आरुघाटका कोरोना संक्रमित वडा नम्वर ९ का ४६ बर्षीय पुरुष हुन् । उनी यही साउन १७ गते भारतबाट आएका थिए । भारतबाट फर्केर घरमै बस्दै आएका उनलाई १९ गते भीमोदय क्याम्पसको क्वारेन्टिनमा राखिएको गाउँपालिकाले जनाएको हो । संक्रमण पुष्टि भएसँगै उनलाइ सोही क्याम्पसमा बनाइएको आइसोलेसनमा राखिएको छ ।

पालुङटार नगरपालिकाका संक्रमितमध्ये दुई पुरुष र एक महिला रहेको स्वास्थ्य शाखाका दीपेन्द्र गिरीले बताए । उनका अनुसार संक्रमण पुष्टि भएका वडा नम्वर ६ का ३५ बर्षीय पुरुष भारतीय सेनामा कार्यरत हुन् । ‘घर लमजुङ, ससुराली पालुङटार रहेछ,’ उनले भने, ‘यही साउन १५ गते ससुराली आउने क्रममा उहाँलाई रजगरे माविको क्वारेन्टिनमा राखिएको हो ।’

अर्का संक्रमित वडा नम्वर ८ का ३९ बर्षीया महिला रहेको गिरीले बताए । उनी यही साउन १३ गते भारतबाट आएर अकला माविको क्वारेन्टिनमा बस्दै आएकी थिइन् । त्यस्तै वडा नम्बर ९ का संक्रमित २४ बर्षीय पुरुष साउदीबाट आएको गिरीले जानकारी दिए ।

यही साउन ८ गते साउदीबाट आएका उनलाई मदानेडाँडा माविको क्वारेन्टिनमा राखिएको उनले बताए । उनीहरु तीनैजनाको साउन १८ गते स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । संक्रमितलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गिरीले जानकारी दिए ।

बिहीबार कोरोना संक्रमण पुष्टि भएका गोरखा नगरपालिकाका तीन जना वडा नम्बर ९ लक्ष्मीबजारका हुन् । मंगलबार कोरोना पोजेटिभ देखिएकी सोही ठाउँकी एक व्युटी पार्लर व्यवसायीको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

‘कन्ट्याक्ट ट्रेसिङको क्रममा कुल ५० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाएका थियौ,’ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले भने, ‘४८ जनाको रिपोर्ट आयो, त्यसमध्ये तीन जनामा संक्रमण देखिएको हो ।’

उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइसकिएको उनले बताए । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय १७ पुगेको छ । जसमध्ये १०५ जना निको भएर घर फर्किसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

लक्ष्मीबजार सिल

समुदायस्तरमा कोरोना देखिएपछि गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजार सिल गरिएको छ । बिहीबार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले पूर्वमा खोलखोले कट्टेलचोक, पश्चिममा टक्सार सातदोवाटो, उत्तरमा सिर्दि खोला र दक्षिणमा लुदी खोलासम्मको क्षेत्रलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

संक्रमण पुष्टि भएकी लक्ष्मीबजारकी एक व्युटीपार्लर व्यवसायीको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको क्रममा अन्य तीन जनामा पनि कोरोना देखिएपछि संक्रमण फैलन नदिन उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

कन्ट्याक्ट ट्रेसिङ कार्यलाई तीब्रता दिनका लागि सिल गरिएको उनको भनाइ छ । उक्त क्षेत्रमा थप सुरक्षाकर्मी समेत परिचालन गरिने बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment