Comments Add Comment

काठमाडौंका आइल्यान्डमा असफल भयो एरोपोनिक्स प्रणाली

२४ साउन, काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले एरोपोनिक्स प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । २०७६ जेठ ३१ गते एरोपोनिक्स प्रणालीबाट बाह्रै महिना फूल फुलाउन महानगर, नबिल बैंक र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको थियो ।

प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बाषिर्क सम्भार खर्च ८ लाख ८४ हजार रुपैयाँ र दोश्रो वर्षको वाषिर्क सम्भार खर्च १० लाख २८ हजार रुपैयाँ नबिल बैङ्कले एरोरुटलाई उपलब्ध गराउने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।

गत साउन २१ गतेबाट आपसी सहमतिमा खारेज गरिएको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

‘प्रविधिमा आधारित व्यवस्थापन भनिएकाले यसबाट हामी थप आशावादी थियौं । तर, प्रणालीबाट अपेक्षा गरिएको परिणाम प्राप्त भएन । त्यसैले सम्झौता भंग गरेका हौं ,’ उनले भने ।

काठमाडौंका आइल्याण्डमा जडान गरिएका प्रणालीमा फूल देखिन्थे । तर यसले भित्री संरचना नढाकेका कारण सुन्दर भने देखिएन । अर्कोतिर प्रणाली जडान गरिएको जमिनको स्याहार नगर्दा आइल्याण्डहरु अलपत्र भएका थिए ।

सम्झौताबमोजिम नयाँ सडक गेट अगाडि पूर्वतर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरेर सधैंँ फूल फुलिरहने आइल्याण्ड बनाउनुपर्ने थियो । प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले २ वर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा सम्भार गर्ने काम एरोरुटले गर्नुपर्ने थियो । सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि हुने व्यवस्था थियो ।

सम्झौताबमोजिम २०७६ भदौ अन्तिमसम्ममा ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाउनु पर्ने थियो । आइल्याण्डहरुमा फूल फुलाउन एरोपोनिक्स प्रणाली विकास तथा जडान गर्ने, नियमित रुपमा फूल फुलाउने, मलजल गर्ने, आवश्यक मर्मत संभार गर्ने लगायतका मुख्य काम एरोरुटले गर्नुपर्ने थियो ।

यसकालागि आवश्यक पर्ने लगानी तथा सञ्चालन खर्च नबिल बैङ्कले व्यहार्ने र प्रणाली जडान गर्ने ठाउँ उपलब्ध गराउने, जडान भएको प्रणालीको संरक्षण गर्ने तथा अन्तरनिकाय समन्वय गराउने काम महानगरको जिम्मामा थियो ।

श्रेष्ठकाअनुसार अब यी आइल्याण्डको मर्मत सम्भार र व्यवस्थापन महानगर आफैंले पुरानै प्रणालीबाट गर्नेछ । बिजुलीबाट चल्ने एरोपोनिक्स प्रणाली नेसनल एरोनटिक एण्ड स्पेस (नासा) ले आबिष्कार गरेको हो । यस प्रणालीमा बिरुवाका लागि आवश्यक पर्ने पानी, पौष्टिक तत्व र अक्सिजन हुस्सुको र्फममा जरासम्म पुर्‍याइन्छ ।

माटोमा हुर्कने बिरुवाले माटोमा भएको ठोस मल प्राप्त गर्छ । प्रबिधिमार्फत बिरुवाका लागि आवश्यक खाद्यबस्तु जरासम्म पुर्‍याइन्छ । यो प्रबिधिबाट फलफूल र तरकारी फलेको उदाहरण पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment