
२५ साउन, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा एक लाख ४७७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण ९०५ जनाको मृत्यु भएको हो ।
पछिल्लो ५० दिनमा ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दोब्बर भएको छ ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या पनि ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका ४९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सधैं कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै आएका छन् । त्यसैले कोरोना भाइरस नियन्त्रणको प्रयासमा उनले चालेका कदमको आलोचना हुँदै आएको छ ।
बोल्सोनारोले कोरोना भाइरसलाई एक सामान्य फ्लुको संज्ञा दिँदै आएका छन् । उनले आफूलाई संक्रमण हुँदा पनि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विन खाएर निको भएको बताउँदै आएका छन् । यद्यपि यो औषधि कोरोना भाइरसको लागि प्रभावकारी नहुने विभिन्न अध्ययनले देखाइसकेका छन् ।
स्रोत : रोयटर्स
प्रतिक्रिया 4