
२६ साउन, काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमण सुरु भएको पाँच महिनामा ११ अर्ब २९ करोड भन्दा धेरै मूल्यको औषधि र यसका कच्चा पदार्थ आयात भएको छ ।
कोभिडका कारण लकडाउन सुरु भएको चैत्र ११ देखि साउन २५ गतेसम्म ८ अर्ब ५९ करोड ६३ लाख ७१ हजार रुपैयाँ बराबरको तयारी औषधि र दुई अर्ब ६९ करोड ५२ लाख ५६ हजार रुपैयाँ बराबरको औषधिका कच्चा पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि श्रावण २५ गतेसम्म मात्रै ३७ करोड ३० लाख ४ हजारको तयारी औषधि र २४ करोड ९१ लाख एक हजारको औषधिको कच्चा पदार्थ नेपाल भित्रिएको विभागका महानिर्देशक सुमन दाहालले बताए ।
लकडाउन सुरु भएको पहिलो महिना १९ दिनमा ६९ करोड एक लाख १७ हजार, वैशाखमा एक अर्ब ९८ करोड ४८ लाख ३३ हजार, जेठमा एक अर्ब ९६ करोड ८३ लाख ५५ हजार र असारमा दुई अर्ब २५ करोड २८ लाख ८३ हजार रुपैयाँ बराबरको तयारी औषधि नेपाल भित्रिएको छ ।
यस्तै साउन २४ गतेसम्म एक अर्ब ६६ करोड २८ लाख ८० हजार रुपैयाँको औषधि नेपाल भित्रिएको छ । पाँच महिना अवधिमा कुल २ खर्ब ९५ अर्ब ५६ करोड २० लाख ३९ हजार रुपैयाँ बराबरको अत्यावश्यक वस्तु आयात हुँदा औषधिको आयातको हिस्सा पनि बढेको भन्सार विभागले जनाएको छ ।
वीरगन्ज र विराटनगर भन्सार नाका भएर धेरै मात्रामा औषधि र कच्चा पदार्थ आयात भएको विभागको भनाई छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल भान्सार कार्यालय गौचरण र तातोपानी नाका भएर औषधि आयात बढेको विभागको भनाई छ ।
प्रतिक्रिया 4