Comments Add Comment

मोरङका कोरोना संक्रमित मृतक होटल सञ्चालक

२८ साउन, विराटनगर । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका व्यक्ति होटल सञ्चालक रहेको पाइएको छ ।

बुधबार कोरोना संक्रमणका कारण बुढीगंगा गाउँपालिका – २ का ५५ वर्षका पुरुषको मृत्यु भएको थियो । बुढीगंगा गाउँपालिका– २ का वडाअध्यक्ष रेवतीनारायण चौधरीका अनुसार उनले विराट मेडिकल कलेज नजिकै उनले ‘शोभा होटल’ सञ्चालन गर्दै आएका थिए ।

उनले आइतबारसम्म होटल सञ्चालन गरेका थिए । सोमबार स्वास्थ्यमा समस्या देखिएपछि नजिकै रहेको विराट मेडिकल कलेज लगिएको थियो । तर कलेजले कोरोनाको लक्षण देखिएपछि कोशी अस्पताल पठाएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि कोशीले धरान पठाएको थियो ।

सोमबार धरान लगिएका व्यक्तिको इमर्जेन्सीमा भर्ना गरी स्वाब संकलन गरी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । आइसोलेसनका राखेर उपचार गर्ने क्रममा बुधबार बिहान १ः२० मा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

कहाँबाट सर्‍यो कोरोना ?

लकडाउनको समयमा पनि उनको होटल पूर्ण रुपमा बन्द भएको थिएन । बुढीगंगा गाउँपालिका – २ का अध्यक्ष चौधरीका अनुसार होटल श्रीमान श्रीमतीले सञ्चालन गर्दै आएका थिए । उनको कोरोना संक्रमणको स्रोत भेटिएको छैन । ‘मृतकको आफ्नै घरमा होटल सञ्चालित छ’ अध्यक्ष चौधरीले भने ‘बाहिरको ट्राभल हिस्ट्री पनि छैन ।’

होटलमा भिडभाड हुने भएकाले उनलाई ग्राहकबाट कोरोना सरेको आशंका गरिएको छ । मृतकको घरमा दुई जना चिकित्सक भाडामा बस्दै आएका छन् । भाडामा बस्ने र मृतकसँग सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको उनले बताए ।

होटलका सञ्चालकलाई कोरोना पोजेटिभ देखिएपछि मंगलबारदेखि त्यस क्षेत्र सिल गरिएको बुढीगंगा गाउँपालिका स्वास्थ्य संयोजक बासुदेव रेग्मीले बताए ।

प्रदेशमा ४८ थपिए

प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ११ पुगेको छ । बुधबार ४८ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको हो । बुधबार मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश १ बाहिरका १ जना थपिएका छन् ।

बुधबार प्रदेश १ मा आज ४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment