Comments Add Comment

पोखरामा २ बैंकका कर्मचारीमा कोरोना पुष्टि

२९ साउन, पोखरा । २ दिनअघि सिद्धार्थ बैंकको पोखरा लेकसाइड शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो । त्यो शाखा आइतबारसम्मका लागि सिल गरिएको छ ।

ती कर्मचारीको परिवारकै एक सदस्यमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भयो । परिवारका सदस्य पनि तालचोकको राष्ट्रिय वाणिज्य बैंककै कर्मचारी हुन् ।

सरकारी निर्देशिकाअनुसार पोजेटिज देखिएको ५ दिनपछिमात्र कर्मचारीको कन्ट्याक ट्रेसिङ गर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बुधबारमात्रै नवलपुरको प्रभु बैंकको शाखाका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भयो । मान्छेहरुको धेरै भीडभाड हुने बैंकका कर्मचारीलाई नै संक्रमण देखिन थालेपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बैंकमा भीडभाड नगर्न र साबधानी अपनाउन अनुरोध गरेको छ ।

‘धेरै मान्छेको भीडभाड हुने भएकाले बैंक तथा वित्तीय संस्था सम्भावित बढी जोखिमका क्षेत्र हुन् । कास्की र नवलपुरका गरी ३ जना बैंकका कर्मचारीमा कोरोना देखिएपछि थप सन्त्रास बढेको छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले भने, ‘यो बेला बैंक तथा वित्तीय संस्था र सेवाग्राहीले साबधानी नपनाए संक्रमण फैलिन सक्छ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार सूचना जारी गर्दै बैंकहरुमा हातहातै कारोबार हुने भएकाले सचेत रहन अनुरोध गरेको छ । बैंकमा मास्क नलाइ प्रवेश गर्न पाइने छैन ।

सेनिटाइजरको प्रयोग गर्न, बैंकमा प्रवेश गर्नुपूर्व इन्फ्रारेड थर्मोमिटरले सेवाग्राहीको मापन गर्न र १००.४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम आएका स्वास्थ्य संस्थामा रिफर गर्न निर्देशनालयले अनुरोध गरेको छ ।

बैंकमा पुग्ने कर्मचारी तथा सेवाग्राहीको व्यक्तिगत विवरण राख्न र संक्रमणको जोखिम नघटेसम्म विद्युतीय हाजिरी बन्द गर्न बैंकहरुलाई भनिएको छ । निरन्तर हातले छोइने स्थान, ढोकाको हेन्डल, काउन्टर, टेबुल, कुर्ची, कम्प्युटर, स्क्यानर, विद्युतीय स्वीच, नोट गन्ने मेसिनलगायत कम्तीमा दिनको ३ पटक सरसफाइको सुनिश्चित बैंकहरुले गर्नुपर्ने भएको छ ।

सेवाग्राहीलाई बैंक तथा वित्तीय संस्थामा उपलब्ध कलमको प्रयोग सकेसम्म नगर्न आग्रह गरिएको छ । कास्कीमा मात्र बैंकका कर्मचारीदेखि, प्रहरी, सरकारी कर्मचारी, प्लम्बर, होटलका कर्मचारीसम्मलाई कोरोना संक्रमण देखिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment