+
+

आरती स्ट्रिप्सका ५१ मजदुरलाई कोरोना संक्रमण, दुई जना सम्पर्कविहीन

हरि अधिकारी हरि अधिकारी
२०७७ साउन ३० गते ८:४५

३० साउन, विराटनगर ।  मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालीमा कोरोना संक्रमित कामदारको संख्या ५१ पुगेको छ । बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो ।

बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीका बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको छ । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको उनले बताए ।

संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै राखिएको छ । केही कर्मचारी होम आइसोलेसनमा छन् ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना भने फरार छन् । फरार भएका संक्रमित भारतीय नागरिक हुन् । बुढीगंगा गाउँपालिका वडा नम्बर– १ का अध्यक्ष युवराज पौडेलका अनुसार फरार भएकाहरु भारत गएको आशंका गरिएको छ ।

फरार भएका कामदार विराटनगर प्रवेशद्वार नजिकै  डेरा भाडा लिएर बस्दै आएका थिए । ‘भागेकाहरु भारत नै पुगे जस्तो लाग्छ,’ वडाअध्यक्ष पौडेलले भने, ‘स्वाब संकलन गरिएको थियो, तर रिपोर्ट आउनुअघि नै भागे छन् ।’

लुछिकिपी कामदार ल्याउँदा भित्रिएको आशंका

अध्यक्ष पौडेलका अनुसार कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको उद्योगमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिक छन् । लकडाउनमा भारतबाट उद्योगमा आउने मालबाहक गाडीसँगै कामदार ल्याएका कारण कोरोना फैलिएको उनको भनाइ छ ।

उद्योगमा बाहिरका मानिसलाई आउ–जाउ गर्न दिइँदैन । ‘लकडाउनमा उद्योग सञ्चालनमा थियो,’ उनले भने, ‘भारतबाट सामान ल्याउने मालबाहक गाडीमा कामदार आएको जानकारी पाएका छौं तर उद्योगको रेकर्डमा भने लकडाउनको समयमा भारतबाट कामदार ल्याएको उल्लेख छैन ।’

उद्योग प्रशासनका अनुसार मालबाहक गाडीमा चालक तथा सहचालकबाट संक्रमण सरेको आशंका गरिएको छ ।

उद्योगमा करिब पाँच सय कामदार कार्यरत छन् । उद्योगमा संक्रमण फैलिएपछि गाउँपालिकाले उद्योग सिल गरी वडा नम्बर १ मा सर्वसाधारणलाई हिँडडुल गर्न कडाइ गरेको छ । उद्योगका कामदार बाहिर पनि बसोबास गर्ने भएकाले कडाइ गरिएको अध्यक्ष पौडेलले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?