Comments Add Comment

भानुमा ठेकदारबाट फैलियो कोरोना संक्रमण

३० साउन, पोखरा । साउनको तेस्रो हप्ताको अन्तिममा हेटौंडाका दुई जना तनहुँको भानु नगरपालिका आइपुगे । उनीहरुले तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँका निर्माण क्षेत्रमा ठेक्का लिएका थिए ।

ठेकेदारसँगको सम्पर्कमा आएका भानु नगरपालिका वडा नम्बर १ का एक जना पुरुषमा कोरोनाको सामान्य लक्षण देखियो । संक्रमणको शंका लागेपछि उनीसहित केहीले साउन २३ गते स्वाब परीक्षणका लागि नमुना दिए । उनीहरुमध्ये २ जना पुरुषमा कोरोना संक्रमण भएको साउन २६ गते रिपोर्ट आयो ।

हेटौंडादेखि आएका निर्माण व्यवसायीसँगै उनीहरु पनि गाउँ–ठाउँ डुल्ने, सँगै खाने, बस्ने गरेका थिए । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि भानु नगरपालिका सिल गरियो र उनीहरुको कन्ट्याक ट्रेसिङ थालियो । कन्ट्याक ट्रेसिङका क्रममा १२२ जनाको स्वाब संकलन गरी पठाइयो, तर ठेकेदार सम्पर्कमै आएनन् । ‘उनीहरुको सम्पर्कमा आएका २ जनामा संक्रमण पुष्टि भएपछि उनीहरु कन्ट्याक ट्रेसिङमै आएनन्,’ नगरपालिकाका वरिष्ठ अधिकृत सुनील पाण्डेले भने, ‘अहिले पनि सम्पर्कबाहिर छन् र उनीहरुको खोजी भइरहेको छ ।’

स्वाब दिएका मध्ये ८५ जनाको रिपोर्ट आयो । जसमा २० जनामा संक्रमण पुष्टि भएको छ । अधिकांश उनीहरुकै सम्पर्कमा आएका व्यक्ति हुन् । ‘बाहिरबाट आएका ठेकेदारसँगै दुई जना स्थानीयको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरेका थियौं । उनीमध्ये २० जनामा संक्रमण पुष्टि भयो,’ भानु नगरपालिकाका जनस्वास्थ्य अधिकृत आश्चर्यचन्द्र भट्टराईले भने, ‘विभिन्न क्षेत्रका मानिसमा संक्रमण पुष्टि भएसँगै स्थानीयमा त्रास उत्पन्न भएको छ ।’

संक्रमित हुनेमा प्रहरी दुई जना, मासु पसलका तीन जना, वर्कसप व्यवसायी एक जना र बाँकी निर्माण व्यवसायका कामदार र स्थानीय छन् । उनीहरुले धेरै ठाउँमा आउ–जाउ गरेकाले कन्ट्याक ट्रेसिङमा समेत समस्या परेको छ ।

‘पछिल्लो समय संक्रमण देखिएका २० जनाको कन्ट्याक ट्रेसिङमासमेत समस्या परेको छ । नामावली तयार गरिरहेका छौं,’ जनस्वास्थ्य अधिकृत भने, ‘उनीहरु कहाँ कहाँ गएका थिए भन्ने पत्ता लगाउनसमेत गाह्रो परिरहेको छ ।’

स्वाब दिएकामध्ये ३७ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिका प्रमुख उदय गौली बताउँछन् ।

बन्दीपुर पुगे ठेकदार

भानुमा सम्पर्कबाहिर भएका ठेकेदार भने बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँ पुगेको पाईको छ । ठेकेदारको सम्पर्कमा आएका भानुका दुई जनामा कोरोना देखिएकै दिन बन्दीपुर गाउँपालिकाका–५ का एक पुरुषमा पनि संक्रमण पुष्टि भयो ।

उनी पनि ठेकदारको साथी भएको खुल्न आएको छ । ‘भानु र बन्दीपुर छिमेकी पालिका हुन् । डुम्रे बजार भानु र बन्दीपुरको साझा बजार हो । संक्रमण देखिनेहरु साथी पनि भए । त्यसैले बन्दीपुरको पृथ्वीराजमार्ग क्षेत्रका बजार बन्द गरिएको छ,’ बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापाले अनलाइनखबरसँग भने, ‘संक्रमणको जोखिम भएपछि सबलाई सचेत रहन आग्रह गरेका छौं ।’

भानु नगरपालिकाभित्र माइकिङ गरेर घरबाट ननिस्कन अनुरोध गरिएको मेयर गौलीले जानकारी दिए । ‘घरबाट ननिस्कन भनेका छौं । डुम्रे र लमजुङ क्षेत्र २ तिरबाट माइकिङ गर्दैछौं,’ उनले भने, ‘अटेर गरेर सवारी चलाए पक्राउ गर्छौं ।’

लमजुङ आउ–जाउ गर्ने अत्यावश्यक पास भएका सवारी साधनलाई भने नरोकिएको तनहुँको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment