![](https://www.onlinekhabar.com/wp-content/uploads/2020/08/skynews-coronavirus-covid-19_4970263.jpg)
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण यतिबेला विश्व त्रसित छ । यसको खोप कहिले बन्छ भन्ने विषयमा अन्यौल कायमै छ । रुसले आफूले कोरोना भाइरसको खोप बनाएको दाबी गरेको छ । तर, उसको खोपमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आशंका व्यक्त गरिसकेको छ ।
खोपको अभावका कारण विश्वमा लाखौं मानिसको मृत्यु भइसकेको छ भने यो क्रम कहिलेसम्म चल्ने हो भनेर भन्न सकिने अवस्था छैन ।
यही जोखिमका बीच कोरोनाबाट बच्ने उपायको खोजी पनि भइरहेको छ । भौतिक दुरी कायम गर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, नियमित साबुन पानीले हात धुने जस्ता उपाय अपनाइएको छ । यी सबै अल्पकालीन उपायसँगै दीर्घकालीन समाधानको समेत खोजी भइरहेको छ ।
विश्वभरका वैज्ञानिक कोरोना भाइरसविरुद्धको खोपको खोजीमा छन् । यद्यपि केही वैज्ञानिकले खोप विना पनि यसको समाधान खोज्न सकिने बताउँदै आएका छन् ।
त्यस्तै धेरैले मानिसहरु कोरोनाबाट बच्न घरभित्रै सुरक्षित बस्न सुझाव दिन्छन् भने कोहीले घरभित्र बस्नु अस्थायी समाधान भएकाले कोरोनासँग लड्नु पर्ने मत राख्छन् । दोस्रो मतमा विश्वास गर्नेको संख्या विश्वमा कम छ । तर, यो मतलाई पनि वैज्ञानिकहरुले पूरै अस्वीकार भने गर्दैनन् । कोरोना भाइरससँग लड्ने भनेको यो भाइरसविरुद्ध समुदायमा ‘हर्ड इम्युनिटी’को विकास गर्नु हो ।
‘हर्ड इम्युनिटी’ भनेको समुदायका पर्याप्त मानिसमा यो रोगको संक्रमण रोक्न सक्ने गरी प्रतिरोधी क्षमता विकास हुनु हो । यो सिद्धान्त अनुसार जब अधिकांश जनसंख्या संक्रामक रोगबाट संक्रमित हुन्छन्, त्यसपछि उनीहरुमा उक्त रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुन्छ ।
उदाहरणका लागि कुनै पनि समुदायका ८० प्रतिशत अर्थात् प्रत्येक ५ मध्ये ४ जनाले रोग प्रतिरोध क्षमता राख्छन् भने त्यो भाइरसको फैलावट त्यसपछि बन्द हुन्छ भन्ने मान्यता छ । हर्ड इम्युनिटीको लागि ७० देखि ९० प्रतिशतसम्म मानिसमा रोगविरुद्धको प्रतिरोधी क्षमता विकास भएको हुनुपर्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक एवं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हर्ड इम्युनिटी सैद्धान्तिक रूपमा प्रयोगमा भए पनि व्यावहारिक रूपमा कम प्रयोग हुने सिद्धान्त रहेको बताउँछन् । यसले संक्रमितको संख्या बढ्दै जाँदा मान्छेमा रोग प्रतिरोध क्षमता समेत बढी हुँदै जान्छ र बिस्तारै सबैमा रोग प्रतिरोधी क्षमता विकास हुन्छ भन्ने मान्यता रहेको उनी बताउँछन् । यो सिद्धान्त अनुसार अहिलेको रूघा खोकी जसरी नै सामान्य हिसाबले भाइरसलाई जित्न सकिन्छ । तर यसको लागि दुई तिहाइभन्दा धेरैमा संक्रमण भएको हुनुपर्छ भन्ने मान्यता राख्ने बताउँछन् । उनले भने ‘मेरो जानकारीमा आएसम्म यो मान्यतालाई स्विडेनबाहेक अरूले अवलम्बन गरेका छैनन् । यो मान्यताले हामीलाई लकडाउन गरेर घरभित्र बस्नेभन्दा रोगविरुद्ध लडेर सामान्य जीवनशैली अपनाउन प्रेरित गर्छ ।’
लकडाउन वा सामाजिक गतिविधिमा प्रतिबन्धको सिद्धान्त त्यतिबेलासम्म मात्र प्रभावकारी हुन्छ, जतिबेलासम्म मानिसहरूलाई घरमा नै कैद गरेर राखिन्छ । थुनिएका मानिसहरू घरबाट बाहिर निस्कनेबित्तिकै यो रोगले फेरि आक्रमण गर्छ । त्यसैले यो रोगबाट डराउनुभन्दा यसको सामना गर्नुपर्ने हर्ड इम्युनिटीमा विश्वास गर्नेहरूको मत छ । जतिधेरै मानिस संक्रमित हुन्छन्, त्यति नै धेरै मानिसमा रोगसँग लड्ने शक्ति उत्पन्न गर्छ भन्ने उनीहरुको मान्यता छ ।
यो मतका बारेमा विश्वभरका वैज्ञानिक दुई समूहमा विभाजित छन् । एउटा समूहले लकडाउन आवश्यक छ भन्छ भने अर्काे समूहले मानिसलाई बन्धनबाट स्वतन्त्र पार्न सुझाव दिन्छ ।
कोरोनाविरुद्ध लड्न जतिसक्दो यससँग भिड्नुपर्छ भन्नु आफैँमा अनौंठो कुरा हो । तर, चिकित्सा विज्ञानको सबैभन्दा पुरानो विधिले भने यसैलाई विश्वास गर्ने गरेको हर्ड इम्युनिटीका पक्षधरको मत छ । उनीहरू सामूहिक प्रतिरक्षाको अर्थ भविष्यमा धेरै मानिसहरुर्ला बचाउन जनसंख्याको केही अंशलाई संक्रमित गराउनुपर्छ भन्नेमा विश्वास गर्छन् । यसअनुसार खोपको विकास नहुँदासम्म भविष्यमा जन्मिनेको शरीरभित्र हुने संक्रमणविरूद्ध सामूहिक प्रतिरोधात्मक क्षमता सिर्जना गर्छ भन्ने मान्यता छ ।
हर्ड इम्युनिटीले शरीरमा विकास हुने भाइरसविरूद्धको एन्टिबडीले शरीरमा खोपले गर्ने काम गर्छ भन्ने मान्यता छ । किनभने एकपटक एन्टिबडी विकास भएपछि भाइरस संक्रमित हुँदैन भन्ने मान्यता छ ।
सुरुमा हर्ड इम्युनिटीको विषयमा इङ्ल्याण्डका केही वैज्ञानिकले समेत वकालत गरेका थिए । तर, स्वीडेन लगायत केही मुलुकबाहेक अरूले हर्ड इम्युनिटीलाई अवलम्बन गरेका छैनन् । स्वीडेनले अहिलेसम्म लकडाउन गरेको छैन । सो मुलुक अझै पनि हर्ड इम्युनिटीमाथि विश्वास गर्छ ।
स्वीडेन अझै पनि हर्ड इम्युनिटीले खोपको जस्तै काम गर्छ भन्ने विश्वास गर्छ । जस्तो कि दादुरा वा पोलियोको खोप हामीले एक पटक लगाएपछि फेरि कहिलै संक्रमण हुँदैन । त्यसरी नै एक पटक हर्ड इम्युनिटीको प्रतिरोधात्मक शक्ति कोरोना भाइरसविरुद्ध विकसित भएपछि कोरोना भाइरसको संक्रमण सो व्यक्तिमा हुँदैन भन्ने मान्यता राख्छ अमेरिकामा कोरोनाका कारण मृत्युदर अत्यधिक हुँदा पनि अमेरिकाले भने यो सिद्धान्त स्वीकारेको छैन । त्यस्तै भारतलगायत संक्रमणको बढ्दो क्रममा रहेका मुलुकले पनि हर्ड इम्युनिटी विश्वासको लागि योग्य नरहेको बताएका छन् ।
कोरोना भाइरसविरुद्ध विकास भएको एन्टिकडी पनि लामो समयसम्म नरहने भएकाले एकपटक संक्रमित भएका व्यक्तिहरु पनि पुनः संक्रमण हुन सक्ने पछिल्ला केही अध्ययनले देखाएका छन् । यो तथ्य साँचो साबित भए हर्ड इम्युनिटीको सिद्धान्तले काम नगर्न पनि सक्छ ।
प्रतिक्रिया 4