३० साउन, काठमाडौं । गत मंसिरमा नेपाल आयोजना भएको १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा ब्याडमिन्टन खेलाडीका लागि छुट्याइएको खेल सामाग्री अझैसम्म नपाएको भन्दै ब्याडमिन्टन खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी दिएका छन् ।
सागमा प्रतिस्पर्धा गरेका २० मध्ये १२ खेलाडीले शुक्रबार शुक्रवार १३ औं सागमा उपलब्ध खेल सामाग्री नपाएको भन्दै राखेप सदस्यसचिव रमेश सिलवाललाई सम्बोधन गर्दै उजुरी दिएका हुन् ।
राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले खेलाडीहरुको र प्रशिक्षकको निवेदन प्राप्त भएको र शुक्रबार हेर्न नभ्याएको अनलाइनखबरलाई बताए ।
निवेदनमा १३ औं सागमा ब्याडमिन्टन खेलमा सहभागी राष्ट्रिय खेलाडीहरुले राखेपबाट उपलब्ध हुने पोशाक, जुत्ता, र्याकेट तथा अन्य खेल सामग्रीहरु नपाएको तथा पाएका सामग्रीहरु पनि गुणस्तरहीन रहेको उल्लेख छ ।
खेल सामग्रीको दुई गुणा भन्दा बढी अधिकतम मूल्य राखी न्युन गुणस्तरको सामान खरिद गरी भ्रष्टाचार गरेको भन्दै छानबिनको माग पनि गरिएको छ ।
१३ औं सागमा नेपाली ब्याडमिन्टन टिमका प्रशिक्षक रहेका सुदीप योन्जनले खेलाडी र प्रशिक्षकले खेल सामाग्री नपाएको बारेमा राखेपमा निवेदन दिएको बताए ।
१३ औं सागमा नेपालि ब्याडमिन्टन टोलीमा १० महिला तथा १० पुरुष खेलाडी समावेश थिए । ब्याडमिन्टनमा नेपालले ५ कास्य पदक जितेको थियो ।
शुक्रवारै युवा तथा खेलकद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले राखेपका उपाध्यक्ष शिव कोइराला राखेप सदस्य सचिव रमेश कुमार सिलवाल राखेपका बोर्ड सदस्य लगायतलाई मन्त्रालयमा आफ्नै कार्यकक्षमा बोलाएर बैठक गरेका थिए ।
मन्त्री विश्वकर्माले राखेप र सदस्य सचिवलाई १३ औं सागमा अनियमितता भएबारे सार्वजनिक भएको विषयमा छानविन गरी कारवाही गर्न समेत निर्देशन दिएका छन् ।
ब्याडमिन्टन संघका सहमहासचिवको राजीनामा
नेपाल ब्याडमिन्टन संघका सहमहासचिव लबभक्त श्रेष्ठले शुक्रबारै राजीनामा दिएका छन् । ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले राजीनामाबारे शनिबार सचिवालय बैठक बसेर छलफल गरिने बताए ।
१३ औं सागमा ब्याडमिन्टन सामाग्री खरिदमा आर्थिक हिनामिना गरेको आरोप लबभक्तलाई लागेको थियो ।
ब्याडमिन्टन संघका सहमहासचिव रहेका लबभक्त श्रेष्ठले केही समयअघि मात्र राखेपको कर्मचारीबाट राजीनामा दिएका थिए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि दुई पदमा बस्न नपाउने प्रावधान रहेकोले लबभक्तले दुईमध्ये राखेपको कर्मचारीको जागिर त्यागेका थिए ।
आर्थिक हिनामिना भएको सार्वजनिक भएपछि लबभक्तले संघबाट पनि राजीनामा दिएका हुन् । उनले आफूले रिटायर्ड जीवन बिताउने क्रममा रहेको र उपत्यका बाहिर घर भएकाले राजीनामा दिएको बताए ।
साथै लबभक्त सचिव रहेको मोरङ जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रेसिडेन्ट कप जुनियर ब्याडमिन्टन प्रतियोगिता राखेपबाट आव २०७५-७६ मा २० लाख रुपैयाँ विनियोजन गरेको र चन्दा स्वरुप लाखौ रकम उठाई हिनामिना गरेको अनी त्यसको र लेखापरीक्षण नगरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले उक्त प्रयोगिताको सम्बन्धमा के कसो भएको हो भनी राखेपलाई पत्रसमेत पठाएको थियो ।
प्रतिक्रिया 4