Comments Add Comment

पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

३१ साउन, काठमाडौं । पश्चिम भूभागका केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विगत २४ घण्टामा पनि बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ ।

शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना नरहेको उनले बताए ।

मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो । पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने छ ।

गएराति बर्दियाका गुलरिया, रानीजरूवा, रम्बापुर लगायतका धेरैजसो स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने सम्भावना छ । त्यसैले बाढी पूर्वानुमान महाशाखाले बबई जलाधार क्षेत्र आसपासका डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन भनेको छ ।

यस्तै गोरखाको बारपाक, आरूघाट, विरेनचोक लगायत धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ । दरौदी र बुढीगण्डकी नदीहरुमा जलसतह बढ्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।

पूर्वमा कम पानी पर्ने

पश्चिमको तुलनामा प्रदेश १ र प्रदेश २ मा भने कम पानी पर्ने छ । गत २४ घण्टामा पूर्वी भागका केही स्थानमा मध्यमखालको वर्षा भए पनि अधिकांस स्थानमा हल्का वर्षा भएको छ ।

मौसमविद श्रेष्ठले भने, ‘सबैभन्दा धेरै पाँचथरको फिदिम नजिक ४७ मिलिमिटर पानी परेको छ । यसैगरी ताप्लेजुङमा २७ मिलिमिटर छ, नत्र प्रदेश नं. १ मा १० मिलिमिटरभन्दा कम नै पानी परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment