Comments Add Comment
समाज अध्ययन :

तीजकै गीत महिलाद्वेषी

तीज पर्व नजिकिँदै छ । युट्युब तीजगीतले नै भरिएका छन् । नयाँ र पुराना कलाकार म्युजिक भिडियो अपलोड गर्न तछाडमछाड गरिरहेका छन् ।

तर यो दौडको सुरूमै केही प्रश्न उठ्छन् । यस्ता गीतमा हाम्रो समाजको जीवन आएको छ त ? यी गीतले समाजमा महिलाको जीवनलाई अग्रगामी चेतना दिएका छन् त ? तीजको संस्कार धान्ने नाउँमा यी गीतले पछाडि फर्काइरहेका त छैनन् ?

तीजगीत, तीज पर्वका अवसरमा महिलालाई केन्द्रमा राखेर मूलतः महिलाद्वारा गाइने गीत हो । यस्ता गीतमा महिलाका इच्छा–आकांक्षा र अनुभव अभिव्यक्त हुन्छन् । लोक परम्परामा बाँचेका यी गीत पहाडी क्षेत्रका नारीहरूको सामाजिक इतिहासका दस्तावेज पनि हुन् ।

यी गीतमा बालविवाह, अनमेल विवाह र बहुविवाहले महिलाको जीवनमा ल्याएका समस्या, घरपरिवारबाट भोगेका थिचोमिचो र त्यसबाट सिर्जित दर्दहरूको वर्णन हुन्छ । प्रचलित तीजगीत परम्परामा जकडिएका महिलाको मुक्तिका निम्ति बाहिरको संसार चियाउने एउटा मौसमी आँखीझ्याल पनि हो ।

२०७७ सालमा युट्युबमार्फत सार्वजनिक भएका तीजगीतमा बेसार प्रकरणदेखि सलहसम्म र वाइडबडीदेखि रूकुमको जातीय नरसंहारसम्म समेटिएका छन् । यो आलेखमा यी गीतमा अभिव्यक्त चेतना र महिलाप्रतिको दृष्टिकोण पर्गेल्ने प्रयत्न गरिएको छ ।

यी तीजगीतमा प्रस्तुत चिन्तन मूलतः तीन प्रकारको देखिन्छ ।

यथास्थितिवादी र प्रतिगामी चिन्तनका तीजगीत

यस वर्षका अधिकांश तीजगीतमा महिलालाई चेतनाहीन, खान–लाउनमात्र ध्यान दिने, उत्ताउला, पति र सासूससुरामाथि उत्पीडन गर्ने दुच्छर चरित्रका रूपमा चित्रण भएको छ । स्वर, संगीत र नृत्य प्रस्तुतिका दृष्टिले अब्बल खुमन अधिकारी र स्मृति तिमिल्सिनाको ‘झोला लुकाउँछन्’ बोलको गीतमा अभिव्यक्त चिन्तन कति पछौटे खालको छ, हेरौं–

छिट्टै लिन आऊ न बाबु भन्छ्यौ दिदी तिम्ले

क्यारम त नि मइले

जुत्ता लुकाउँछिन् बरै तिम्री ब्वारी मेरी उनैले

आजभोलि काली भयौ भन्छौ बाबु तिम्ले

क्यारम त नि मैले

पाउडर लुकाउँछन् बरै तिम्रा भेना मेरा उनैले

यस गीतमा भाइले दिदीलाई लिन जाँदा आफ्ना जुत्ता, पेटी, मोबाइल लुकाइदिएको भन्ने प्रसङ्ग वर्णन गरेर आफ्नी पत्नीलाई विवेकहीन ठहराएको छ । यता दिदीले माइत जाने बेलामा आफ्नो झोला, पाउडर, हार, सारी, पैसा लुकाइदिने आफ्नो पतिको आलोचना गर्ने क्रममा महिलाको शृङ्गारका प्रसाधनमा मात्र मोह हुन्छ भन्ने पुरूषको कथनलाई बल पुर्याएकी छन् ।

गीतको भिडियोमा त झन् पतिले क्रिम, पाउडर दिनेबित्तिकै खुसीले फुरुङ्ग परेको देखाइएको छ । पितृसत्ताले महिलाप्रति गर्ने कुरूप राजनीतिको यो एउटा प्रतिनिधि उदाहरण हो ।

बुहारीलाई घरको निर्णायक र छोरालाई निरीह देखाएर महिलाद्वेषी पुरूष कूटनीतिको हदैसम्मको निकृष्टता प्रदर्शन गरिएका गीत वास्तवमै प्रतिबन्ध लगाउन लायक छन्

कुमारी चेपाङको ‘कसम बरिलै’ गीतमा आफैंले केटो रोजेर बिहे गरेकी छोरीले तीजमा माइती आउन नपाउनुको कारण खुलाएर मागी बिहेप्रतिको समर्थनको सङ्केत गरेकी छ :

गलामा सिक्री छैन मेरो दाजै के भन्लिन् आमाले

कसम बरिलै के भन्लिन् आमाले

आफूखुसी रोजेको घर हुनी रै’छ आफैंलाई कहर

आफूखुसी रोजेको घर हुनी रै’छ माइतीलाई कहर

आफैंले जीवनसाथी रोजेर बिहे गर्नु पुँजीवादी समाजको अभिलक्षण हो भने अभिभावकले खोजिदिएको व्यक्तिसित हुने विवाहचाहिँ परम्परावादी समाजको प्रचलन हो । पुँजीवादी युगकी यस गीतकी नायिकाले गरेको यस्तो पछुतोबाट यहाँ पुँजीवादभन्दा सामन्तवाद नै ठीक भन्ने प्रतिगामी चिन्तन प्रकट भएको हो ।

सन्तोष केसीको ‘घरझगडा’ बोलको गीतको महिलाद्वेषी चिन्तनचाहिँ यस्तो छ :

तेरो चोँचो राम्रो भए मलाई किन हेर्थे र

तैँले सुख देको भए मलाई ल्याउँथे र

मुखाले छौ दुईटी नै कोभन्दा को कम

छिमेकीले था पाउँछन् क्या धेरै नकराम्

अरूका त सौता पनि दिदी बहिनीझैँ बस्दछन्

भेट्नै हुन्न यी दुइटी त त्यसै झम्टन्छन्

यो गीतले कानुनद्वारा बर्जित बहुविवाह गर्ने लोग्नेलाई सज्जन, संयमित देखाउँदै लोग्नेको नजरमा नराम्री र सुख दिन नसक्ने स्वास्नी भए दोस्री बिहे गर्न जायज हुन्छ भन्ने पुरूषसत्ताको कुरूप भाष्य स्थापित गर्न खोजेको छ ।

केसीकै ‘बाबुआमा र सासूबुहारी’ गीतमा पनि बुहारीको दुच्छर चरित्रका कारण सासूससुरा घर छोड्न बाध्य भएको परिस्थितिको वर्णनद्वारा पतिको घरमा आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत बिनाकी बुहारीलाई सर्वशक्तिमान देखाउने दुस्प्रयास भएको छ ।

बुहारीलाई घरको निर्णायक र छोरालाई निरीह देखाएर महिलाद्वेषी पुरूष कूटनीतिको हदैसम्मको निकृष्टता प्रदर्शन गरिएका यी गीत वास्तवमै प्रतिबन्ध लगाउन लायक छन् ।

खुमन अधिकारी र शर्मिला गुरूङको ‘पापिनी बुहारी’ले पनि यही प्रवृत्तिलाई पछ्याएको छ । ढाकाराम पौडेल र प्रीति आलेको ‘छोटा लुगा चाइनी’ गीतमा महिलाका पहिरनप्रतिको पुरूषको नकारात्मक सोच प्रस्तुत भएको छ भने खुमन अधिकारीकै कमेडी तीजगीत ‘काँचो कटर’मा अंग्रेजी नबुझ्ने पत्नीको मजाक उडाइएको छ ।

यसरी सचेत वा असचेत जुनै रूपमा पुरूष चरित्रको उद्दात्तीकरण र महिलालाई लघुकरण गरिएका यी तीजगीतको प्रमुख उद्देश्य महिलालाई दिग्भ्रमित बनाउँदै प्रतिगामी पितृसत्ताको सेवा र महिलामुक्तिलाई निषेध गराउनु रहेको प्रस्ट हुन्छ ।

पंक्तिकारले अध्ययन गरेको युट्युबका ६६ तिजगीतमध्ये २१ वटा (३२ प्रतिशत) यो प्रवृत्तिका छन् ।

मनोरञ्जनपरक तीजगीत

केही तीजगीतमा वर्तमान अवस्थाप्रति सन्तुष्ट, हाँसखेलमा बढी रमाउने, माइतीको आसमा बस्ने, पुरूषसरह निर्णायक तहमा पुग्नेभन्दा उनीहरूले चाहेकै जस्तो मनोरञ्जनको तरिका अपनाउने महिलाका तस्विर प्रस्तुत भएका छन् ।

यस्ता गीतले केही कदम अगाडि बढिसकेका महिलाको चेतनामा भावुकता भरेर पछाडि फर्काउने सम्भावना हुन्छ । यसको उदाहणमा लोकगायिका कोमल वलीलाई लिन सकिन्छ । केही वर्षअघिको तीजमा ‘पोइल जान पाम्’ बोलको गीत गाएर जीवनसाथी चयनमा महिला स्वतन्त्रताका पक्षमा आवाज उठाएकी उनी अहिले आएर मनोरञ्जनपरक गीततर्फ ‘ब्याक’ भएकी छन् ।

महिलामाथिका हरेक किसिमका उत्पीडनविरूद्ध सदनमा आवाज उठाउनुपर्ने कम्युनिस्ट पार्टीकी यी सांसद महिलामाथिको सांस्कृतिक उत्पीडनको प्रतिरोध गरिएको सोफिया थापाको गीतको ठाडो आलोचनामा उत्रिएकी छन् । वलीका ‘आमाको चिनो’, ‘पाउजुको तालैमा’, ‘यसपाली त नाच्नी हो सानु’ बोलका गीतहरूमध्ये पहिलोमा परदेशिएकी चेलीका माध्यमबाट राष्ट्रियताको सानो झिल्को प्रस्तुत गरिएको छ । बाँकीलाई चाहिँ संगीत र गायनको राम्रो संयोजन रहेका सस्ता मनोरञ्जनात्मक गीत मात्र भन्न सकिन्छ ।

यस्ता तटस्थ गीतमध्ये विष्णु माझीका ‘अरेली काँढैले’, ‘नदिया सलल’ र ‘मार्यो दैया’को शब्द, स्वर र संगीतमा स्थानीयपनसहितको लोक कथ्य र लय प्रयोग भएको छ । लक्ष्मी न्यौपानेका ‘मै माग्थेँ बालापन’, ‘निको हुन्छ चट्टै’ र ‘आजकालका ज्वाइँराजा’ पनि मनोरञ्जनात्मक स्तरकै गीत हुन् ।

राजनीतिक–सामाजिक असंगतिप्रति आलोचनात्मक चेत भएबाट लोकप्रिय बनेका पशुपति शर्माका ‘मुन्छे झिल्के झिल्के’ र ‘निदाइन तीन दिन’ तीजगीतको नाम दिइएका सस्ता दोहोरी हुन् भने ‘चट्ट लोकल कुखुरा’ काम नगर्ने पत्नीप्रतिको भद्दा व्यंग्यमा केन्द्रित छ ।

कोरोना कहरका कारण लिन जानु नपरेकामा भित्रभित्रै खुसी भएर बहिनीसँग चिप्ला कुरा गर्ने दाजु र दाजुको दोहोरो चरित्र नबुझेर संवेदनशील बन्ने बहिनीको संवादमा आधारित ‘लोभी दाइ’ गीतमा पनि पशुपति शर्मा जम्न सकेका छैनन् ।

‘मलाई अमेरिका एइ…’ र ‘लुट कान्छा लुट…’ बोलका गीतबाट नागरिक जिम्मेवारीप्रति सचेत लोककलाकारको छवि बनाएका उनी पनि सोफिया थापाको गीत प्रकरणबाट पितृसत्तात्मक चिन्तन र महिला मुक्तिप्रतिको असहिष्णुता छताछुल्ल पार्दै कोमल वली जसरी नै ‘ब्याक’ भएका देखिन्छन् ।

प्रीति आले र ज्योति मगरको ‘गिलास ठोक्काउनी’ गीत केटाहरूको जस्तो जाँड पार्टी गरेर मनोरञ्जन गर्ने भद्दा तरिका अपनाउने महिलाहरूको चित्रणमा केन्द्रित छ । खेम सेन्चुरी र रक्षा श्रेष्ठको ‘यो केटो पल्क्यो बरिलै’मा पनि सस्तो मनोरञ्जनात्मक चिन्तन पाइन्छ । यसरी आफ्नो विद्यमान अवस्थाप्रति कुनै गुनासो र असन्तुष्टि नभएका महिला पात्रको चित्रण गरिएका तटस्थ मनोरञ्जनात्मक गीत ४३.८ प्रतिशत छन् ।

आलोचनात्मक र चेतनामूलक तीजगीत

तीजगीतमा आफूमाथिका विभेद, उत्पीडन र हिंसाको बोध एवं प्रतिरोध गर्ने महिला पात्रको चित्रण पनि हुन थालेको छ । त्यस्तै, जातीय र लैंगिक विभेद एवं सरकारको गैरजिम्मेवारपनको वर्णन गर्ने क्रममा आलोचनात्मक र चेतनामूलक प्रवृत्ति देखा परेको छ । यसको उदाहरणमा विष्णु परियार र राजन पोखरेलको ‘सुनसुन मन्त्रीज्यू’लाई लिन सकिन्छ ।

सुनसुन राष्ट्रपति, सुनसुन प्रधानमन्त्री

चाहिँदैन पानीजहान चाहिँदैन हाम्लाई रेल

सुखैले बाँच्न पाइयोस् दुई दिन बाँचुन्जेल

हत्याहिंसा धेरै भए धेरै भए बलात्कार

अझैँ कति नदेखे झैँ गर्दछौ ए सरकार

आम नागरिकको चाहना बोकेको यस गीतमा आएको ‘सुखैले बाँच्न पाइयोस्’ ले भयरहित र सम्मानित जीवन जिउन चाहने आकांक्षालाई प्रतिबिम्बित गरेको छ ।

शब्द, संगीत र भिडियो संयोजनका दृष्टिले ‘युनिक’ गीतहरू बनाउने प्रकाश सपुत र देवी घर्तीको ‘बदला बरिलै’ गीतले महिला हिंसाको आलोचना गर्दै प्रतिरोधी चिन्तन प्रबल बनाउने उद्देश्य राखेको छ :

खुलेन कहिल्यै न्यायको ढोका, बरिलै गरिबको चाबीले

खेलौनाजस्तै देख्दो रै’छ हामीलाई, बरिलै समाजको दृष्टिले…

आम नारीको भावना प्रतिबिम्बित यस गीतले बलात्कारपछि हत्या गरिएका महिलाका प्रेतको समूहले बलात्कारीलाई मारेर बदला लिएको सन्दर्भका कारण दर्शक–स्रोतालाई ‘पोइटिक जस्टिस’बाट प्राप्त हुने विशिष्ट आनन्द दिलाउँछ ।

वाइड बडी नि पच्यो यहाँ तेत्तिस किलो पचाइयोगत वर्ष ‘हामी पनि नाच्नु पर्छ बिच्च बिच्च’मा बोलको तीजगीतबाट लोकप्रियता कमाएका दुर्गेश थापाको यस वर्षको ‘बिच्च बिच्चमा २ र ३’ दुवै आलोचनात्मक छन् । ‘बिच्च बिच्चमा ३’ का केही अंश हेरौं–

भित्रभित्रै अपराधीलाई किन बचाइयो ?

बेसार, भ्रष्टाचारको दबाई के छ र ?

क्वारेन्टिनमा पिपासुले बलात्कार गरेछन्

कोरोनाले मर्नुभन्दा पहिल्यै मरेछन्

बेसार, बलात्कारको दबाई के छ र ?

रूकुमतिर प्रेम मर्यो किन मर्यो था होला

सामन्तको युद्ध लड्ने कामरेड काँ होला ?

बेसार, जातिवादको दबाई के छ र ?

यो गीतको भिडियोका कारण सामाजिक सञ्जालमा आलोचित भइरहेका दुर्गेश यस वर्षको तीजगीतमा सरकारको गैरजिम्मेवारीपनप्रति नागरिक असन्तुष्टि र चिन्ता प्रस्तुतिका दृष्टिले उत्कृष्ट ठहर्छन् । महिलामाथिको सांस्कृतिक उत्पीडनको प्रतिरोधका दृष्टिले चाहिँ सोफिया थापाको गीत अगाडि देखिन्छ :

अबको तीज नो ब्रत नो प्लिज नो नो नो खुट्टाको पानी

महिला पुरूष दुवै नै बराबरी

हातैमा हात साथैमा साथ

नाचौँ न छमछमी सबैलाई खुसी बाँडेर नै

मनाऔँ तीज यसपाली

यहाँ, महिलालाई आफू सम्पूर्णतः निर्भर रहेको पतिको आयुसँग जोडेर हेरिएको छ । कठोर व्रतसँगै खुट्टाको पानीसमेत खानुपर्ने बाध्यात्मक व्यवस्था लागु गर्ने सामन्तवादी समाजको कुरा छ । र, पुँजीवादी समाजका महिलाहरू धार्मिक रूढिबाट मुक्त हुनुपर्ने सन्देश प्रवाहित भएको छ ।

यो पनि पढ्नुहोस अबको तीज ‘एस’ व्रत प्लिज

धार्मिक मान्यताको विपरीत गएको भनेर सामाजिक सञ्जालमा आलोचित भई युट्युबमा प्रतिबन्धितसमेत भएको यो गीत नयाँ पुस्ताका महिलाको आवश्यकता र चेतनाको वास्तविकता प्रकट गर्न सक्षम छ । तीज मनाउने सन्दर्भमा अबका श्रमजीवी महिलाले अवलम्बन गर्नुपर्ने मार्ग यस गीतले सुझाएको छ ।

अर्का लोकप्रिय गायक बद्री पंगेनीका ‘सेनिटाइजर घसेर’ र ‘घरबेटी’मा महिलाप्रति हेयको दृष्टिकोण भए पनि अरू चेतनामूलक छन् । उनले पहिलो गीतमा पत्नीहरू भनेको नमान्ने र जिद्दी हुन्छन् भन्ने किसिमको सार व्यक्त गरेका छन् । दोस्रोमा चाहिँ युवतीहरू कोठाभाडा बचाउनकै लागि पनि घरबेटीसँग लहसिन्छन् भन्नेजस्तो निकृष्ट चिन्तन प्रस्तुत गरेर आफ्नो महिलाद्वेषी चरित्र देखाएका छन् ।

तीजका गीतमा व्याप्त यस्तो दुर्गतिको प्रतिरोध जनपक्षीय कलाकारहरुबाट हुनुपर्ने हो, तर वास्तविकता ठिक उल्टो देखिएको छ

प्रगतिशील गायक हरिदेवी कोइरालाको ‘कस्ता दिन गए बरिलै’ बोलको तीजगाथामा बिहे हुनुुपूर्वका आफ्ना उन्मुक्त दिनचर्याको संस्मरणात्मक वर्णनद्वारा महिलामुक्तिको आकांक्षाको संकेत भए पनि आलोचनात्मक दृष्टिकोणको परिपूर्णता भने छैन ।

त्यस्तै, लक्ष्मी न्यौपानेको ‘जान्नँ म त नाइँ’ गीतमा वर्गीय समाजका साथीसंगीहरूको सम्बन्धलाई द्वन्द्वात्मक रूपले हेरिएको छ । बबिता बानियाँ जेरीका ‘छोरी, आमा बन्दैछु’, सञ्जीविनीको ‘बिचरीको तीजगीत’, खेम सापकोटा र मञ्जु गुरूङको ‘नक्कले पोइ’, आयुषा गौतमको ‘विधुवा’ लगायत २४.३ प्रतिशत तीजगीत आलोचनात्मक र चेतनामूलक प्रकृतिका छन् ।

तीजका गीतहरुमा स्वतः महिलाका पारिवारिक, सामाजिक र सांस्कृतिक अवस्थिति केन्द्रमा रहन्छ । २०७७ सालका तीजका गीतमा महिला नै केन्द्रमा त छन्, तर तिनमा उन्मुक्तिको स्वर भने साह्रै मधुरो छ । बरू घुमाउरो पारामा महिला नै उत्पीडक हुन्, सुखसुविधा, मनोरञ्जन सबै उनीहरूले नै पाएका छन् भन्ने सन्देश छ । महिलामाथि उत्पीडन पनि महिलाले नै गरेका हुन् भन्ने भाव अधिक मुखर सुनिन्छ ।

अध्ययन गरिएका ६६ मध्ये महिलाको चरित्रलाई निकृष्ट देखाउने (यथास्थितिवादी, प्रतिगामी) र महिला संचेतनालाई शून्य बनाउने तटस्थ मनोरञ्जनात्मक तीजगीत ७५.८ प्रतिशत छन् ।

यसका तुलनामा महिलालाई दोस्रो दर्जाको ठान्ने पितृसत्तात्मक हिन्दु सामाजिक संरचना र सांस्कृतिक प्रचलनको प्रतिरोध गरी उनीहरूमा अस्तित्वबोध गराउन खोजिएका, जातीय विभेद, सरकारी भ्रष्टाचारलगायतका कृत्यको आलोचना गरिएका गीतको संख्या केवल २४.२ प्रतिशत छ । यसले हाम्रो समाजमा महिलाविरोधी चिन्तन झन् प्रबल बन्दै गएको प्रस्ट पार्छ ।

तीजका गीतमा व्याप्त यस्तो दुर्गतिको प्रतिरोध जनपक्षीय कलाकारहरुबाट हुनुपर्ने हो, तर वास्तविकता ठिक उल्टो देखिएको छ । कलाको क्षेत्र निश्चित जात, धर्म, क्षेत्र, लिंग र विचारधाराका श्रोताहरूमा मात्र सीमित हुँदैन भन्ने तथ्य बुझेर पनि बुझ पचाउँदै ‘तीज हाम्रो पर्व होइन’ भनेर ५० प्रतिशत (एक प्रतिशत कुनै प्रभाव नपर्ने पनि होलान्) महिलाको चेतनाको विकाससँग जोडिएको सवाल हाम्रो होइन भन्न सुहाउँछ र प्रगतिशीलहरूलाई ?

प्रगतिशील खेमाबाट यसको विरोध नहुनु भनेको सस्ता गीतले बोकेको चिन्तनप्रति मौन सहमती जनाउनु हो । बरु, मार्क्सवादी दार्शनिक प्रतिबद्धता नअँगालेका युवा पुस्ताका केहिले प्रगतिशीलहरूको लाज ढाकिदिएका छन् ।

यस्ता विकृतिको प्रतिकार गर्न प्रत्येक कम्युनिस्ट पार्टीमा जनसांस्कृतिक संघ छन् । तर, सबभन्दा ठुलो कम्युनिस्ट पार्टीसम्बद्ध कलाकारहरूलाई प्रधानमन्त्रीका गीत रेकर्ड गर्दैमा र नेताहरूका ढोका ढुक्दैमा फुर्सद छैन । अरू घटकका कलाकारको समय सत्तारूढ पार्टीको गाईजात्रा हेर्दैमा बितेको अवस्था छ ।

आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाको सवालमा चुप बस्ने पार्टीहरूले कस्तो संस्कृति निर्माण गर्लान् ? महिलामुक्ति बिनाको वर्गीयमुक्ति र परिकल्पित समाजवादको हालत कस्तो होला ? यसबारे सोच्ने फुर्सद कसलाई, कहिले हुने हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment