Comments Add Comment

धोनी र रैनाले सन्यास घोषणा गर्दा आँशु, अंकमाल र पार्टी

१ भदौ काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे । भारतले ७३ औं स्वतन्त्रा दिवस मनाइरहँदा शनिबार  साँझ यी दुई खेलाडीले भने सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

अहिले कोभिड-१९ को महामारीको त्रास रहेका बेला कुनै पनि खेल नखेली दुवैले सन्यास लिँदा धेरै आश्चर्यमा पनि परे । दुवै जनाले सामाजिक सञ्जाल इन्स्टाग्रममार्फत सन्यासको घोषणा गरेका थिए ।

सुरुमा धोनीले घोषणा गरे र त्यसपछि रैनाले पनि धोनीलाई पछ्याउँदै सन्यास लिए ।

सेप्टम्बर युएईमा सुरु हुने १३ औं संस्करणको आईपीएलको तयारीका लागि यी दुवै खेलाडी टिमसंगै चेन्नईमा छन् । त्यहीँबाट उनीहरुले सन्यास घोषणा गरेका हुन् ।

त्यसबेला त्यहाँको माहोल र दुवैजनाले एकै दिन सन्यास घोषणा गर्नुको भित्री कथा रैनाले खुलाएका छन् ।

चेन्नईमा दुवैले सन्यास घोषणा गरेपछि टिमको क्याम्पमा आँशु, अंकमाल, पार्टी सबै भएको रैनाले बताएका छन् । दैनिक जागरणसंग कुरा गर्दै रैनाले यो कुनै आश्चर्य नभएको पनि टिप्पणी गरे ।

‘मलाई थाहा थियो चेन्नई पुगेपछि धोनीले सन्यास लिन्छन् र म पनि तयार थिएँ,’ रैनाले भने, ‘म, पियुस चावला, दीपक चाहर र कर्ण शर्मा अगष्ट १४ मा चार्टर्ड प्लेनबाट राँची पुग्यौँ त्यहाँबाट हामीले माही भाई र सोनु सिंहलाई पिकअप गर्‍यौँ ।’

उनले अगाडि भनेका छन्, ‘सन्यास घोषणापछि हामीले अंकमाल गर्‍यौं र धेरै रोयौं । म पियुष, अम्बाती रायडू, केदार जाधव र कर्ण शर्मासँग बसेर हामीले हाम्रो करियर र सम्बन्धको बारेमा कुरा गर्‍यौं । हामी त्यस रात पार्टी गर्‍यौँ ।’

धोनीको सन्यास घोषणाले सबैलाई आश्चर्यमा पारेपनि रैनाको भनाईअनुसार यो पूर्वयोजना अनुसार नै थियो । ‘हामीले अगष्ट १५ मा सन्यास लिने विचार गरिसकेका थियौँ  रैनाले भनेका छन् ।

रैनाले स्वतन्त्रता दिवसको दिनमै सन्यास घोषणा गर्नुको कारण समेत बताए । ‘हामीले सन्यास लिने निर्णय गरिसकेका थियौं । धोनीको जर्सी नम्बर ७ र मेरो ३, जोड्दा ७३ हुन्थ्यो । र, अगस्ट १५ मा भारत स्वतन्त्र भएको ७३ वर्ष पूरा हुँदै थियो । त्यसैले यो भन्दा उपयुक्त अवसर अर्को थिएन’ रैनाले भने ।

धोनीले २३ डिसेम्बर २००४ मा चित्तगोङमा बांगलादेश विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गरेका थिए । रैनाले भने ३० जुलाई २००५ मा श्रीलंका विरुद्ध डेब्यु गरे । ‘हामी दुवैले करिब उही समयमा अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्‍यौं । चेन्नाई सुपर किंग्ससंग पनि संगै छौं । त्यसैले हामीले संगै सन्यास लियौं र संगै आईपीएल निरन्तर खेल्नेछौं’ रैनाले भने ।

धोनीलाई भारतको अहिलेसम्मकै उत्कृष्ट कप्तान र विकेटकिपरको रुपमा लिइन्छ । क्याप्टेन कुलको उपनाम पाएका धोनीले आफ्नो कप्तानीमा भारतलाई २०० को टी-२० विश्वकप र २०११ को ओडीआई विश्वकप जिताए । यस्तै उनकै कप्तानीमा भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफी जितेको थियो । यो तीनवटै मुख्य उपाधि जिताउने उनी पहिलो र एकमात्र कप्तानसमेत हुन् ।

तर ३९ वर्षीय धोनीले सन् २०१९ मा इंग्ल्याण्डमा भएको ओडीआई विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका छन् । जसमा १७ हजार भन्दा बढी रन बनाएका छन् ।

धोनीले भारतका लागि ३५० ओडीआई, ९० टेस्ट र ९८ टी-२० क्रिकेट खेलेका छन् ।

यस्तै उत्कृष्ट फिल्डरको रुपमा परिचित ३३ वर्षीय रैनाले भारतका लागि १९ टेस्ट, २२६ ओडीआई र ७८ टी-२० खेलेका छन् । रैना भारतका लागि तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment