Comments Add Comment

गण्डकीमा धमाधम निषेधाज्ञा र लकडाउन

गण्डकी प्रदेश संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक । तस्वीर : युनिस गुरुङ

१ भदौ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ ले तीजमा कसैलाई घरमा बोलाउन र आफू पनि नजान अनुरोध गरेको छ ।

धम्पुसका एक जनामा कोरोना संक्रमण देखिएपछि वडाध्यक्ष समबहादुर गुरुङले सूचना जारी गर्दै भनेका छन्, ‘तीजमा आफ्नो चेलीबेटी, दिदीबहिनी कसैलाई पनि माइतीघर निमन्त्रणा नगर्न र आफ्नो घरबाट पनि अन्यत्र कतै नपठाउन विशेष अनुरोध गरिन्छ ।’

कास्कीकै रुपा गाउँपालिकाले पनि तीजमा नबोलाउन, नजान र कुनै पनि दर खाने,–खुवाउने काम पनि नगर्न अनुरोध गर्दै लकडाउनकै मोडल अपनाएको छ ।

भदौ २ गतेदेखि लागु हुने गरी ७ दिनका लागि गाउँपालिकाको अत्यावश्यक कामबाहेक सेवा बन्द गरेको छ भने निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ ले पनि सार्वजनिक सूचना जारी गर्दै बाबुको मुख हेर्न र तीजमा आउजाउ नगर्न सूचना नै जारी गरेको छ ।

एकातिर कोरोना संक्रमण बढेको छ भने अर्कातिर बाबुको मुख हेर्ने दिन, तीज लगायतका चाडपर्व आएका छन् । चाडपर्वमा मानिसहरु भेला हुँदा कोरोना संक्रमण सर्ने खतरा भएकाले प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञा सुरु भएको छ ।

गण्डकी प्रदेशमा सोमबार थपिएका ४ जनासहित संक्रमितको संख्या १ हजार ७३९ जना पुगेको छ । त्यसमध्ये १८९ जना आइसोलेसनमा छन् । ५ जनाको ज्यान गएको छ । बाँकी १ हजार ५५० जना निको भएर घर फर्केका छन् ।

पोखरा महानगरपालिकामा संक्रमित बढेपछि सर्बदलीय बैठकमा निषेधाज्ञा जारी गर्ने सुझाव दिएको थियो । पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना पुष्टि भएको थियो । अघिल्लो दिन पनि पोखरामा १२ संक्रमित फेला परेका थिए । पोखरामा अहिलेसम्म संक्रमितको संख्या २ सय ५ पुगेको छ, उनीहरुमध्ये १४ जना संक्रमितको संक्रमण स्रोत पत्ता लाग्न सकेको छैन ।

पोखरा महानगरपालिकाको कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठकले एक हप्ता निषेधाज्ञा जारी गर्न प्रदेशमा सिफारिस गरेको थियो । सोमबार साँझ बसेको प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालय र स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा गर्न दिने निर्णय गरेको छ ।

‘भोलि राति (मंगलबार) १२ बजेदेखि ७ गतेसम्म अत्यावश्यकबाहेक यातायातदेखि होटल, रेस्टुरेन्ट र भीडभाड हुने सबै कुरा बन्द गर्ने र त्यसको अधिकार स्थानीय सरकारलाई दिने निर्णय भएको छ,’ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सदस्य तथा अर्थमन्त्री किरण गुरुङले भने, ‘त्यसको घोषणा भोलिमात्र हुने छ ।’

स्याङ्जा र गोरखामा निषेधाज्ञा

लकडाउन खुला भएसँगै स्याङ्जामा कोरोना संक्रमण बढेको छ । ट्राभल हिस्ट्री नभएका, कन्ट्याक्ट ट्रेसिङमा नपरेका व्यक्तिमा संक्रमण देखिएपछि १३ साउनबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा ४ गतेसम्म राति १२ बजेसम्म रहने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

‘लकडाउन खुलेसँगै संक्रमण बढ्यो । विशेष गरी पुतलीबजारमा कोराना संक्रमित धेरै भेटिए । ठूलो संख्यामा प्रहरीलाई नै संक्रमण देखियो,’ क्षेत्रीले भने, ‘चाडवाड नजिकिएसँगै चहलपहल अझै बढ्ने देखिँदा जोखिम बढिरहेको छ ।’

सोमबारमात्रै पनि स्याङ्जाको वालिङमा ९ वर्षीया बालिका र २७ वर्षीय एक पुरुषमा संक्रमण देखिएको छ । स्याङ्जामा ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये अहिले २५ जना आइसोलेसनमा रहेको सीडीओ क्षेत्रीले जानकारी दिए ।

यसैगरी गोरखामा पनि कोरोना संक्रमणको जोखिम बढेसँगै हप्ता दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै १ गते बिहान ६ बजेदेखि सात गर्ते राति १२ बजेसम्मका लागि निशेधा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोरखाका सीडीओ तीर्थराज भट्टराईले जानकारी दिए ।

‘एकातिर संक्रमण समुदायतर्फ बढिरहेको छ भने अर्कोतर्फ चाडवाडको नाममा मान्छेहरुले भीडभाड गर्न थाले । त्यसैले निषेधाज्ञा जारी गर्नैप¥यो,’ भट्टराईले भने, ‘यो बेला भनेको जोखिम नियन्त्रण गर्न जुटेर होइन, फुटेर सहयोग गरौं भन्ने हो ।’

गोरखामा अहिलेसम्म १ सय १७ जनामा संक्रमण देखिएको छ भने १ सय १२ जना निको भइसकेका छन् । मृत्यु हुने एक जना व्यक्ति कोरोना संक्रमित थिए ।

लमजुङमा १ सय १२ जनामा संक्रमण देखिएकोमा १ सय ११ जना निको भएर फर्केका छन् । अहिले एक जना आइसोलेसनमा छन् । तर सुन्दरबजार नगरपालिकाको वडा नम्बर ५ देखि ९ मा निषेधाज्ञा छ ।

सम्भावित जोखिम कम गर्न राइनास नगरपालिकाले सबै सेवा बन्द गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

राइनासमा सवारी आवागमन समेत बन्द गरिएको छ भने मुख्य नाकामा पनि कडाई गरिएको शर्माले बताए ।

तनहुँमा निषेधाज्ञा र प्रहरी परिचालन

तनहुँको भानु नगरपालिकामा पछिल्लो पटक समुदायकै २४ जनामा कोरोना संक्रमण पुष्टि भयो, त्यसमध्ये पनि वडा नम्बर १ का मात्र २२ जना छन् ।

तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ का प्रहरी दम्पतिसहित एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । आँबुखैरेनी र बन्दीपुर गाउँपालिमा पनि ट्राभल हिस्ट्री नभएकाहरुमा संक्रमण देखियो । समुदायमा संक्रमण पुगेको अभास हुन थालेपछि केही गाउँपालिकामा निषेधाज्ञा जारी गर्दै प्रहरी परिचालन गरेका छन् ।

तनहुँमा यतिबेला ३२ जना आइसोलेसनमा छन् र तीमध्ये अधिकांश समुदायस्तरका व्यक्ति भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । तनहुँको भानु र ब्यास नगरपालिकामा यतिबेला निषेधाज्ञा नै जारी गरिएको छ भने देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा लकडाउनसँगै प्रहरी परिचालन गरिएको छ ।

‘भानुमा २७ गतेदेखि नै निषेधाज्ञा जारी गरिएको छ भने ब्यासमा सोमबारदेखि निषेधाज्ञा जारी भएको छ,’ सीडीओ आचार्यले भने, ‘देवघाट–५ मा प्रहरी परिचालन भएको छ । आँबुखैरेनी र बन्दीपुरले कडाइ गरेका छन् ।’

नवलपुरमा बैंक बन्द, बौंदीकाली सिल

गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय एक पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भयो । समुदायस्तरमा संक्रमणको जोखिम बढ्दै गएको भन्दै गाउँपालिकाले भदौ १ गतेदेखि १५ गतेसम्म कार्यालय र अन्तर्गतका सबै सेवा पूर्ण रुपमा बन्द गरेको छ । गाउँपालिकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गराउन सूचना जारी गर्दै अटेर गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

नवलपुर जिल्लामा अहिले १४ जना आइसोलेसनमा छन् । बैंकर, पत्रकार र स्थानीयमा कोरोना संक्रमण देखिएपछि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

‘कावासोतीमा एक जना बैंकर र पत्रकारलाई पनि संक्रमण देखियो । दुम्किवासमा २ जना व्यापारीलाई संक्रमण पुष्टि भयो । योसँगै संक्रमण समुदायमा पुगेको भन्दै सन्त्रास फैलियो,’ सीडीओ घिमिरेले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट दिइने सेवा ६ गतेसम्म बन्द गरेका छौं ।’

उनका अनुसार मध्यविन्दु र कावासोती नगरपालिकाले सूचना जारी गर्दै कडाइ गरेका छन् ।

बागलुङको बडिगाडमा लकडाउन, पर्वत, म्याग्दीमा कडाइ

बागलुङमा २ दिनअघि २ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभर त्रास फैलियो । काठमाडौं, पोखरा र भरतपुर लगायतका ठाउँ पुगेर फर्केका जिल्ला समन्वय समितिका र निरन्तर क्वारेन्टिनको ब्यवस्थापनमा खटिएका बडिगाड गाउँपालिकाका जनप्रतिनिधिमा संक्रमण पुष्टि भएको थियो ।

केही दिनअघि मात्र उच्च पदस्थ राजनीतिकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

जनप्रतिनिधिलाई नै संक्रमण देखिएपछि साउन ३१ गतेबाट सवारी साधन जोरबिजोर लागू गरिएको छ । बडिगाड गाउँपालिकामा लकडाउन गरिएको र अन्य ठाउँमा विशेष कडाइ गरिएको सीडीओ सुरेश न्यौपानेले जानकारी दिए ।

बागलुङमा अहिलेसम्म २६७ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये सय ४५ जना निको भइसकेका छन् । एक जनाको मृत्यु भएको छ भने २१ जना आइसोलेसनमा छन् ।

पर्वत र म्याग्दीमा पनि कडाई गरिएको छ । पर्वतमा अनुगमन समितिले मापदण्ड पालना गराउने र साबधानी अपनाउने अभियान चलाइरहेको र अहिले मास्क नलगाइ हिँड्नेलाई जरिवाना गराइएको पर्वतका सीडीओ शम्भुप्रसाद रेग्मीले जानकारी दिए । पर्वतमा अहिले ७ जना आइसोलेसनमा छन् । १ सय ७ जनामा संक्रमण देखिएकोमा ९८ जना निको भएर घर फर्किएका छन् ।

म्याग्दीमा चाडवाड नजिकिएसँगै सन्त्रास पनि बढेकाले निगरानी गर्ने र निषेधाज्ञासमेत लगाउने कि भन्ने विषयमा छलफल गर्न लागिएको प्रजिअ उमाकान्त अधिकारीले बताए ।

‘मंगलबार सर्वपक्षीय बैठक बस्दैछौं । आवागमनलाई नियन्त्रित गरेका छौं,’ अधिकारीले भने, ‘हिँडडुल र आउजाउले रोक्ने भनेका छौं ।’ म्याग्दीमा ४८ जनामा संक्रमण देखिएकोमा सबै निको भएर फर्केका छन् । १७ जनाको नतिजा आउन भने बाँकी रहेको सिडिओ अधिकारीले जानकारी दिए ।

हिमाली मनाङ र मुस्ताङमा अहिले कारोना संक्रमित छैनन् । मनाङ र मुस्ताङमा एक÷एक जनालाई संक्रमण देखिएकोमा निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment