Comments Add Comment

चितवनमा ४२ सशस्त्र प्रहरी र ३ नर्ससहित ५० जनामा कोरोना पुष्टि

२ भदौ, चितवन । चितवनमा ४२ सशस्त्र प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनमा नै बस्दै आएका ४६ जना र विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पूर्वी चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरी गणका ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनीका संक्रमितहरु १९ देखि ५५ वर्ष उमेर समूहका छन् ।

कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए । संक्रमित सशस्त्र प्रहरीमध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । उनका अनुसार एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको छ ।

यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् ।

यस्तै, भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० का ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमुना संकलन गरिएको थियो । भरतपुर सेन्ट्रल हस्पिटलका तीन जना नर्ससहित पाँच जना संक्रमित छन् । दुई जना सफाइ गर्ने सहयोगी हुन् ।

यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमुना लिइएको थियो ।

सोमबार परीक्षण गरिएका ३५५ नमुनामध्ये ३०५ वटा नमुनाको नेगेटिभ रिपोर्ट आएको छ ।

चितवनमा ४६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५५ पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जुन अस्पतालमा संक्रमित छन् उनीहरुलाई सोही अस्पतालमा राख्न निर्देशन दिएको छ । भरतपुर अस्पतालमा संक्रमितले शय्या भरिएका कारण थप संक्रमित राख्न सक्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment