Comments Add Comment

कविता : बा

जिन्दगी जस्तै बाङ्गो लौरो टेकेर
बा कता हिंड्यौ ?

जवानीमा
काँधमा हलो–जुवा बोकेर धर्ती चिथ्र्यौ
अहिले आफैं चिरिएजस्तो देख्छु
सर्पजस्ता नाम्ला–डोरी बोकेर वन चहाथ्र्यौ
अहिले तिनैले डसेजस्तो देख्छु

उहिले
तिनै खोला/जङ्घार साथी थिए तिम्रा
तिनै भीर/पहरा सङ्गी थिए तिम्रा
आज तिमीले तिनैमा मृत्युको छाँया देखिरहेछौ
त्यो झुल्के घाममा पनि जीवनको अस्त देखिरहेछौ

तन्नेरी बेला
तिम्रो टोपीमा हिमाल झरेर उभिन्थ्यो
छाती पहरो बनेर गर्जिन्थ्यो
हातमा हिम्मत मुस्कुराउँथ्यो
गोडामा काँडाहरु फूल बनेर चुम्थे

बैंसको बेला गुराँस पूल्ने त्यो अनुहारमा
अहिले किन बादल मडारिंदैछ ?
पहाड सिङ्गै बोकेर हिंड्ने त्यो टाउकोमा
अहिले किन आकाश खस्दैछ ?

सायद,
मनमा ग¥हुङ्गो भारी छ तिम्रो
गहमा गहिरो वेदना छ तिम्रो

उहिले झुपडीमा
भरिभराउ सन्तानसँग दुःख बाँडेथ्यौ
हुर्काएथ्यौ, बढाएथ्यौ, उभिन सक्ने बनाएथ्यौ
खाली पेटमा पनि टन्न भरिएको अभिनय गरेथ्यौ

केही थिएन र पनि
सर्वस्व थियो तिमीसित
दुःखै–दुःखको भारी बोकेर पनि
सुखको सागर थियो तिमीसित

खोइ
अहिले के छ तिम्रो साथमा ?

छोराछोरीका गोडा नलागुञ्जेल तिमीसित थिए
ती आज छैनन्

केही गरेजस्तो छ तिनले
शहरमा भव्य बङ्गला
महङ्गा गाडी
मूल्यवान् वस्त्र–आभूषण
अरु त्यस्तै विलासी चिजवस्तुहरु
मानौं, स्वर्ग यतै झरेको छ
तर, आस नगर
तिमी त्यहाँ अटाउँदैनौ

भाव बिहीन हुँदैछन् तिनीहरु
ढुङ्गा हँुदैछन् तिनीहरु
इतिहास कुल्चिँदै छन् तिनीहरु

तिमीसँग गथासाहरु छन्, कसले सुन्दिने ?
पीरका पोकाहरु छन्, कसले फुकाइदिने ?

सुनिदिने उही थी– जीवन सँगिनी
ऊ पनि पोहोर साल अस्पतालको मुख नदेखी गई
आँतले मागेको खान खोजिथी– पाइन
ज्यानले मागेको लाउन खोजिथी– पाइन

यस्तै हो,
दुनिया स्वार्थी बन्दै गइरहेछ
आप्नाहरु पराइ बन्दै गइरहेछन्

अब यत्ति हो
साथमा एउटा प्राण पखेरु छ
त्यो पनि कुन बेला भुर्र उड्ने हो
कसरी जाने हो ?
कहाँ बिसाउने हो ?

(आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन । सन्तानका निम्ति जीवनभर हैरानी खेपेर बुढेसकालमा एक्लै बाँच्न विवश सम्पूर्ण बाहरुप्रति समर्पित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment